प्रधानमन्त्रीविरुद्ध पूर्वबालसेनाको रिट सर्वोच्चमा दर्ता, जेठ ३० गते पेसी

सशस्त्र द्वन्द्वकालमा आफूलाई युद्धमा प्रयोग गरेको तर अहिले व्यवस्थापन नगरेको भन्दै पूर्वबालसेना लेनिन विष्टले पेस गरेको रिट आइतबार दर्ता भएको छ।

काठमाडौँ– माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतलाई कारबाही गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

सशस्त्र द्वन्द्वकालमा आफूलाई युद्धमा प्रयोग गरेको तर अहिले व्यवस्थापन नगरेको भन्दै पूर्वबालसेना लेनिन विष्टले पेस गरेको रिट आइतबार दर्ता भएको हो। उक्त रिटको पेसी जेठ ३० गतेका लागि तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ। 

युद्धमा समावेश गर्न नहुने भन्ने जान्दाजान्दै बालबालिकालाई प्रयोग गरी अपराध गरेको भन्दै विष्टले प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री भट्टराईलगायत विपक्षीलाई कानूनको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा जेठ १२ गते रिट निवेदन पेस गरेका थिए।

सो रिट निवेदनमाथि सर्वोच्चका रजिस्ट्रारले जेठ १६ गते दरपीठको आदेश दिएका थिए। सर्वोच्च प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरेपछि इजलासमा पेस गरिएको थियो।

शुक्रबार सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो।