करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। आरोहणका क्रममा ३०० भन्दा बढीको निधन भइसकेको छ। यो वर्ष वसन्त ऋतुमा मात्र ६०० भन्दा बढीले आरोहण गरिसकेका छन्।
काठमाडौँ- आज (सोमबार) १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथामा मानव पाइला राखेको ७० वर्ष पूरा भएको दिन। सन् १९५३ मे २९ तारिख तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए।
सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइँदैछ। विभिन्न कार्यक्रम गरी सगरमाथामा मानव पाइला परेको ७०औँ वर्षगाठ मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ।
दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको मूल आयोजक समिति गठन गरिएको छ। कार्यक्रमअनुसार सोमबार बिहान ठमेलबाट प्रभातफेरीपछि नेपाल पर्यटन बोर्डमा औपचारिक समारोह आयोजना गरिएको छ। ठमेलस्थित कर्मचारी सञ्चयकोषबाट प्रख्यात आरोही तथा पर्यटन व्यवसायी एवं सरकारी निकायका प्रतिनिधिहरू सहभागी प्रभावतफेरी भृकुटीमण्डपस्थित बोर्डको हलमा आएर सभामा परिणत भएको थियो।
कार्यक्रममा कीर्तिमानी तथा विभिन्न आरोहीलाई पदक प्रदान गरिने कार्यक्रम छ। सगरमाथा आरोहणको ७० वर्ष पुगेको उपलक्षमा पहिलोपटक आरोहीलाई पदक प्रदान गर्न लागिएको एनएमएका महासचिव मोहन लम्सालले जानकारी दिए। “सगरमाथा आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीलाई पहिलोपटक पदकसहित सम्मान गर्दैछौँ,” उनले भने।

यसैगरी सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमअन्तर्गत सोलुखुम्बुको खुम्जुङ र काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ। एनएमएका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाका अनुसार खुम्जुङमा हुने विशेष कार्यक्रममा तेञ्जिन शेर्पा र हिलारीका परिवारलाई सम्मान गर्ने कार्यक्रम छ।
खुम्जुङको औपचारिक कार्यक्रम सकेर एनएमएले काठमाडौँमा छुट्टै कार्यक्रम आयोजना गर्नेछ। जुन १ तारिखमा काठमाडौँमा कार्यक्रम गरिने छ। आरोहीको सम्मानमा र्याली, सम्मान र रात्रिभोजलगायतका कार्यक्रम गरिनेछ।
हिमालबारे जानकारसमेत रहेका आङछिरिङ शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा प्रवर्द्धन गर्न उपयोगी हुने बताए। उनले भने, “सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटनमा केही न केही हलचल ल्याउनेमा विश्वास छ।”

नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठवटा हिमाल छन्। हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। आरोहणका क्रममा ३०० भन्दा बढीको निधन भइसकेको छ।
सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँ–नयाँ कीर्तिमानसमेत थप्दै आएका छन्। कामीरिता शेर्पाले २८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन्। उनले वसन्त ऋतुको जारी आरोहणमा सगरमाथाको दुईपटक क्रमशः जेठ ३ गते र जेठ ९ गते गरेका छन्। यस्तै पासाङ दावा शेर्पाले यही याममा सगरमाथाको २७ पटक आरोहण गरे। उनले पनि यही याममा दुईपटक आरोहण गरे।

दुवै खुट्टा नभएका हरि बुढामगरले यसै सिजनमा सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाए। यही जेठ ५ गते सगरमाथाको चुचुरोमा पुगेर बुढामगरले कीर्तिमान बनाएका हुन्।
पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा हालसम्म ६०० भन्दा बढीले सगरमाथाको आरोहण गरेका छन्। यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट शुरू भएको थियो। यो यामको सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन्। विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका १०३ महिला र ३७६ पुरुष गरी कुल ४७८ आरोहीले आरोहण अनुमति लिएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
