नेपालका हिमालीदेखि तराईका विभिन्न स्थानमा उच्च तापक्रम मापन भइरहेको छ। आगामी सोमबारदेखि पूर्वीतराईको तापक्रम केही घट्ने सम्भावना भए पनि मध्य र पश्चिम तराईमा अझै एक हप्ता गर्मी हुनेछ।
काठमाडौँ– नवलपुरको दुम्कौलीमा शुक्रबार ४४ डिग्री सेल्सियस तापक्रम मापन गरियो। जल तथा मौसम विज्ञान विभागका अनुसार नवलपुरमा अहिलेसम्म मापन गरिएको यो सबैभन्दा बढी तापक्रम हो। जेठ २१, २३ र २४ गते त्यहाँको तापक्रम ४३.८ डिग्री पुगेको थियो। यसअघि, २०३६ जेठ २२ गते ४३.७ डिग्री मापन गरिएको थियो।
गएको जेठ २३ गते ओखलढुंगामा ३१.३ डिग्री सेल्सियस तापक्रम मापन गरियो। विभागका अनुसार समुद्र सतहदेखि एक हजार ७३१ मिटरको उचाइको ओखलढुंगामा मापन गरिएको यो अहिलेसम्मकै उच्च तापक्रम हो। अघिल्लो दिन जेठ २२ गते पनि ३१.१ डिग्री मापन गरिएको थियो। त्यसअघि, २०५६ वैशाख १५ गते ओखलढुंगामा सर्वाधिक ३०.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।
पूर्वको पहाडी जिल्ला इलामको कन्याम र पहाड तथा तराईको संगम सुनसरीको धरानमा पनि उच्च तापक्रम मापन गरिएको छ। कन्याममा जेठ २२ गते ३० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। यसअघि ५० वर्षअघि त्यहाँको तापक्रम २९ डिग्री पुगेको थियो। धरानमा जेठ २३ गते ३९ डिग्री सेल्सियस तापक्रम पुगेको छ।
हिमाली जिल्ला मनाङको हुम्देमा जेठ २५ गते १९.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागकी सिनियर मेटेरियोलोजिस्ट डा. इन्दिरा कँडेलले जानकारी दिइन्। “तराईमा मात्र नभई पहाडी र हिमाली क्षेत्रमा पनि अस्वाभाविक रूपमा तापक्रम वृद्धि भएको स्वचालित केन्द्रहरूले देखाइरहेका छन्। हामीसँग ती स्थानको पुरानो तथ्यांक नभएकाले पहिला अधिकतम कति डिग्री पुगेको थियो भन्न सकिने अवस्था छैन।”
उनका अनुसार दोलखा, दार्चुला, काठमाडौँको ककनीजस्ता उच्च पहाडी क्षेत्रमा स्थापना गरिएका मौसम मापन केन्द्रले तापक्रमको उच्च वृद्धि भएको संकेत दिइरहेका छन्। जल तथा मौसम विज्ञान विभागले स्थापना गरेका देशभरका ८३ वटा मापन केन्द्रमध्ये २२ वटामा शुक्रबार ४० डिग्रीभन्दा माथिको तापक्रम मापन गरिएको छ। विराटनगर, वीरगन्ज, जनकपुर, नेपालगन्ज, बुटवल, भैरहवालगायत तराईका अधिकांश ठाउँमा दिउँसोको तापक्रम ४० डिग्रीभन्दा माथि छ। नेपालमा अहिलेसम्म सबैभन्दा धेरै तापक्रम २०५२ असार २ गते कैलालीको धनगढीमा ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो।
तराईमा उखरमाउलो गर्मीका कारण स्थानीय तहहरूले विद्यालय बन्द गराएका छन्। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी सोमबारदेखि पूर्वीतराईको तापक्रम केही घट्ने सम्भावना छ। तर, मध्य र पश्चिम तराईमा भने अझै एक हप्ता गर्मी रहने छ।
सामान्यतः नेपालमा जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यो वर्ष जल तथा मौसम विज्ञान विभागले मिति उल्लेख गरेको छैन। “आउँदो मंगलबार बुधबारसम्म पूर्वी नेपालबाट मनसुन प्रवेश गर्ने सम्भावना छ। हामीले त्यसबारे केही बोलेका छैनौँ,” पौडेल भन्छन्, “कुन रूपमा मौसम प्रवेश हुन्छ, अहिल्यै भन्न सकिन्न। कमजोर मनसुनको प्रवेश भयो भने हावा मात्रै लाग्ने र जुन महिना पूरै सुख्खा हुन पनि सक्छ।”
किन बढिरहेको छ तापक्रम?
