पोल्यान्डः ३६ वर्षपछि समूह चरण पार गर्न लेवान्डोस्कीको भर

लेवान्डोस्की प्रेरित पोल्यान्ड ३६ वर्षपछि विश्वकप फुटबलको समूह चरण पार गर्ने लक्ष्यमा छ। तर, उसले अर्जेन्टिना र मेक्सिकोजस्ता शक्तिशाली देशलाई पन्छाउनुपर्नेछ।

कतिपय देशका लागि फिफा विश्वकप फुटबलको फाइनल चरणका लागि छनोट हुनु नै ठूलो सफलता हुन्छ। विश्वकपमा पुगेपछि समूह चरण पार गर्नु उत्तिकै चुनौतीपूर्ण हुनेछ। सन् १९८६ को विश्वकपपछि समूह चरण पार गर्न नसकेको पोल्यान्डले यसपटक अन्तिम–१६ मा पुग्ने प्रयास गर्नेछ।

पोल्यान्डले सन् १९३८ मा फ्रान्समा आयोजना भएको तेस्रो संस्करणदेखि विश्वकपमा उपस्थिति जनाउँदै आएको छ। सन् १९८६ मा प्रिक्वाटरफाइनल पुग्दा पोल्यान्ड ब्राजिलसँग ४–० ले पराजित भएर बाहिरिएको थियो। यसपटक उतारचढावपूर्ण प्रदर्शनले पोल्यान्डलाई समूह चरण पार गर्न सजिलो भने छैन।
 
विश्वकपअगाडि आयोजना भएको नेशन्स लिगमा पोल्यान्डको लागि उत्साहजनक हुन सकेन। लिग ‘ए’ को समूह–४ मा रहेको पोल्यान्ड ६ खेलमा दुई जित, एक बराबरी र तीन हार बेहोर्दै अंक तालिकाको पुछारमा रह्यो। त्यति मात्रै होइन, बेल्जियमसँग ६–१ को नतिजाले हारेपछि पोल्यान्डको क्षमतामा नै प्रश्न उठेको छ।

यद्यपि, पोल्यान्ड विश्वकप छनोट प्रतिस्पर्धामा समूहको दोस्रो स्थानमा रहेको थियो। उक्त समूहमा साबिकको यूरोकप उपविजेता इङ्ल्यान्ड र हंगेरी पनि थिए। त्यसबाहेक अल्बानिया, एन्डोरा र सानमारिया पनि थिए। यो समूहबाट इङ्ल्यान्ड विजेता भएर छनोट हुँदा दोस्रो भएको पोल्यान्ड ‘प्लेअफ’मार्फत स्थान बनाउन सफल भयो। प्लेअफमा उसले स्विडेनलाई २–० ले हराएको थियो। 

समूहको पहिलो खेलमा इङ्ल्यान्डसँग उसैको घरेलु मैदानमा २–१ ले पराजित भएको पोल्यान्डले राजधानी वार्सामा भएको दोस्रो खेलमा इङ्ल्यान्डलाई १–१ को बराबरीमा रोक्न सफल भयो। यहीकारण पोल्यान्डसँग विश्वकपका बलिया टीम रोक्न सक्ने क्षमता भएको विश्वास गरिन्छ।

विश्वकप छनोटको दौडमा मुख्य प्रशिक्षक पाउलो साउसा नेतृत्वको पोल्यान्डले १० खेलमध्ये ६ जित, दुई बराबरी र दुई हारसहित २० अंक जोडेको थियो। कतार विश्वकपमा ‘डार्क–हर्स’को रूपमा पोल्यान्डलाई उभ्याएका पाउलोले डिसेम्बरमा अचानक राजीनामा दिँदै ब्राजिलियन क्लब फ्लेमेन्गो रोजे। त्यसपछि पोल्यान्डको कमान्ड चेस्लाव मिच्निविजले सम्हालिरहेका छन्।

सफलता दोहर्‍याउन नसकेको टोली
सन् १९७० र ८० को दशकमा पोल्यान्डको फुटबल ‘सुनौलो युग’मा रहेको मानिन्थ्यो। गर्जेगोर्ज लाटो र जबिग्न्यू बोनिएकजस्ता उत्कृष्ट खेलाडीका कारण पोल्यान्डले लगातार चारपटक विश्वकप खेलेको थियो। 

पोल्यान्ड सन् १९७४ मा तत्कालीन पश्चिम जर्मनी र १९८२ मा स्पेनमा आयोजना भएको विश्वकपमा तेस्रो भएको थियो। यी नै विश्वकपमा पोल्यान्डको सबैभन्दा ठूला सफलता हुन्। पोल्यान्डले त्यसपछि यो सफलतालाई दोहोर्‍याउन सकेन। २२औँ संस्करणसम्म आइपुग्दा पोल्यान्ड केवल नवौँपटक विश्वकपमा सहभागिता जनाउँदै छ। सन् १९८६ पछि पोल्यान्डले २००२ र २००६ मा दुईपटक विश्वकप खेलेको थियो।

