‘इन्टिग्रिटी’ भएका पत्रकारलाई पेशामा टिक्न मुस्किल छ। त्यसो हुँदाहुँदै पनि नेपालमा केही पत्रकारहरू छन्, जसले पत्रकारिताको ‘धर्म’ निर्वाह गरेका छन्।
म बच्चैदेखि अखबार पढ्थेँ। मेरा बाजे कृष्णप्रसाद कोइरालाका बारेमा नेपाली छापामा पर्याप्त रचनाहरू लेखिएका छन्। राणा शासनका बेलामा पनि ब्रिटिस इन्डियाबाट नेपालमा अंग्रेजी तथा हिन्दी अखबारहरू भित्रन्थे, तिनमा प्रतिबन्ध लगाइएको थिएन। निबन्धकार शंकर लामिछाने हाम्रा बाजेलाई भेट्न जाँदा बाजे कलकत्ताबाट निस्कने ‘अमृत बजार’ पत्रिका पढिरहेको हुनुहुन्थ्यो अरे। त्यस समयमा भारतमा समेत अत्यन्त थोरै हिन्दी भाषाका पत्रिकाहरू छापिन्थे। विसं. १९९९ सालतिर हुनुपर्छ, हाम्रा बाजेलाई ललितपुरको पाकोको सत्तलमा राणा सरकारले नजरबन्दमा राखेको थियो। उतिखेरका सिपाहीहरूले नजरबन्दको अर्थ ‘घरको झ्यालढोका बन्द गर्ने’ भन्ने लगाएका थिए र सोहीअनुसार बाजेलाई व्यवहार गरिन्थ्यो। त्यसो हुँदा बाजेले श्रीमती र तथा बाहिरबाट आएका आफन्तहरूसँग भेट्न पाउनुहुन्थ्यो। यद्यपि, बाहिरका मान्छे बाजेलाई भेट्न जान हत्तपत्त डराउँथे। दुई वर्षअघि मात्रै गंगालाल र शुक्रराजलगायतलाई हत्या गरेका राणाले दुई–तीन वर्षपछि हाम्रा बाजेलाई चाहिँ सम्मानका साथ नजरबन्दमा राख्ने कुरा आश्चर्यको थियो। नजरबन्दमा हुँदा पनि पत्रिका पढ्न पाउनुहुन्थ्यो बाजे।
पत्रकारिता र प्रतिष्ठा
बाजे भारत निर्वासनमा हुँदाताका राणाहरूबाट जागिर खोसिएका सुब्बा देवीप्रसादलगायत असन्तुष्ट व्यक्तिहरू पनि भारत गई बसेका थिए। देवीप्रसादलगायतले भारतबाट पत्रिका निकाल्थे। पत्रिका निकाल्ने कुरा ठूलो पुण्य या महान् काम गर्नुझैँ थियो त्यो समय। नाफाभन्दा पनि प्रतिष्ठाको कुरा थियो। व्यक्तिको देशभक्तिसँग जोडिएको विषय थियो त्यो। पत्रिकाहरू निस्के पनि राणा शासन अन्त्य हुने बेलासम्म नेपालको साक्षरता एक प्रतिशत पनि थिएन होला। ‘कालो अक्षर भैँसी बराबर’को युगमा पत्रिकामा नाम छापिने कुरा खास थियो। र, भारतीय स्वतन्त्रता संग्रामसँग हाम्रा बाजे पनि जोडिएका कारण त्यतिखेर अखबारमा उहाँको नाम आइरहन्थ्यो। र, बा (मातृकाप्रसाद कोइराला)का बारेमा पनि छापामा समाचार आउँथे। र, त्यसो हुँदा हामीले पनि अखबार पढ्नैपर्थ्यो।