विभागकी सिनियर मेटेरियोलोजिस्ट डा. कँडेलका अनुसार अन्य मौसमभन्दा यो मौसममा तापक्रम बढी नै हुन्छ। यति बेला लामो समयसम्म वर्षा नहुँदा पनि तापक्रम वृद्धि हुने र गर्मीको महसुस हुने उनको भनाइ छ। यद्यपि, वर्षा नहुनुमा विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न मौसमी कारणहरू पनि रहको कँडेल बताउँछिन्।
विश्व मौसम संगठनले आगामी पाँच वर्षमा विश्वव्यापी तापक्रम वृद्धिले नयाँ रेकर्ड कायम गर्ने यसअघि नै जनाएको छ। गएको जेठ ३ गते संगठनले एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२७ सम्म कम्तीमा कुनै एक वर्षको तापक्रम उही मौसममा पूर्वावस्थाको तुलनामा १.५ डिग्रीभन्दा बढ्ने सम्भावना ६६ प्रतिशत रहेको जनाएको थियो। विश्वव्यापी रूपमा तापक्रमले नयाँ कीर्तिमान कायम गर्दै जानु र गर्मी बढ्नुमा समुद्र र त्यहाँ विकसित एलिनोको प्रभाव हो।
सिनियर मेटेरियोलोजिस्ट डा. कँडेलका अनुसार पूर्वी प्रशान्त महासागरको भूमध्यरेखा आसपास सरदरभन्दा बढी तापक्रमको अवस्थालाई एलिनो भनिन्छ। त्यसले हावाको गति तथा दिशालाई असर गर्छ। जसका कारण पानी पर्ने ठाउँमा सुक्खा हुने र सुक्खा हुने ठाउँमा पानी पर्ने जस्ता घटना बढ्न जान्छन्।
“एलिनोले हावाको दिशा र बहावलाई नै परिवर्तन गरिदिन्छ,” उनी भन्छिन्, “यद्यपि, एलिनोले मात्र वर्षालाई नियन्त्रण गर्दैन। हिन्द महासगरको सामुद्रिक तापक्रममा पनि भर पर्छ। यस वर्ष एलिनोले कम वर्षा हुन्छ भनिएको छ।”
एलिनोको प्रभाव समुद्रको तापक्रम वृद्धिको अवस्था हो भने, लालिना भनेको समुद्रको तापक्रम कमको अवस्था हो। विश्व मौसम संगठनका अनुसार पछिल्ला तीन वर्षमा लालिनाको प्रभाव थियो। त्यसको प्रभाव सन् २०२३ मार्चमा समाप्त भएको संगठनको भनाइ छ। अब एलिनोको प्रभाव विस्तार हुने र त्यसले गर्मी बढ्ने विश्व मौसम संगठनले जनाएको छ।
विश्वका धेरै ठाउँमा बढ्दैछ तापक्रम
लामो समय पानी नपरेर उच्च तापक्रम मापन हुने र उखरमाउलो गर्मी महसुस हुने घटना अहिले नेपालमा मात्र होइन। दक्षिण एशियाका भारत, बंगलादेशका साथै पूर्वी एशियाका थाइल्यान्ड, भियतनाम, चीन, म्यानमार, लाओसमा डेढ महिनाअघि अप्रिलमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको थियो।
बेलायती पत्रिका दी गार्डियनका अनुसार अत्यधिक गर्मीका कारण थाइल्यान्डमा सन् २०२२ अप्रिलमा भन्दा यस वर्ष अप्रिलमा ऊर्जाको माग ७ हजार मेगावाट प्रतिदिन बढी थियो। सन् २०२२ अप्रिल ६ मा दैनिक ऊर्जा खपत ३२ हजार मेगावाट रहेकोमा यस वर्ष अप्रिल अन्तिम हप्ता ऊर्जा खपत ३९ हजार मेगावाट पुग्यो।
