कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

उक्त जिप शनिबार सुर्खेतबाट यात्रु लिएर कालिकोट गएको थियो। यात्रुलाई गन्तव्यमा पुर्‍याएर गाडीधनीको घरमा जाँदै गर्दा राति दुर्घटना भएको हो। 

काठमाडौँ– कालिकोटको शुभकालिका गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

वडा नं ८ मा यात्रु पुर्‍याएर वडा नं ६ तर्फ फर्किँदै गरेको जिप शनिबार राति १२ बजेतिर दुर्घटनामा परेको गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले जानकारी दिइन्।

दुर्घटनामा चालक शुभकालिका– २ का ३० वर्षीय हर्के कामी, वडा नं ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको शाहीले बताइन्।

जिप सडकबाट करिब १५० मिटर तल खसेको छ। उपाध्यक्ष शाहीका अनुसार उक्त जिप शनिबार सुर्खेतबाट यात्रु लिएर कालिकोट गएको थियो।

यात्रुलाई गन्तव्यमा पुर्‍याएर गानीधनीको घरमा जाँदै गर्दा दुर्घटना भएको हो।