२००७ सालसम्म नेपालमा स्वतन्त्र पत्रिका र अखबारको नामनिसानै थिएन। सरकारी अखबार गोरखापत्र थियो। शारदा नामका साहित्यिक पत्रिकाबाहेक अरू थिएनन्। मेरा बा मातृकाप्रसाद कोइरालाले ‘शारदा’मा कथा लेख्नु भएको मलाई याद छ। २००७ सालपछि भने दनादन नेपालबाट अखबारहरू निस्कन थाले। तत्कालीन राजनीतिक परिवर्तनको पक्ष र विरोधमा उत्तिकै पत्रिकाहरू आए। राष्ट्रवाणी, नेपाल पुकार, नेपाल आह्जा, नेपाल टुडे र कमनरलगायत आए। त्यतिखेर दुइटा मात्रै गैरसरकारी प्रेस थिए नेपालमा।
२०१५ सालको चुनावअघिको कुरा हो, हरिहरप्रसाद उपाध्याय, महेशप्रसाद उपाध्याय, नैनालाल बोहरा र शैलेन्द्रकुमार उपाध्यायहरू मिलेर विराटनगरबाट जनमत नामको हिन्दी पत्रिका निकाल्ने तयारी गरे। शैलेन्द्रकुमार उपाध्याय त्यसका सम्पादक थिए, तर उनी पत्रकारका रूपमा जिम्मेवार थिएनन्, कैयौँ दिन गायब भइदिन्थे। सम्पादन मण्डलका अन्य सदस्यहरूलाई पनि पत्रकारिताको जानकारी थिएन। म आफैँ पनि पत्रकारिताको ज्ञान भएको व्यक्ति थिइनँ। उतिखेर बिएमा पढ्दै थिएँ। हामी सबै पढेलेखेका व्यक्ति थियौँ।
ठिटो पत्रकार
त्यो बेला सुवर्णशम्सेर राणा अर्थमन्त्री थिए। अर्थशास्त्रमा एमए गरेका उनले संसद्मा बजेट पेस गरे। मचाहिँ उतिखेर बिएमा अर्थशास्त्र लिएर पढ्दै थिएँ। त्यति योग्यताको उतिखेर ठुलै महत्त्व थियो। शैलेन्द्रकुमारलगायतले ‘जनमतको पहिलो अंक निक्लँदैछ, त्यसमा तपाईंले बजेटका बारेमा लेखिदिनुहोस्’ भने। जनमत सानो 'साइज'को अखबार थियो। उतिखेर पत्रिकाका लागि समाचार, संवाददाता र पाना भर्ने समस्या थिए। मैले जनमतका लागि पहिलोदेखि तेस्रो अंकसम्म आर्थिक विश्लेषण लेखेँ। तीन अंकसम्म पत्रिकामा निरन्तर लेख छापिएपछि २१–२२ वर्षे ठिटोलाई के चाहियो? लेखकै कारण विराटनगरको एउटा वृत्तमा मेराबारे राम्रै चर्चा चल्यो। गिरिजाप्रसाद कोइरालाले त भने पनि, ‘यो केटो त यति सानै उमेरमा पनि राम्रो लेख्दो रहेछ। यो त बुद्धिजीवी रहेछ।’ खासमा गिरिजाप्रसाद स्वयं बौद्धिक नेता होइनन्, बीपी मात्रै हुन्।
लेख निरन्तर छापिएपछि साथीहरूले मलाई ‘अब नियमित लेख्नुस्’ भने। उनीहरू आफैँ जनमतको प्रकाशक, सम्पादक र हकर पनि थिए। विराटनगर आफैँमा सानो बजार थियो। त्यतिखेर पैसा तिरेर पत्रिका किन्ने चलन थिएन। पत्रिका निःशुल्क बाँडिन्थ्यो। हामी र हाम्रा परिवारका लागि पत्रिका र पत्रकारिता राजनीतिको अङ्गजस्तै थियो। आफ्नो घरको दालभात खायो, पत्रकारिता गर्यो। अखबारमा नाम छापिएको छ, समाजमा इज्जत बढेकै छ।
