मनाङ र थ्री स्टारमा देख्न पाइने राष्ट्रिय टोलीका उत्कृष्टसहित विदेशी खेलाडीहरूको जमघट यसपटक छैन। दुवै क्लब युवा खेलाडीमा भर पर्दा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेका छन्। खेलमा न रौनक छ, न चर्चा।
काठमाडौँ- कुनै समय थियो, शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाको मिति घोषणा गर्दा नै मनाङ मर्स्याङदी र थ्री स्टार क्लबबीच हुने प्रतिस्पर्धाको चर्चा शुरू हुन्थ्यो। स्पेनिस ला लिगामा बार्सिलोना र रियल मड्रिडबीचको खेललाई 'एल क्लासिको' भनेजस्तै मनाङ र थ्री स्टारबीचको प्रतिस्पर्धालाई 'नेपाली क्लासिको' भनिन्थ्यो। तर, यो वर्ष नेपाली क्लासिको छायामा परेको छ।
'डबल राउन्ड रोबिन' लिगमा गएको आइतबार चिरप्रतिद्वन्द्वी मनाङ र थ्री स्टार क्लब सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा यो वर्ष दोस्रोपटक भिडे। खेलको ३९औँ मिनेटमा मनाङका मिडफिल्डर चेतनकुमार थारूले निर्णायक गोल गर्दा मनाङ विजयी भयो। लिगमा १२ वर्षपछि मनाङले थ्री स्टारलाई पराजित गर्यो।
तर, यसपटकको भिडन्त न रोचक रह्यो, न त दर्शक नै आए। मुस्किलले ५०० दर्शक खेल हेर्न सातदोबाटो पुगेका थिए। जारी सिजनमा यी दुवै क्लब लिग होडमा नहुँदा पनि प्रतिस्पर्धा रोचक भएन। खेलअघि मनाङ अंकतालिकाको ११औँ र थ्री स्टार नवौँ स्थानमा थिए। खेलपछि मनाङ १०औँ र थ्री स्टार ११औँ स्थानमा पुगेका छन्।
जारी लिगमा यी दुई बीचको पहिलो खेल झनै निराशाजनक थियो। उक्त खेल हेर्न मुस्किलले २०० दर्शक दशरथ रंगशाला पुगेका थिए। उक्त प्रतिस्पर्धा १-१ गोलको बराबरीमा टुंगिएको थियो।
मनाङ: थ्री स्टारसँगको इगोले जन्मिएको क्लब
नेपाली फुटबलमा मनाङ र थ्री स्टार पुराना प्रतिद्वन्द्वी हुन्। मनाङको जन्मकथामा थ्री स्टार पनि जोडिएको छ। ४२ वर्षअघि, २०३८ सालमा तत्कालीन ठमेल-११ र थ्री स्टार बीचको ‘बी’ डिभिजनको खेल हुँदै थियो। उक्त खेलको विजेता ‘ए’ डिभिजनमा उक्लने अवस्था थियो। तर, खेल अन्त्य नहुँदै खेलाडीबीच विवाद र घम्साघम्सी शुरू भयो। विवादित खेलमा थ्री स्टार विजयी भयो। विपक्षी खेलाडी र रेफ्रीमाथि जाइलागेको आरोपमा ठमेल-११ लाई प्रतिबन्ध लगाइयो।
त्यस घटनापछि ठमेल-११ का खेलाडी र पदाधिकारीले नयाँ क्लब स्थापना गरे, मनाङ मर्स्याङ्दी। शुरूमा यसको नाम मर्स्याङदी-मनाङ क्लब थियो। यो क्लब स्थापनाकालदेखि नै थ्री स्टारको प्रतिद्वन्दीको रूपमा उदायो। यी दुई क्लब नेपाली फुटबलका त्यस्ता प्रतिद्वन्द्वी हुन्, जस्तो ला लिगामा क्याटलान क्लब बार्सिलोना र रियल मड्रिडलाई चिनिन्छ। यी दुई क्लबहरूको भिडन्तमा पनि बार्सिलोना र रियलको एल क्लासिकोमा जस्तै घम्साघम्सी हुन्थ्यो। ‘टचलाइन’, अफिसियल बक्स, खेल हेर्न उपस्थित समर्थकबीच गर्मागरम माहोल हुन्थ्थो।

