पुरुष घरको बुर्जुवा हो भने पत्नी सर्वहारा हुन्। एङ्गेल्सका अनुसार पशुपालन र खेतीपातीको शुरूआत भएको समय (बर्बर युग) मा नै 'पितृसत्ता'को समेत उदय भएको हो।
एक भारतीय टेलिभिजन च्यानलले देखाउने 'सत्यमेव जयते' नामको रियलिटी सोमा कमला भासिनले आमिर खानलाई सोध्छिन्, "पितृसत्ताको उल्टो के हो?"
खानको जवाफ हुन्छ, "मातृसत्ता।"
भासिन भन्छिन्, "पितृसत्ताको उल्टो मातृसत्ता हुन सक्दैन। किनकि पितृसत्ता गलत छ र त्यसो भनेपछि मातृसत्ता पनि गलत हुन्छ। त्यसैले पितृसत्ताको उल्टो हुन्छ बराबरी।"
टेलिभिजनबाटै यसरी पहिलो पटक मैले महिलावादबारे थाहा पाएँ। भासिनको त्यस कथनले मेरो दिमागमा गहिरो छाप छोड्यो। पितृसत्ताको उल्टो बराबरी हो भन्ने कुरालाई आसपासका असमानताका उदाहरणहरूसँग जोडेर हेर्न थालेँ।
विश्वविख्यात पुस्तक 'द सेकेन्ड सेक्स'को प्रारम्भमा पाइथागोरसको एउटा भनाइ उल्लेख छ, जसको अनुवाद यस्तो हुन्छ, "एउटा असल सिद्धान्त छ, जसले सुव्यवस्था, उज्यालो र पुरुषको सिर्जना गरेको छ। अर्को दुष्ट सिद्धान्त छ जसले अराजकता, अन्धकार र आइमाईको सिर्जना गर्यो।"
यस भनाइबाट पाइथागोरसको स्त्रीद्वेष प्रष्ट हुन्छ।
पितृसत्ता के हो?
पितृसत्ता शब्दसँग आपत्ति जनाउनेको भिड कम छैन। यसको एउटा कारण हो, नेपाली समाजले 'पितृ' शब्द 'मृतक आत्मा'का लागि प्रयोग गर्छ र सोही कारणले पित्तृसत्ताबारेको बुझाइमा प्रमुख रूपमा भ्रम सिर्जना गरेको हो भन्ने लाग्छ। यद्यपि, पित्तृसत्ताको शोषणका कुरा बुझ्नेहरूले समेत 'महिला-पुरुषको बराबरी'लाई व्यावहारिक रूपमा भने स्विकार्छन् भन्ने लाग्दैन।
नेपाली बृहत् शब्दकोशमा 'पितृसत्ता'सँग सम्बन्धी दुई वटा शब्द छन्- पितृसत्ता र पितृतन्त्र। पितृतन्त्रको अर्थ यसरी लगाइएको छ, "बाबु वा घरको बुढोपाको व्यक्तिका अनुशासनमा परिवार वा जातिका सदस्यहरूले बस्नुपर्ने मानव समाजको पुरानो शासनव्यवस्था; थकालीतन्त्र (हाम्रो तराई र भित्री मधेशमा बस्ने थारुहरूमा यस्तो चलन अझै कताकतै पाइन्छ), पितृसत्ता।"
पितृसत्ताको अर्थ भने यसरी लगाइएको छ, "'बाबु परिवारको स्वामी मानिने र बाबुका अनुशासनमा परिवारको सदस्यले बस्नुपर्ने सामाजिक व्यवस्था; परिवारका सदस्यमाथि बाबुको स्वामित्व हुने व्यवस्था ; बाबुको सत्ता; बाबुको नामबाट वंश परम्परा चल्ने व्यवस्था।"