तर, पत्रिका छाप्नेका लागि भने अनेकौँ दुःख थिए। मारवाडीलगायत व्यापारीहरूसँग अलिअलि चन्दा लिएर तथा बिँडीलगायत सीमित उपभोग्य सामानको विज्ञापन लिएर पत्रिका चलेको थियो। व्यापारीहरूले जनमत पत्रिकालाई त्यस्तै ५ या १० रुपैयाँ चन्दा दिन्थे। तर, जनमतका लागि मैले निरन्तर लेख्न सम्भव भएन किनकि बिएको परीक्षा दिन म बनारस जानुपर्ने भयो र त्यसपछि जनमत साप्ताहिक बन्द भयो। त्यसयता कुनै न कुनै रूपमा म पत्रिकाका लागि नियमितजसो स्तम्भ लेखिरहेको छु।
१७ सालको राजा महेन्द्रको ‘कु’पछि स्वतन्त्र पत्रकारिता दमित भयो। मान्छेहरू डराए या सरकारी पक्षसँग आत्मसमर्पणको बाटो रोजे। केही पत्रिकाहरू सम्झौतै गरेर भए पनि टिकिरहे। अर्को तथ्य, १७ सालपछिको पत्रकारितामा सबै पक्षलाई खुसी राख्ने अभ्यास गरियो। उतिखेर चीन, भारत, अमेरिका, रसिया र बेलायतजस्ता देशचाहिँ राजा महेन्द्रलाई खुसी पार्नका लागि लागेका थिए। किनकि, उनीहरूलाई नेपालमा आफ्नो स्वार्थ पूर्ति गर्नु थियो। सोही कारण उतिखेर यहाँको स्थानीय प्रजातान्त्रिक आन्दोलनलाई ती देशहरूले सहयोग गरेनन्। खासमा २००७ सालको आन्दोलन मात्रै नेपालीको बुतामा उठेको आन्दोलन थियो, तर त्यसलाई पनि भारतले पछि ‘हाइज्याक’ गरिदियो भन्ने निचोड मेरो छ।
आज पत्रकारिताले स्वतन्त्रताको एउटा बेग्लै उचाइ लिएको छ। सूचना, प्रविधि र विज्ञानले गरेको उन्नतिका कारण अब न कुनै छापाखाना चाहियो, न कुनै सम्पादक या स्रोत। आफूलाई जे लाग्यो, त्यो सिधै सम्प्रेषण गर्न पाइने युग आयो। मिडियामा यो अत्यन्तै ठूलो क्रान्ति हो। यो सूचना क्रान्ति १९९० को दशकबाट ज्यादा विस्तार भयो। त्यतिखेरसम्म हामी सरकारी रेडियो, टिभीबाहेक अखबारमा मात्रै आश्रित थियौँ।
मिडियामा तथ्य, विज्ञापन र तस्कर
प्रायः सबै मिडिया विज्ञापनमै आश्रित हुने भएकाले त्यहाँ कुनै न कुनै खालका सम्झौता हुने गर्छन्। सम्झौताहरूसँग डराउनु हुँदैन तर पत्रकारले जस्तासुकै खालका ‘सरेन्डर’ गर्नु हुँदैन। त्यसले बर्बाद बनाउँछ, पेशालाई अनुशासनहीन बनाउँछ। ‘पत्रकारले पैसाका लागि काम गर्छ’ भन्ने बुझेपछि आम मान्छेले के गर्ला? त्यस्ता मिडिया अन्ततः चल्न छाड्छन्, पाठकले पढ्न छाड्छन्। यसकारण, मिडियाले आफ्नो ‘नैतिक–अक्षुण्णता’ कायम राख्नुपर्यो। जस्तो कि, धेरैजसो अमेरिकन पत्रकारहरू कुनै पनि कुरा पुष्टि नहुन्जेल कुनै पनि समाचार लेख्दैनन्।