सन् २०११ यता 'ए' डिभिजन लिगमा मनाङ र थ्री स्टार ११ पटक प्रतिस्पर्धा गरेका छन्। त्यसयता मनाङले थ्री स्टारलाई जित्न सकेको थिएन। पाँचपटक थ्रीस्टारले जित्दा त्यति नै पटक बराबरीमा टुंगिएको थियो। लिगको ११औँ खेलमा गत आइतबार मनाङले जित निकाल्दा खुशी मनाउने दर्शक निकै कम थिए।
फुटबल समर्थक सुरेन्द्र पाण्डे अहिले यी दुई क्लबबीचको भिडन्त रोमान्चक हुन छाडेको बताउँछन्। २०६२ सालमा लिग हेर्न स्कुल नै 'बंक' गरेको उनी याद गर्छन्। उनी भन्छन्, "त्योबेला सबै फलो गरिन्थ्यो। खुकुरी कप पनि हुन्थ्यो। लिगमा होस् या खुकुरी कपतिर मनाङ र थ्री स्टारको खेल नेक्स्ट लेभलकै हुन्थ्यो। बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको जस्तो।”
एन्फा कम्प्लेक्सबाहिर आइतबार भेटिएका पाण्डेलाई विगत दुई वर्षदेखि मनाङ र थ्रीस्टारको खेल त्यस्तो ‘नेक्स्ट् लेभल’को लागेको छैन। हुन त, खेलको शुरूदेखि नै दुवै क्लबका विदेशी खेलाडी हाबी भए। मनाङले गोल गर्दा होस् या अवसर सिर्जना गर्दा नै, बार्सिलोनाको ‘बी’ टिमबाट खेलिसकेका सेनेगलका ‘डिफेन्सिभ मिडफिल्डर’ डियावान्डोउ डावान्डु डियाग्नेसामु मनाङका अन्य ‘अनक्प्याप्ड’ खेलाडी छायामा परे।
उता, थ्री स्टारको पनि उस्तै हालत थियो। चलेका भनिएका डिफेन्सिभ मिल्डफिल्डर तथा कप्तान विक्रम लामा र लास्ट ब्याक विराज महर्जनभन्दा डिफेन्डर पिटर सेगुन अब्बल देखिए। दुवै टोलीका घरेलु खेलाडीले आकर्षक खेल देखाउन सकेनन्। खेलभरि जम्मा तीन वटा हेर्नलायक 'मुभ' बने।
“पुलिसले २०६३ को लिगमा जितेपछि मनाङ र थ्री स्टारमा चलेका खेलाडी भित्र्याउने होड थियो। उनीहरूलाई हेर्न धेरै समर्थक दशरथ रंगशाला पुग्थे। त्योबेला क्या ‘हाइप’ थियो, क्रेज नै अर्कै थियो,” उनी भन्छन्, “अहिले त खेल कता हुन्छ भन्ने नै थाहा हुँदैन। हामी आफैँ खोज्दै आइपुगेका हौँ।”
१४ वर्षभन्दा बढी समयदेखि लिगमा देखिरहेका खेलाडी विदेशिएका र दुवै क्लब नेपालका युवासहित विदेशी खेलाडीमा भर पर्दा क्रेज पहिलाजस्तो नदेखिएको उनी बताउँछन्।
काठमाडौँमा सीमित लिग
कुनैबेला लिगको खेल हेर्न होस् या मोफसल बाहिरका आहा गोल्डकप, बूढासुब्बा गोल्डकप, महेन्द्र गोल्डकप (अहिले विराट गोल्डकप)जस्ता प्रतियोगिता हुँदा रंगशाला भरिभराउ हुन्थे। लिग खेल र राजधानी बाहिर हुने यी ठूला प्रतियोगिताले सञ्चारमाध्यममा ठूलै स्थान पाउँथ्यो। मनाङ र थ्री स्टारको खेलमा समर्थकहरूको ओइरो लाग्थ्यो।