पछिल्ला आठ वर्षमा सन् २०२२ लाई सबैभन्दा तातो वर्षको रूपमा गणना गरिएको थियो। तर, सन २०२३ ले सन् २०२२ को कीर्तिमान तोड्ने गार्डियनले उल्लेख गरेको छ।
याले स्कूल अफ द इन्भारोमेन्टले विश्व मौसम एट्रिब्युसनलाई उद्धृत गर्दै उल्लेख गरे अनुसार भारत र बंगलादेशमा गर्मी हरेक वर्ष लगातार बढिरहेको छ। “जलवायु परिवर्तनको प्रभावबिना अत्यधिक गर्मी र आद्रता असम्भव हुने थियो,” रिपोर्टमा भनिएको छ।
हरितगृह ग्यास उत्सर्जनका कारण यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ३ डिग्री सेल्सियस वृद्धि हुने वैज्ञानिकहरूले यसअघि नै भविष्यवाणी गरेका थिए। तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न हरितगृह ग्यास उत्सर्जन कटौती गर्न राष्ट्रसंघका सदस्य राष्ट्रहरूले सन् २०१६ मा फ्रान्सको पेरिसमा सम्झौता गरेका थिए। जसलाई ‘पेरिस सम्झौता’ भनिन्छ। उक्त सम्झौता अनुसार विकसित देशहरूले हरितगृह ग्यास उत्सर्जनलाई घटाउने कार्य योजनासमेत पेस गरिसकेका छन्।
तर, विश्व मौसम संगठनले संगठनले आगामी पाँच वर्षमा अथवा त्यसमध्ये एक वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम मापन हुने सम्भावना रहेको औँल्याएको छ। सन् २०२२ मा विश्वको औसत तापक्रम सन् १८५० देखि सन् १९०० को औसत तापक्रमभन्दा १.५ डिग्री सेल्सियसले बढी थियो।
वैज्ञानिकहरूका अनुसार विश्वको औसत तापक्रम १.५ डिग्री सेल्सियस वृद्धि हुँदा नेपालको औसत तापक्रम २ डिग्रीले वृद्धि हुन्छ। त्यसकारण पनि तापक्रम वृद्धिका प्रभाव नेपालमा बढी देखिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)ले सन् २०१९ मा प्रकाशित गरेको मूल्यांकन प्रतिवेदनमा उल्लेख छ। उक्त प्रतिवेदन अनुसार विश्वव्यापी तापक्रम सरदर १.५ डिग्री वृद्धि हुँदा हिमालमा २ डिग्री सेल्सियस वृद्धि हुन्छ। अहिलेकै अवस्थामा उत्सर्जन कायम रहे हिमालमा तापक्रम वृद्धि ५ डिग्री सेल्सियसका दरले हुने प्रतिवेदनमा उल्लेख छ।
जलवायु मामिलाका जानकार ङमिन्द्र दाहाल १.५ डिग्री तापक्रम वृद्धिको अवस्थामा पनि हिमाली मुलुकमा उथलपुथल हुने गरी जलवायुजन्य घटना वृद्धि हुने बताउँछन्।
ईसिमोडको प्रतिवेदनमा तापक्रम वृद्धिले पहाडी क्षेत्रमा जल प्रणालीमा प्रत्यक्ष प्रभाव पुग्ने र हिमाल पग्लिने उल्लेख छ। त्यसबाट हिन्दकुश हिमालय क्षेत्रमा बस्ने करिब २४ करोड मानिससहित १ अर्ब ६५ करोड जनसंख्याको खाद्यान्न, जैविक विविधता लगायतका क्षेत्रमा प्रतिकूल असर पर्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
