फरक क्षमताकी सिर्जनाले, भाग लिएका पाँच अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामध्ये तीनमा पदक जितेकी छन्। नौ महिनादेखि एशियाडको तयारीमा जुटेकी उनले स्वर्ण जित्ने अपेक्षा गरिएको छ।
काठमाडौँ– “तिम्रो छोरीको हात अरूको जस्तो ठिक अवस्थामा छैन। त्यसमाथि उनी त छोरी मान्छे! उसले सक्दै सक्दैन। किन पुरूषले खेल्ने खेल खेलाउँछौँ?” आफन्तहरूले सुन्तली घिसिङलाई पटकपटक भनिरहन्थे।
आमाको मन नै त हो। बारम्बारको घोचपेचले बेलाबेलामा झस्काइरहन्थ्यो। अनि त्यही कुरा मनमा लिँदै छोरी सिर्जनालाई भन्थिन्,“अरूले छोरीलाई यस्तो खेलाउनु हुँदैन, तिमीले खेल्न पनि सक्दैनौँ भन्छन्। नखेल, छाडिदेउ।”
तीन छोरी र एक छोरामध्येकी माइली सन्तान हुन्, सिर्जना। परिवारको आर्थिक स्थिति नाजुक, त्यसमाथि ठूलो परिवारमा जन्मेकी उनले आमाको काखमा गुटमुटिएर धेरै समय खेल्नै पाइनन्। गाउँघर, मेलापात, उकालोओरालो अनि घरगोठालो गर्नैपर्ने बाध्यतामा अल्झेकी थिइन्। त्यसैमा रूमलिँदा सिर्जनाले अप्रत्यासित घटनाबाट गुज्रिनुपर्यो। उनले बायाँ हातको नाडीदेखि तल हात गुमाइन्।
“गरिब परिवारमा हुर्केको मान्छे। मम्मी घाँसदाउरामा जानुपर्ने, बच्चा हेरेर बस्न नपाउने। उहाँ गोठमा जानुभएको बेला आगोमा परेर हात यस्तो भएको हो रे,” सिर्जना सुनाउँछिन्। जन्मेको ६ महिनामा भित्ता समातेर हिँड्ने भइसक्दा नै उनको संघर्ष शुरू भएको हो। कतै छोरी लडिहाल्छेकी भन्ने पीरले सुन्तलीलाई दिनहुँ सताइरहन्थ्यो।
यस्तै पीरले त्यस दिन सुन्तलीले सिर्जनाको खुट्टा बाँधिन् र ओछ्यानमा सुताएर आधी घण्टा टाढाको गोठमा पुगेकी थिइन्। यता घरमा सिर्जना कसरीकसरी ओछ्यान नजिकै रहेको अँगेनामा पुगिछन्। उनको हात आगोमा पर्यो। आगोले हातै गुम्यो।
“गाउँमा अहिलेको जस्तो ग्यास हुँदैन थियो, दाउरा नै बाल्ने हो। कतै हिँड्छ भनेर मम्मीले दुवै खुट्टा बाँधेर सुताउनु भएको थियो रे,” उनी भावुक हुँदै भन्छिन्, “एउटा दशा नै भन्नुपर्छ, खै कसरी आगोसम्म पुगेछु।”
७ महिनामै छोरीको हात गुमाउनुको पीडा त सुन्तलीलाई छँदै थियो, त्यसमाथि आफन्त र छिमेकीले बेलाबेला गर्ने घोचपेचले मन कुडिन्थ्यो। तर, किन त्यसो भन्छन् विद्यालयको आँगन नटेकेकी सुन्तलीले कहिल्यै बुझ्न सकिनन्। उमेर बढ्दै गयो। सिर्जना बुझ्ने भइन्।

आफ्नो शारीरिक अशक्ततालाई भुलेर उनी बारम्बार अगाडि बढ्ने कोशिश गर्थिन्। बच्चैदेखि कराँते र तेक्वान्दोमा रूचि थियो। उनी दुई महिनासम्म प्रशिक्षणमा पनि गइन्। तर, घोचपेच गर्नेको कमी भएन। त्यसैले सिर्जनालाई पनि लाग्न थाल्यो, 'म साँचै अरूले भनेको जस्तो फरक क्षमताको पो रहेछु। त्यसैले नसक्ने रहेछु।'
मन लागे पनि उनले तेक्वान्दो खेल्न छाडिन्। तर, आफन्तको ती वचनबाणलाई भने उनले इखको रूपमा लिन थालिन्। अनि आफन्तबाट पर गइन् र केही गर्न सक्छु भन्ने हिम्मत गरिन्। बच्चाबेला देखाएको त्यही हिम्मतले अहिले उनी पारा तेक्वान्दो खेलाडी बनेकी छन्।