किताब लेख्दा पनि तथ्य प्रमाणीकरणमा उनीहरू अत्यन्त इमानदार हुने प्रयास गर्छन्। उनीहरू आफ्नो विश्वसनीयता नगुमोस् भन्ने कुरामा सचेत हुन्छन्। कहिलेकाहीँ तथ्य प्रमाणित गर्न समय नपुग्ला, छिटो सूचना दिने लोभमा भूल हुनसक्ला। तर, सच्चा पत्रकारले त्यसलाई पछि सच्याउनुपर्छ। नेपालमा पञ्चायत कालदेखि अहिलेसम्म कतिपय तस्करहरूले समेत मिडियामा लगानी गरेका छन्। तर, जसले लगानी गरे पनि पत्रकारले आफ्नो व्यावसायिक धर्म निर्वाह गर्ने कुरामा सचेत हुनुपर्छ। ‘इन्टिग्रिटी’ भएका पत्रकारलाई पेशामा टिक्न आज पनि मुस्किल छ। त्यसो हुँदाहुँदै पनि नेपालमा केही पत्रकारहरू छन्, जसले पत्रकारिताको ‘धर्म’ निर्वाह गरेका छन्।
नयाँ युग, चुनौती र स्वतन्त्रता
कतिपय मान्छेहरू भन्दैछन्, ‘नयाँ मिडिया आएसँगै त्यसले अझै भ्रमहरू फैलाएका छन्। भाइरल सामग्रीले मान्छेलाई अन्योलग्रस्त बनाएको छ।’ त्यो तर्क केही हदसम्म सही हो तर मिडिया नभएका बेला झनै धेरै भ्रम फिजिन्थे, हल्ला चल्थे र मान्छेहरू आतंकित हुन्थे। ‘बनेपामा आइपुग्यो रे गोर्खा दल’ भनेर काठमाडौँमा हल्ला चल्थ्यो। ‘खुकुरी दल बल बल’ भनेर काठमाडौंमा मान्छेहरू हाहाकार गर्थे। तर मेरो ठहर छ– जुन राज्यले मिडियालाई स्वतन्त्रता दिँदैन, त्यो स्वयं हल्लाको शिकार हुन्छ। एउटा सन्दर्भ उल्लेख गरौँ– महेन्द्रले ‘कु’ गरेर पञ्चायती शासन शुरू गरेको दुई वर्षजति नेपालमा पटक्कै भ्रष्टाचार भएन किनकि उतिखेर सबै मान्छेहरू आत्तिएका थिए। तर, बिस्तारै भ्रष्टाचार मौलाउन थालिहाल्यो। तलतल भ्रष्टाचार मौलाउन थालिहाल्यो, बिस्तारै त्यो माथिसम्म सल्किहाल्यो। निरंकुशता र त्रासले लामो समय काम गरेन। अपारदर्शी शासनव्यवस्थाको समस्या हो त्यो।
र, मानव इतिहासमा स्वतन्त्रताले जहिल्यै मानव हित गरेको छ। यो मेरो मान्यता र विश्वास हो। प्रकाशन र अभिव्यक्ति स्वतन्त्रता सबै स्वतन्त्रताको जरो हो। राणाशासनविरुद्ध मान्छेहरू भूमिगत रूपमै पर्चा छाप्थे। ‘राणाशासनले मान्छेलाई शोषण गरेको छ, मालपोत लगेर काठमाडौँ लैजान्छ र त्यहाँ महल बनाउँछ’ भन्थे। त्यसले अन्ततः मान्छेलाई जगायो। पञ्चायतकालमा पनि खासै पत्रकारिता थिएन र त्यस समयमा पनि पर्चाले नै धेरै काम गरेको थियो। अब त 'फेसबुककारिता' र 'ट्विटरकारिता' पनि हुन थालिसक्यो। फिल्मकारिता पनि भएकै छ। अतः सूचना र सञ्चारमा आज अपूर्व क्रान्ति भएको छ। र, परिवर्तन हुने कुरा नै सबैभन्दा ठूलो सत्य हो। चर्चिलले भनेकै छन्, ‘हामी परिवर्तनसँग डराउनु हुँदैन। किनकि परिवर्तन त नभई छाड्दैन।’ र, जीवनको ९ दशक बिताउनै लाग्दा मैले अनेकौँ सञ्चार क्रान्तिलगायत परिवर्तनहरूलाई नियाल्न पाएको छु। त्यसको मजा चाखिरहेको छु।
कुराकानीमा आधारित।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