पितृसत्ताको यो अर्थ आफैँमा पूर्ण छैन, तर यति मात्रै जाने पनि पितृसत्ता पितृमाथिको अपमान हो भनेर उफ्रिनुपर्दैन। पितृसत्तासँगको लडाइँको सम्बन्ध कहीँ कतै 'दिवंगत आत्मा'हरूविरूद्ध छैन। यो बराबरीको लडाइँ हो। लिंगकै आधारमा युगौँदेखि महिलामाथि भएको शोषणविरुद्धको समता अभियान हो।
'पितृसत्ता क्या है?' पुस्तकमा कमला भासिन लेख्छिन्, 'पितृसत्ताको शाब्दिक अर्थ हुन्छ पिता वा कुलपतिको सत्ता वा शासन, जसमा महिलालाई तल्लो दर्जामा राखिएको हुन्छ।' हामी पितृसत्तालाई कसरी चिन्न सक्छौँ भन्ने सन्दर्भमा भसिनले सो किताबमा केही उदाहरण पेश गरेकी छन्:
१) छोराको महत्त्व (म जन्मँदा मेरो परिवार खुसी थिएन रे, किनकि उनीहरू छोरा जन्मियोस् भन्ने चाहन्थे।)
२) भोजनमा केटीहरूको साथ हुने भेदभाव (उदाहरण: तिमी खाना नमाग/तिमी छोरी हौ, त्यसैले अन्त्यमा आमा र हजुरआमाहरूसँगै खाना खानुपर्छ।)
३) महिला र बच्चीहरूमा घरेलु कामको बोझ
४) महिला शिक्षामा प्रतिबन्ध
५) म साथीहरूसँग खेल्न घरबाहिर जान सक्दिनँ
६) केटीको लागि घर आउने-जाने कुरामा कम छुट ( उदाहरण: यति बजेसम्म घर आइपुग्नु।)
७) पत्नीलाई पिट्नु (उदाहरण: मेरो बुवाले आमालाई पिट्नुहुन्छ।)
८) महिला वा बालिकाहरूमाथि पुरुष सदस्यहरूको नियन्त्रण (उदाहरण: साँझ परिसक्यो, तरकारी किन्न जाँदा भाइलाई लिएर जा, तँ कुनै केटासँग नबोल्।)
९) कार्यस्थलमा हुने यौन उत्पीडन
१०) म मेरो परिवारको वंश धान्न सक्दिनँ वा मलाई बुवाको सम्पत्तिमाथि कुनै हक छैन
११) महिलाको शरीर र उसको यौनिकतामा पुरुष नियन्त्रण ( मेरो श्रीमानले चाहेको बेला म यौन सम्पर्कका लागि तयार हुनुपर्छ।)
१२) प्रजनन क्षमतामा पुरुष नियन्त्रण र प्रजनन अधिकारको अभाव ( उदाहरण: म चाहन्छु मेरो श्रीमानले 'सुरक्षाका साधन' प्रयोग गरोस्, तर उसले त्यो गर्दैन। मलाई पनि कुनै पनि परिवार नियोजनको साधन प्रयोगमा रोक लगाएको छ।)
भसिनले व्याख्या गर्न नभ्याएको पित्तृसत्ता अहिले हाबी हुँदैछ, त्यो हो 'डिजिटल मिसोजिनी' (स्त्रीद्वेष)। इन्टरनेटका माध्यमबाट महिलामाथि गरिने दुर्व्यवहार, हिंसा र तिनलाई प्रयोग गरिने अश्लील शब्द तथा महिलाबारे फैलाइने भ्रम आदि पर्छन्। समाजमा पहिलेदेखि रहेको स्त्रीद्वेषको विस्तार हो डिजिटल स्त्रीद्वेष।
डिजिटल स्त्रीद्वेषको पछिल्लो उदाहरण पल शाह र सन्दीप लामिछानेको नाबालिग बलात्कारसम्बन्धी प्रकरणमा सामाजिक सञ्जालभर पीडितमाथि गरिएको नानाथरी आरोप-प्रत्यारोपलाई लिन सकिन्छ।