दर्शकको उपस्थितिले खेलाडीलाई समेत राम्रो नतिजा दिन दबाब सिर्जना गर्ने थ्री स्टार र मनाङबाट खेलिसकेका पूर्वराष्ट्रिय खेलाडी अनिल गुरुङ बताउँछन्। “नेपालका टप टु टिम थ्री स्टार र मनाङ थिए। यी टिममा राष्ट्रिय र उत्कृष्ट विदेशी खेलाडीहरूको जमघट बाक्लै हुने गर्थ्यो। त्यसैले टफ गेम हुन्थ्यो,” गुरुङ भन्छन्, “प्यारापिट पनि खचाखच भरिएको हुन्थ्यो। हारजित स्वाभाविक हो, तर फुटबललाई माया गर्ने समर्थक हामीलाई नै हेर्न आउनुहुन्थ्यो।”
अहिले दर्शक नआउने मात्र होइन, लिगका खेललाई सञ्चारमाध्यमले पनि स्थान दिन छाडेका छन्। आइतबार च्यासल मैदानमा सातदोबाटो यूथ क्लब र न्यूरोड टिम (एनआरटी) तथा सातदोबाटोमा मनाङ र थ्रीस्टार भिडिरहँदा टेलिभिजनमा प्रत्यक्षप्रसारण नै भएन।

एन्फा परिसरमा भेटिएका मनाङका समर्थक सन्दीप राई २०७० सालपछि घरेलु फुटबलको क्रेज कम भएको बताउँछन्। “नाम चाहिँ ‘ए’ डिभिजन लिग छ, तर सबै काठमाडौँ उपत्यकाका क्लबहरू मात्रै छन्। यहीँ मात्रै खेलाउँछन्,” राई भन्छन्, “मनाङको ‘होम ग्राउन्ड’ त पोखरा हो। थ्री स्टारसँगको गेम अहिले पोखरामा हुन्थ्यो भने बार्सिलोना र रियल मड्रिडको जस्तै क्रेज हुन्थ्यो होला। पोहोर पोखरामा हुँदा हामीले साथ दिएका थियौँ।”
उनी मनाङको खेल हेर्नकै लागि पोखराबाट काठमाडौँ आएको बताउँछन्। गत संस्करणमा एन्फाले पहिलोपटक उपत्यकाबाहिर पनि लिगका केही खेल खेलाएको थियो। पोखरामा मनाङले ब्रिगेड ब्वाईज क्लब, च्यासल युथ र नेपाल पुलिस क्लबसँग तीन खेल खेल्यो। त्यसमा मनाङले मात्रै होइन, अन्य घरेलु टोलीलाई पराजित गर्ने लक्ष्य बुनेर पुगेका विपक्षी टोलीले समेत पोखरेली समर्थकको राम्रो साथ पाए।
तर, यसपटक खर्च धान्न सक्ने अवस्था नरहेको भन्दै मनाङको ‘होम ग्राउन्ड’ जान अन्य क्लबले आनाकानी गरे। यता, एन्फाले पनि त्यो खर्च बेहोरिदिएर लिगलाई उपत्यकाबाहिर लैजाने साहस गरेन। आर्थिक चपेटमा रहेको भन्दै पन्छियो।
एन्फाका खेल निर्देशक सञ्जीव मिश्र उपत्यकाबाहिर खेलको क्रेज रहेको आफूहरूलाई थाहा भए पनि खर्चिलो भएको कारण लैजान नसकेको बताउँछन्। तर, मनाङ र थ्री स्टारजस्ता ठूला टोलीका खेल हेर्न कम समर्थक आउनु र खेल खस्किनुमा भने स्वयम् क्लबहरू दोषी रहेको उनी जिकिर गर्छन्।
“हामीले पहिला नै डबल राउन्ड रोबिनमा लिग खेलाउन क्लबले सक्दै सक्दैनन् भनेको हो, तर उनीहरूले मानेनन्। फिफा विन्डोमा राष्ट्रिय टोलीको खेल खेलाउनै पर्छ,” उनी भन्छन्, “क्लबहरू हतारिएकाले लिगको तयारी राम्रोसँग गर्न पाएनौँ। व्यस्त खेल तालिकाले खेलाडीहरू थकित भए। त्यसैले समर्थकहरू खेल हेर्न आएनन्।”
