अञ्जन एक्कासि मैदानमा प्रवेश गरेर रेफ्री प्रज्ज्वलको मुखमा मुक्का प्रहार गरे। झगडा छुट्टाउन सहायक रेफ्री यादव किसन कनैया र हरिस कार्की पनि मैदान प्रवेश गरे। खेल करिब ४५ मिनेट रोकियो।
काठमाडौँ– अन्तिम खेल, रेलिगेसनको दबाब अनि हात हालाहालको स्थिति। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत च्याम्पियन बनिसकेको चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटारबीचको खेल यस्तै रह्यो।
२५ खेलबाट ४८ अंक जोडेको चर्च ब्वाइज एक खेलअगावै च्याम्पियन बनिसकेको थियो। उसलाई खुमलटारविरुद्धको खेलमा गुमाउनु केही थिएन। तर, अंक तालिकाको पुछारमा रहेको खुमलटारलाई आफ्नो अन्तिम खेलमा जित मात्रै प्राप्त थिएन, अन्य टोलीको नतिजामा भर पर्नुपर्ने अवस्था पनि थियो। यस्तोमा बाजी मार्यो चर्च ब्वाइजले। थ्रीस्टारविरुद्ध बराबरी खेल्दै उपाधि जिते पनि अन्तिम खेलमा जित हासिल गर्दै उत्सव मनाउने योजना बनाएको चर्चका लागि सुनिल शाह र जोशेफ बेम्पाले गोल गरे।
२१औँ मिनेटमा चर्चले अग्रता लियो। राजीव लोप्चनले अञ्जन विष्टलाई लडाएपछि चर्चले फ्रिकिक पाएको थियो। डिबक्स बाहिर रहेका सुनिललाई एरिक विष्टले फ्रिकिकमार्फत बल दिएका थिए। उनले डिबक्स लाइनबाट फिनिसिङ गरे।
२५औँ मिनेटमा खुमलटारले खेलमा फर्किने मौका गुमायो। बल अगाडि बढाइरहेका मेसुके ओलोमाउलाई चर्चका कप्तान अनन्त तामाङले धकेले पनि रेफ्री प्रज्ज्वल क्षेत्रीले पेनाल्टी दिएका थिए। तर, लिगमा १८ गोल गरिसकेका मेसुकेले प्रहार गरेको बल माथिल्लो बारमा लाग्न पुग्यो। उक्त बललाई गोल लाइनबाट गोलरक्षक प्रिसोले बचाए। ३५औँ मिनेटमा अनिल राईले दिएको बललाई मेसुकेले वान भर्सेस वानमा गोल गर्न सकेनन्। खेल पहिलो हाफको इन्ज्युरीतिर धकेलिँदै गर्दा हात हालाहालको स्थिति उत्पन्न भएको थियो।
४४औँ मिनेटमा मेसुकेले प्रहार गरेको बल चर्चका अनन्तको हातमा लागेको थियो। तर, रेफ्रीले ह्यान्ड बल नदिएपछि खुमलटारका टिम म्यानेजर अञ्जन राना क्षेत्री तथा टिम अफिसियल बुद्धिबहादुर गुरुङ र हरिबोल राउतसहित प्लेअर बक्समा बसेका सबैले आपत्ति जनाए। तर, रेफ्री प्रज्ज्वलले कुनै प्रतिक्रिया नदिएपछि अञ्जनसहित सम्पूर्ण अफिसियल र खेलाडी मैदान प्रवेश गरे।
रेफ्री प्रज्ज्वलले एकै खेलमा दुई पटक पेनाल्टी दिन नमिल्ने तर्क गरेको खुमलटारका खेलाडीहरू प्लेअर बक्समा सुनाउन आएका थिए। उक्त तर्कले संयम गुमाएका अञ्जन एक्कासि मैदानमा प्रवेश गरेर रेफ्री प्रज्ज्वलको मुखमा मुक्का प्रहार गरे। त्यसपछि माहोल तातियो। झगडा छुट्टाउन सहायक रेफ्री यादव किसन कनैया र हरिस कार्की पनि मैदान प्रवेश गरे। खेल करिब ४५ मिनेट रोकियो। प्रज्ज्वलले एन्फा परिषद्मै आफूमाथि हातपात हुँदा कुनै पदाधिकारी नआएको भन्दै बारम्बार असन्तुष्टि पोखे।