स्विडेनले 'यौन च्याम्पियनसिप' गर्न लागेको भन्दै आएको भ्रमपूर्ण समाचारमा 'मदन राईलाई पठाइदिऊँ' भन्दै गरिएका कमेन्ट र पोस्ट पनि डिजिटल स्त्रीद्वेषकै उदाहरण हुन्। राईद्वारा पीडित किशोरीहरूमाथिको भद्दा मजाक हो। डिजिटल स्त्रीद्वेष पितृसत्ताको नयाँ 'भेरियन्ट' हो।
अमेरिकन नारीवादी लेखक केट मिलेटका लागि पितृसत्ता महिलामाथिको अधीनता हो, जुन समाजव्यापी रूपमा रहन्छ। पितृसत्तालाई 'शक्ति'सँग जोडेर हेर्छिन् उनी। शक्ति सम्पन्न पुरुष र शक्तिहीन महिला। यस्तो शक्ति भने भौतिकमा नभै 'सामाजिक मूल्यमान्यता र यसको स्वीकारोक्तिमा' निहित रहने गर्छ।
उनी अलिकति फरक सोच राख्दै भन्छिन्, "पितृसत्तालाई एउटा संस्था मान्ने हो भने यसलाई दुई तरिकाले हेर्नुपर्छ। एक, पुरुषद्वारा महिलामाथि शासन/अधीनता र दुई, घरका ठूलाबडा पुरुषको अधीनमा घरका साना पुरुष रहनुपर्ने बाध्यता। यसर्थ पितृसत्तालाई हामी एउटा सिक्काको रूपमा लिन सक्छौँ, जसको एक पाटोमा महिला छन् र अर्को पाटोमा पुरुष।"
पितृसत्तालाई एउटा 'संस्था' को रूपमा लिइसकेपछि यसको 'कर्मचारीतन्त्र'को बारे पनि बुझ्नुपर्ने हुन्छ। पितृ सत्ताका प्रमुख 'एजेन्ट' महिलाहरू हुन्। पितृसत्ताले चलाखीपूर्ण तरिकाले महिलाको विरुद्ध महिलालाई नै उभ्याइदिन्छ, पितृसत्ताको मूल्यमान्यताको रक्षार्थ सिपाहीका रूपमा महिला नै उभिन्छन्। उदाहरणका रूपमा महिनावारी बार्ने अन्धविश्वासपूर्ण परम्परालाई हेरौँ।
हामीलाई महिनावारी बार्नुपर्छ भनेर आमा र हजुरआमाहरूले नै सिकाए। मैले कुनै 'गल्ती' गर्दा बाभन्दा पहिले आमाको गाली खान्छु। आमाको भने डर बेग्लै हुन्छ, "यो कुरा तेरा बाले थाहा पाए के होला?"
सन्तानलाई गाली गर्ने निशर्त अधिकार पनि आमामाथि नहुने रहेछ। यसलाई सतही रूपमा नबुझिएला, गहिरिएर हेर्दा बुझिन्छ। सन्तानमाथि आमाको अधिकार कति छ भन्ने कुरा त हाम्रो 'पितृसत्तात्मक राज्य संरचनाले' बेलाबेला छर्लंग पारिरहेको हुन्छ।
समग्रमा भन्नुपर्दा पितृसत्ता एउटा सामाजिक व्यवस्था हो, जसमा महिलाहरू पुरुषभन्दा कमजोर मानिन्छन्, घरको/समाजको/राज्यको हर्ताकर्ता पुरुष हुन्छन् र महिलाहरू पुरुषको अधीनमा पुरुषले तोकेका अधिकार र कर्तव्य बिना हिचकिचाहट र बिना सङ्कोच निशर्त पूरा गरिरहन्छन्। पितृसत्तामा महिलाहरू उपेक्षित र दोस्रो दर्जाको रूपमा रहन्छन्।
कुनै पनि महिला जन्मिँदैनन्, उनीहरूलाई महिला बनाइन्छ। यो भनाइ सिमोन द बोउवारको हो।
पितृसत्ताको उदय कसरी भयो?