'स्टार' खेलाडीविहीन मनाङ र थ्री स्टार
लिग उपाधि आठपटकसम्म जितेको मनाङको यसपटकको लक्ष्य रेलिगेसनबाट जोगिने मात्र थियो। थ्री स्टारको लक्ष्य पनि शीर्ष ६ भित्र पर्ने थियो। दुवै क्लबका अधिकांश खेलाडी 'अनक्याप्ड' छन्।
मनाङले रेलिगेसन टार्न राष्ट्रिय टोलीबाट खेल्दै आएका गोलरक्षक दीप कार्कीलाई मात्रै भित्र्यायो। अन्य युवा खेलाडीका अतिरिक्त विदेशी खेलाडी शाहिद अजिज, कोफी कुडो, डियावान्डोउ डावान्डु, साइदजमोल दाभ्लात्जोनोभ र यश मात्रेको भरमा छ।
यता, युवा खेलाडीकै भरमा रहेको थ्री स्टारले राष्ट्रिय टोलीबाट खेलिसकेका सन्तोष साहुखल र विराज महर्जनलाई भित्र्यायो। लिगमा कीर्तिमानी १०५ गोल गरेका सन्तोषले प्रतियोगिता सकिँदा नसकिँदै टोली छाडे। अनुभवी खेलाडी नहुँदा पनि यसपटक थ्री स्टार र मनाङको खेलमा रुचि कम भएको समर्थकहरूको बुझाइ छ।
लिग अंकतालिका हेर्ने हो भने मनाङ र थ्री स्टार रेलिगेसनबाट बच्न संघर्ष गरिरहेका छन्। थ्री स्टारलाई जितेर आठौँ स्थानमा पुगेको मनाङ अहिले १०औँ स्थानमा झरिसकेको छ। थ्री स्टार ११औँ स्थानमा छ। रेलिगेसन जोनमा रहेको फ्रेन्ड्सभन्दा मनाङसँग ४ अंक र थ्रीस्टार २ अंक अघि छन्।
दुवै टोलीसँग अहिले 'स्टार' खेलाडी नहुँदा नै आकर्षण कम भएको दुवै टोलीको प्रशिक्षक भइसकेका राजुकाजी शाक्य बताउँछन्। “मनाङ र थ्री स्टार क्लबको इतिहासबारे मैले भनिराख्नु पर्दैन। पहिला राष्ट्रिय खेलाडीहरूको रोजाइले समेत त्यसको पुष्टि गर्छ। तर, अहिले खेलाडी नै भएनन्। त्यसैले अवस्था उस्तै रहेन,” शाक्य भन्छन्।
मनाङका मुख्य प्रशिक्षक विष्णु गुरुङ र थ्री स्टारका मेघराज केसी भने आ-आफ्नो टोलीको खेल खस्किएको स्वीकार गरिहाल्न चाहँदैनन्। न त दर्शकको बलियो साथ नपाएको नै स्वीकार गर्छन्। उनीहरूको तर्क एकै खाले छ, व्यस्त खेल तालिका छ।
मनाङका प्रशिक्षक गुरुङ भन्छन्, "हामी सात खेलसम्म जितविहीन भयौँ। अहिले हाम्रा केटाहरूको कम्बिनेसन मिलिरहेको छ। सबैको उही लय छ। हाम्रो टिमको प्रदर्शनलाई लिएर म ह्याप्पी नै छु।"
थ्री स्टारका प्रशिक्षक केसी लिग शुरू हुँदै आफूहरूले यसपटक दाबेदार नभएको स्वीकार गरेको बताउँछन्। "यसपटक राम्रो टोली थिएन। थ्री स्टारको प्रशिक्षकमा लामो समयपछि रिक्स लिएर फर्किएको हुँ। हाम्रो प्रदर्शन साह्रै नराम्रो भन्ने पनि होइन। खेलाडीले क्षमताअनुसार प्रदर्शन गरिरहेका छन्। त्यसैले टोलीबाट धेरै अपेक्षा गर्न मिल्दैन," केसी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