लेवान्डोस्कीको भर
पोल्यान्ड यसपटकको विश्वकपमा कप्तान रोबर्ट लेवान्डोस्कीको भरमा हुनेछ। उमेरका कारण करिअरको अन्त्यतिर पुगे पनि उनी उच्च लयमा छन्। उनको नेतृत्वमा पछिल्लो समयमा पोल्यान्डले आक्रामक प्रदर्शन गरिरहेको छ। विश्वकप छनोटका १० खेलमा लेवान्डोस्की एक्लैले ११ गोल गरेका थिए।

सन् २००८ मा पोल्यान्डको राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका लेवान्डोस्कीले त्यसयता १२९ खेलमा ७५ गोल गरेका छन्। हाल क्याटलान क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका उनी यसअघि जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डमा थिए। ती क्लबबाट बुन्डेसालिगाका ३८४ खेलमा ३१२ गोल गरेका थिए।

लेवान्डोस्कीले गोल नगरेको एउटा मात्र प्रतियोगिता हो– रसिया विश्वकप। सन् २०१८ को उक्त विश्वकपमा उनी गोलविहीन हुँदा उनकै टीमका जान बेड्नारेक र गर्जेगोर्ज क्रिचोविकले टोलीको लागि एक–एक गोल गरेका थिए। त्यो नै लेवान्डोस्कीले खेलेको एक मात्र विश्वकप हो।

यद्यपि, लेवान्डोस्कीकै उत्कृष्ट प्रदर्शनमा पोल्यान्ड १२ वर्षपछि सन् २०१८ मा विश्वकप फुटबलमा फर्किएको थियो। पोल्यान्डलाई विश्वकप छनोटको समूह ‘एच’को विजेता बनाउँदै रसिया विश्वकपमा छनोट गराउने क्रममा लेवान्डोवस्की एक्लैले १० खेलमा १६ गोल गरेका थिए। छनोट चरणमै लयमा देखिएका भएर होला उनीमाथि निकै आशा गरिएको थियो। तर, उनी चल्नै सकेनन्।

रसिया विश्वकपमा समूह ‘ई’ मा रहेको पोल्यान्ड पहिलो खेलमा अफ्रिकी राष्ट्र सेनेगलसँग २–१ गोलअन्तरले पराजित भएको थियो। दोस्रो खेलमा दक्षिण अमेरिकी राष्ट्र कोलम्बियासँग ३–० गोलअन्तरले पराजित भएर एक खेलअगावै विश्वकपबाट बाहिरिएको थियो। समूह चरणको अन्तिम खेलमा भने जापानलाई पोल्यान्डले १–० गोलले पराजित गरेको थियो।

यसपटक पनि कतार विश्वकपमा पोल्यान्डलाई छनोट गर्नेक्रममा लेवान्डोस्की एक्लैले ११ गोल गरे। त्यसैले पनि उनीमाथि विश्वास रहेको बताउँछन् मुख्य प्रशिक्षक मिच्निविज। “लेवान्डोस्कीको छेउमा दोस्रो स्ट्राइकर हुनु आवश्यक छ कि छैन भनेर बहस गर्नुको कुनै अर्थ छैन। यो बकवास हो”, सेप्टेम्बरमा वेल्सविरुद्ध १–० को जित निकालेपछि मिच्निविजले भनेका थिए, “बायर्न र बार्सिलोनाजस्ता क्लबहरूमा उसले एक मात्र स्ट्राइकरको रूपमा खेल्न सक्छ र सयौँ गोल गर्न सक्छ। हामीले केवल उसलाई मौका दिनुपर्छ।”

कस्ता छन् प्रतिस्पर्धी?
पोल्यान्ड रहेको समूहमा उपाधिको दाबेदारसमेत रहेको अर्जेन्टिनासहित मेक्सिको र साउदी अरब छन्। १८औँ पटक विश्वकप सहभागिता जनाउन लागेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ गरी दुईवटा विश्वकपको उपाधि जितिसकेको छ। यस्तै, सन् १९३०, १९९० र २०१४ को विश्वकपमा उपविजेता बनेको थियो।

यता, १७औँ पटक विश्वकपमा सहभागिता जनाउन लागेको मेक्सिको पनि बलियो प्रतिस्पर्धी हो। मेक्सिकोले सन् १९७० र १९८६ को विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो। यता, छैटौँपटक सहभागिता जनाउन लागेको साउदी अरबले भने सन् १९९४ को विश्वकपमा पहिलोपटक समूह चरण पार गरेको थियो।

यस समूहमा तुलनात्मक रूपमा अर्जेन्टिना बलियो भएको कारण पोल्यान्डको नजर मेक्सिकोसँगको खेलमा हुनेछ। उसले मंसिर ६ गते मेक्सिकोसँग खेल्ने छ भने १० गते साउदी अरब र १५ गते अर्जेन्टिनासँग खेल्ने छ।  

अर्जेन्टिना उपाधि जित्ने दाबेदारमध्येको एक भएको र ठूला प्रतियोगितामा मेक्सिको सधैँ खतरनाक हुने लेवान्डोस्कीले फिफा टिभीसँग बताएका छन्। “लिओनल मेस्सी जस्ता खेलाडी भएको टोलीविरुद्ध खेल्न सधैँ कठिन हुनेछ, यसमा कुनै शंका छैन। त्यस्ता प्रतिभाशाली खेलाडीहरूसँग खेल्न पाउनु राम्रो कुरा हो,” लेवान्डोस्कीले भने।