पितृसत्ताको उदयलाई 'महिला/स्त्रीलिंगीको ठूलो ऐतिहासिक पराजय' भन्ने फ्रेडरिक एङ्गेल्सका अनुसार पितृसत्ताको उदय र महिलामाथिको दमन 'निजी सम्पत्ति'को उदय र विभिन्न प्रविधिको विकाससँगै भयो। तामा र फलामजस्ता खनिजहरूको प्राप्ति, व्यवस्थित पशुपालन र हलो आदि उपकरणको निर्माणपछि मानिसहरू व्यवस्थित रूपमा बस्न थाले, पशुलगायत दास र पत्नीसमेत पुरुषका सम्पत्ति मानिन थाले।
एङ्गेल्स भन्छन्, "मातृसत्ताको पतन नारी जातिको विश्व-ऐतिहासिक स्तरको पराजय थियो। पतिले घरमा शासनको बागडोर आफ्नो हातमा लियो। पत्नी अधिकारच्युत, दासी र पतिको वासना पूर्ति गर्ने साधन बनिन्। सन्तान उत्पन्न गर्ने सामान्य यन्त्रमा परिणत भइन्। यसरी पुरुष घरको बुर्जुवा हो भने, पत्नी सर्वहारा हुन्। एङ्गेल्सका अनुसार पशुपालन र खेतीपातीको सुरुवात भएको समय (बर्बर युग) मा नै 'पितृसत्ता' को समेत उदय भएको हो।
गेर्डा लर्नर आफ्नो पुस्तक 'द क्रिएसन अफ प्याट्रिअर्की'मा पितृसत्ताको उदयका लागि ईशापूर्व ३१०० देखि ६०० सम्मको अवधिका विभिन्न घटनाक्रमहरू कारक रहेको बताउँछिन्। महिलाको बच्चा जन्माउने जैविक क्षमता र हुर्काउने कर्तव्यका कारण नै प्रमुख रूपमा महिलाहरूको 'इन्फेरियर पोजिसन'को कारक रहेको लर्नर बताउँछिन्।
उनका अनुसार, महिलाहरूको यौनिक र प्रजनन शक्तिमा पुरुषद्वारा कब्जा र महिलालाई वस्तुको रूपमा लिएपछि नै व्यक्तिगत सम्पत्तिको अवधारणा विकास भएको हो। आफ्नै समूहका महिलालाई दबाउन र तल्लो दर्जामा राख्न सफल भएपछि पुरुषहरू अन्य समूहलाई दबाउन लागि परे। यसरी दास युगको आरम्भ भयो। उनको यही कुरा मान्दा हामी मान्न सक्छौं कि इतिहासमा सबैभन्दा पहिले दास 'महिला' नै भएका थिए।
महिलाहरूको यौनिकतामा कब्जा गर्नु पितृसत्ताको उदयको कारक हो। महिलाहरूको 'भूमिका' निर्धारण गर्दै कानूनहरू बन्न थालेपछि घर, समाज र राज्यमा पुरुषहरू हाबी रहन थाले। जुन यौनिकता र प्रजनन क्षमताका कारण 'देवीहरू' पुजिन्थे, सांस्कृतिक र धार्मिक सिद्धान्तहरू अझै विकसित र परिष्कृत हुँदै जाँदा ती कुरा हराउँदै गएर महिलाको कामुकता र प्रजनन क्षमता नै 'पाप कर्म'को रूपमा हेर्न थालियो। महिलाहरू आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सबै क्षेत्रमा पछाडि पारिए। यसरी समाजमा 'लिङ्गका आधारमा कार्य विभाजन' हुन थाल्यो, जसले पितृसत्तात्मक संरचनाको जन्म दियो।
पितृसत्तासँगको लामो सम्झौतापछि महिलाहरू भर्खरै पितृसत्तामाथि प्रहार गर्न थालेका छन्। यद्यपि, महिला अझै पनि निःशुल्क दासीका रूपमा घर गृहस्थीको काम सम्हालिरहेका छन्। कार्यालय र घरको कामको दोब्बर मारमा आधुनिक र पढेलेखेका महिला नै परिरहेका छन्। संस्कार निभाउने नाममा महिलाहरूले नै पितृसत्ताको भरपर्दो एजेन्ट बनेर सयौँ वर्षदेखि चलिआएको पितृसत्तात्मक मूल्यमान्यतालाई जीवित राखिरहेका छन्। महिलाको यौनिकता र प्रजनन क्षमतामाथि पुरुष सत्ता नाचिरहेको छ।
पितृसत्तालाई जरैदेखि उखेलेर फ्याल्न र समानतामा आधारित समाज निर्माण गर्न पहिले महिला आफैँ सुसूचित हुनु जरुरी छ। महिलाको शरीरमाथि महिलाकै अधिकार स्थापित गरेर समान कानून निर्माण गर्दै हामी 'बराबरीको समाज' निर्माणमा अगाडि बढ्न सक्छौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