उनी अहिले चीनको हाङ्झावमा हुने १९औँ एशियन गेम्स (एशियाड) अन्तर्गत पारा तेक्वान्दोको के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ तौल समूहमा प्रतिस्पर्धा गर्ने तयारी गर्दै छन्। “आफन्तबाट पर गएपछि त्यस्तो केही सुन्न परेन। मम्मीले पनि जे गर्न सक्छ्स् त्यही गर भन्नुभयो। अनि मैले तेक्वान्दोमै करिअर खोज्दै गएँ,” उनी भन्छिन्।
मकवानपुरकी सिर्जना उमेरले भर्खरै २४ टेकेकी छन्। तर, पाँच वर्षअघि उनको दैनिकी अलिक भिन्न थियो। आर्थिक समस्याको पिरलो थियो। त्यति नै बेला बाबुले अर्कै बिहे गरेर अलग्गिए। त्यसपछि उनले दोस्रो लडाइँ पेट पाल्नका लागि गर्नुपर्यो।
उनका दाइ र दिदीहरूले विद्यालय जाने अवसर कहिल्यै पाएनन्। तर, सुन्तलीले छोरी सिर्जनाभित्र लड्ने दरिलो अठोट देखेकी थिई होला, त्यसैले उनलाई विद्यालय जान रोकतोक कहिल्यै गरिनन्। विद्यालयमा आर्जेको ज्ञानले सामाजिक परिवेशसँग लड्ने र आफ्नो सपनालाई बिपनामा परिणत गर्ने साहसमा उनलाई थप बल पुग्यो।
“पारिवारिक स्थिति कमजोर भएपछि नौ कक्षामा पढ्दैगर्दा नै फाइनान्समा मार्केटिङको जागिर गर्न थालेँ। त्यहाँ रत्नकाजी सर हुनुहुन्थ्यो। उहाँ आफैँले तेक्वान्दो खेलाउनु हुन्थ्यो। उहाँले तिमीजस्तै अरू खेलाडी पनि छन् भनी सम्झाएर मनिराज गुरूको डोजाङमा लिएर जानुभयो,” उनी भन्छिन्। खुमलटारमा रहेको तेक्वान्दो डोजाङमा उनलाई मनिराज विष्ट खेलाउन तयार भए।

डोजाङमा अरु शक्त खेलाडी देखेर सिर्जना खेल्न हिचकिचाइन्। उनलाई छोडौँछोडौँ लाग्यो। तर, मनिराजले छोड्न दिएनन्। केही समय खेलेपछि मनिराजले राष्ट्रिय टोलीमा पठाउने निधो गरे। नेपालमै आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगीलाई सिर्जनाको बारेमा सुनाए।
नेगी त्यतिखेर पलेशा गोबद्धनसहित केही पारा तेक्वान्दो खेलाडीलाई स्वयंसेवका रूपमा प्रशिक्षण दिइरहेका थिए। उक्त कुरा सुनेपछि नेगी थप उत्साहित बने। उनले मनिराजलाई भने, “खेल्न चाहन्छिन् भने पठाइदिनु न त।”
नेगी सम्भावना बोकेका तेक्वान्दो खेलाडी थिए। सेनामा जागिर खाने इच्छा, होचो कदले साथ दिएन। उनले क्योरुगी (स्प्यारिङ)मा पनि अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्न सकेनन्। त्यसपछि उनले आफ्नो प्रतिभा अरूको सेवामा समर्पित गर्न थाले।
सन् २०१४ मा नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो टोली बनायो। त्यति बेला उनीसँग एक पारा तेक्वान्दो खेलाडी यादव कुँवर थिए। पछि रञ्जना धामी, सीता भण्डारी र पलेशासहित धेरै खेलाडी थपिए। उनी पाराको दोस्रो पुस्तालाई प्रशिक्षण गराइरहेका थिए।
