राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन: राजेन्द्र लिङ्देन

राष्ट्रपति संस्था सैद्धान्तिक रूपले अभिभावक हुन नसक्ने अध्यक्ष लिङ्देनको भनाइ छ।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा नभएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आपत्ति जनाए। त्यसलाई तत्काल संसद्‌मा ल्याएर प्रक्रिया अघि बढाउन लिङ्देनको माग छ।

“यो जुन गल्ती गरिएको छ। यसलाई सच्याइयोस्। राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन। मन्त्रिपरिषद्को आज्ञापालक होइन,” उनले भने, “राष्ट्रिय प्रजातन्त्र पार्टीले त बारम्बार भनिराखेको थियो कि यो राष्ट्रपति संस्था सैद्धान्तिक रूपले पनि अभिभावक हुन सक्दैन। निष्पक्ष हुँदैन। अहिले त्यही कुरा भयो।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जानु केही घण्टाअघि मात्रै किन त्यो विधेयक प्रमाणीकरण गर्नु परेको पनि उनले सरकारलाई प्रश्नसमेत गरे।