खेल रोकिएको करिब ३० मिनेटपछि एन्फा उपाध्यक्ष दावा लामा र प्रवक्ता सुरेश शाह मैदानको स्थिति बुझ्न आएका थिए। प्रज्ज्वललाई उनीहरूले नै सम्झाई बुझाइ गरे। तर, प्रज्ज्वल मानेनन्। खेल शुरू गर्ने अनुमति दिएनन्। “एन्फा परिषद्मै ममाथि हातपात भएको छ। यहीँ कम्प्लेक्समा रहेका पदाधिकारीले देखेका पनि होलान्। तर, उनीहरू छुट्टाउन आएनन्। खेल असुरक्षित भयो। प्रहरी आएर सुरक्षा नदिएसम्म खेल खेलाउँदिनँ,” उनले भने।
खुमलटारका टिम म्यानेजर र अफिसियललाई भने उनले रातो कार्ड दिइसकेका थिए। उनीहरूलाई प्लेअर बक्सबाट बाहिर जान प्रज्ज्वलले बारम्बार आग्रह गरे। तर, नमानेपछि एन्फाका पदाधिकारीहरूले धकेलेर मैदान बाहिर लग्नुपरेको थियो। त्यसपछि प्रहरीलाई कल गरेको र सुरक्षाको प्रत्याभूति गराउने एन्फा पदाधिकारीले आश्वासन दिए। प्रज्ज्वल राजी भए, मैदान उत्रिन तयार भए। खेल शुरू भएको केही सेकेन्डमै चर्चका जोशेफ बेम्पाले गोल गर्दै चर्चको अग्रता दोब्बर बनाए।
खेलको ५१ मिनेटमा चर्च १० खेलाडीमा सीमित भयो। खुमलटारका राजीवले हेडर गरेर गोल गरेका थिए। त्यसअघि नै रेफ्री प्रज्वलले अफ साइड दिसकेका थिए। तर, राजीवले सन्तुलन गुमाउँदा उनको शरीरले प्रिसोलाई लाग्न पुग्यो। उनले राजीवमाथि हातपात गरेपछि खेल केहीबेर पुनः रोकियो। खुमलटारका खेलाडी र चर्चका अफिसियलहरूले उनलाई सम्झाएर मैदान बाहिर निकालेपछि खेल पुनः शुरू भएको थियो। त्यसपछि चर्च र खुमलटारले खेलमा केही अवसर बनाएका थिए। तर, गोलमा परिणत गर्न सकेनन्। जितसँगै चर्चले २६ खेलबाट ४८ अंक बनायो। खुमलटारले समान खेलबाट २७ अंक जोड्यो। खुमलटार गत वर्ष उपविजेता हुँदै ‘बी’ डिभिजनबाट चर्चसँगै ‘ए’ मा उक्लिएको थियो।
शुक्रबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबले विभागीय टोली एपीएफलाई ४–० गोल अन्तरले पराजित गरेको छ। फ्रेन्ड्सले जितसँगै ३० अंक बनाएको छ। एपीएफसँग पनि समान अंक नै रहेको छ। फ्रेन्ड्स ११औँ स्थानमा पुग्दा एपीएफ एक स्थान झरेको छ। शनिबार २९ अंक जोडेको थ्रीस्टारले अन्तिम खेल जावलाखेल युथ क्लबसँग खेल्ने छ। यो खेलको नतिजाले थ्रीस्टार, एपीएफ र फ्रेन्ड्समध्ये कुन टोली रेलिगेसनमा पर्छन् भन्ने थाहा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