नेगीकहाँ मनिराजले सिर्जनालाई पठाइ हालेनन्। सिर्जनालाई अलिक पोलिस गर्नुपर्छ झैँ लाग्यो। उनले नेगीलाई भने, “खेलाउन चाहन्छौ भने केही समयपछि पठाइ दिउँला नि त।” त्यसको करिब ६ महिनापछि सिर्जनाले नेगीसँग प्रशिक्षण गर्न थालेकी हुन्। अनि यहीँबाट अन्तर्राष्ट्रिय खेलाडी बन्ने सपना उनले देख्न थालिन्।
“कविराज गुरूसँग खेल्न थालेपछि अन्य खेलाडी पनि आफैँजस्तो देखेँ। त्यसैले शुरूमा जस्तो असजिलो लागेन। यहाँ अरु खेलाडी देख्दा मलाई झन् मिहिनेत गर्नुपर्छ भन्ने प्रेरणा मिल्यो। पलेशा गोबद्धनबाट पनि केही सिक्न पाइयो,” प्रफुल्लित हुँदै उनी भन्छिन्।

प्रशिक्षण थालेको एक वर्षपछि नै सिर्जनाले जापानको टोकियोमा आयोजित पारा ओलम्पिक्समा सहभागी हुने मौका जुरेको थियो। वरीयतामा रहेका, छनोट खेल खेलेका र ‘वाइल्ड कार्ड’मार्फत् पारा ओलम्पिकका लागि खेलाडी छानिन्थे। छनोटका लागि सिर्जनाको नाम पनि दर्ता थियो। तर, उक्त छनोट प्रतियोगिता कोरोनाका कारण अनिश्चित बन्यो। त्यसपछि पलेशाले ‘वाइल्ड कार्ड’मार्फत् प्रवेश पाइन्।
प्रशिक्षक नेगीलाई भने भर्खरै प्रशिक्षण थालेकी सिर्जनालाई विश्वस्तरीय खेलाडीसँग रिङमा उतारिहाल्न उचित लागेन। उनले त्यसभन्दा अगाडि पारा तेक्वान्दोको कुनै प्रतियोगितामा प्रतिस्पर्धा गरेकी पनि थिइनन्। त्यसैले नेगीले दुई वटा विश्व पारा तेक्वान्दो च्याम्पियनसिप र तीन वटा एशियन पारा तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिसकेकी अनुभवी खेलाडी पलेशासँगै बन्द प्रशिक्षणमा राखे।
तर, उक्त प्रतियोगिता कोरोनाको कारण दुई वर्ष पर धकेलियो। सिर्जनालाई पनि नेगीले पलेशाको सहयोगी बनाएर पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न टोकियो लगेका थिए। त्यसको केही महिनापछि सिर्जनाले पनि अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यू’ गर्ने पक्का भयो। उनको पहिलो प्रतिस्पर्धा नै बहराइनमा आयोजित चौँथो एशियाली पारा युथ गेम्स–२०२१ भयो। उनले के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ तौल समूहमा थियो। तर, फाइनलसम्म पुगेकी उनी उपाधि भिडन्तमा इरानकी शहर घन्बरी कोमिसानीसँग १८–० अंकसँगै नराम्ररी पराजित भइन्।
“त्यो प्रतियोगिताअघि म धेरै नर्भस थिएँ। तर, म धेरै आत्मविश्वासी र मिहिनेति हुँ। म त्यहाँ खेल्न मात्र गएको थिइन्। पदक ल्याउँछु भन्ने आस थियो। त्यो पूरा पनि भयो,” उनी भन्छिन्। घिसिङले इरानमा भएको आफ्नो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता डब्लूटी प्रेसिडेन्ट कप एशिया रिजन–२०२२ मा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ तौल समूहमा पनि रजत नै जितिन्।
नेपालबाट एक्लो सहभागी सिर्जनाले क्वार्टरफाइनलमा आयोजक इरानकी सहर घन्बरी कोमिसानीलाई ५–३ अंकले पराजित गर्दै सेमिफाइनल तय गरेकी थिइन्। सेमिफाइनलमा सिर्जनाले टर्कीकी मर्येम बेतुल कभ्दरलाई ११–१० अंकले हराइन्। त्यसपछि आयोजक इरानकै फतेमेह दोदान्घेसँग फाइनल खेलेकी थिइन्। फाइनलमा सिर्जना ३३–११ अंकले पराजित हुँदै रजत पदकमा चित्त बुझाइन्।
