प्रधानमन्त्रीले भारतीय पक्षसँग ईपीजी प्रतिवेदन बुझ्न जोड दिनुपर्छ: शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ईपीजी प्रतिवेदन बुझ्ने र कार्यान्वयनमा लैजाने विषयमा विशेष जोड दिनुपर्ने बताएका छन्।

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन ग्रहण गरी त्यसको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताएका छन्।

पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटीले मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफल कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ईपीजी प्रतिवेदन बुझ्ने र कार्यान्वयनमा लैजाने विषयमा प्रधानमन्त्री दाहालले विशेष जोड दिनुपर्ने बताएका हुन्।

महासचिव पोखरेलले भारतले सो प्रतिवेदन नबुझेकै कारण दुई मुलुकबीचको समस्या कायमै रहेको तर्क गरे। भारतलाई प्रतिवेदन बुझ्न लगाउनु नेपालको राष्ट्रिय हितमा हुनेतर्फ पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए।

“नेपालले बुझेर त्यस (प्रतिवेदन)लाई सार्वजनिक गर्नुपर्छ भन्ने कुरा मोरल बुस्टअप गर्ने विषय बन्छ। तर पनि हाम्रो पहिलो जोडचाहिँ भारतले बुझोस् भन्ने रहँदै आएको छ,” उनले भने, “भारतीय पक्षलाई नै रिपोर्ट बुझ्नका लागि दबाब सिर्जना गर्ने कुरा नै नेपालको हितको पक्षमा रहन्छ।”

महासचिव पोखरेलले चुरे क्षेत्रबाट निर्माण सामग्री भारत निर्यात गर्ने काम नगर्न तथा भूकम्पपछि भारतसँग सम्झौता गरिएका पुनर्निर्माणका कामहरू सम्पन्न गराउने विषयमा पनि भारतसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको भूमि डुबान हुने, ठूलो धनजनको क्षति हुने भएकाले सीमा क्षेत्रमा बाँध नबाँध्नका लागि आग्रह गर्नुपर्ने बताए।

भारतले बाँध बाँधेकै कारण नेपालमा ठूलो जनधनको क्षति हुने, डुबान हुने भएकाले त्यसलाई रोक्नका लागि प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग अनौपचारिक भए पनि कुरा राख्नुपर्ने उनको भनाइ थियो।

सीमाविद् श्रेष्ठले भारतको हेपाहा प्रवृत्ति अझै पनि पुरानै शैलीको रहेको र त्यसमा परिवर्तन ल्याउनका लागि नेपालले राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने पनि बताए।