तर, सोही वर्ष साउदीको रियादमा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स–२०२२ मा भने उनले नसोचेकै उपलब्धी हासिल गरिन्। क्वाटरफाइनलमा विश्व वरीयताको दोस्रो स्थानमा रहेकी मेक्सिकोकी जेसिका क्वीजानोलाई प्रतिस्पर्धात्मक खेलमा ८–७ अंकका आधारमा पराजित गरेकी उनले सेमिफाइनलमा तेस्रो वरीयताकी ब्राजिली खेलाडी क्रिष्टियन नासिमेन्तोलाई १५–१३ अंकका आधारमा हराउँदै फाइनलमा स्थान बनाइन्।
फाइनल खेलमा उनको भेट टर्कीकी क्याभडर मेरयेम बेटुलसँग भयो। विश्व वरीयताको शीर्ष स्थानमा रहेकी उनले विश्व पारा च्याम्पियन, युरोपेली पारा च्याम्पियन र प्यारा ओलम्पिकमा रजत पदक जितिसकेकी थिइन्। तर, विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा भने उनी वरियतामा १४औँ स्थानमा रहेकी सिर्जनासँग १२–० अंकले पराजित भइन्।
नेपाली पारा तेक्वान्दो खेलाडीले ग्राण्ड प्रिक्स फाइनल खेलेको यो नै पहिलोपल्ट थियो। त्यसैले फाइनलअघि सिर्जनालाई डर लाग्नु स्वभाविक नै थियो। उनी प्रशिक्षक नेगीसँग आफूले खेल्न नसक्ने बताइरहेकी थिइन्। तर, रिङमा उत्रिएपछि उनले सबैलाई आश्चर्यमा पार्ने ऐतिहासिक स्वर्ण जितिन्।
“डर त लागिहाल्छ। तर, गुरूले मलाई तिमीजस्तै नयाँ खेलाडी हो। हराउन सक्छस् भन्नुभएको थियो। त्यसपछि मलाई पनि आँट आयो,” उनी सुनाउँछिन्,“मलाई खेल जितेपछि पनि थाहा थिएन उनी को थिइन्।”
विश्व ग्राण्ड प्रिक्स खेल्न वरीयताको शीर्ष आठमा रहेका खेलाडीले मात्रै पाउने हो। यो प्रतियोगिता खेल पेरिसमा ग्राण्ड प्रिक्सको सिरिज छिचोल्न पर्ने थियो।
त्यतिखेर कोरोना महामारी चल्दा उक्त सिरिजमा सिर्जनाले सहभागिता जनाउन पाइनन्। प्रशिक्षक नेगीलाई पनि विश्व ग्राण्ड प्रिक्समा आफ्ना खेलाडीले सहभागिता जनाउन पाउँदैन झैँ लागेको थियो। तर, प्रतियोगिता खेल्ने अन्य देशका खेलाडीले नाम फिर्ता लिँदा नेपालका खेलाडीको लागि अवसरको ढोका खुल्यो। प्रशिक्षक नेगीलाई पलेशाबाट एक पदकको आस थियो तर सिर्जनाबाट भने त्यस्तो केही आस थिएन। उनी सिर्जनालाई ‘एक्सपोजर’ दिलाउन चाहान्थे।
तर, भइदियो उल्टो। के–४४ कै ५७ केजीमूनि तौलसमूहमा सहभागी पलेशा क्वाटरफाइनलमै इरानकी इव्राहिमी रोजासँग ८–२ अंकका आधारमा पराजित हुँदै बाहिरिइन्। यता, सिर्जनाले भने स्वर्ण दिलाइदिए। “विश्व नम्बर ‘वान’ खेलाडीले धेरै किक प्रहार गरेको थियो। तर, सिर्जनाले राम्रो ‘ब्लकिङ’ गरिन्। मैले बाहिरबाट उनलाई बारम्बार निर्देशन दिइरहेको थिएँ,” उनी भन्छन्, “रिङ आउट हुन लाग्यो भन्दा उसले आफूलाई सम्हाल्थिन्, अट्याक गर भन्दा अट्याक र ब्लक गर भन्दा ब्लक गर्थिन्।

उसले मैले भने अनुसार नै गर्यो र दिमाग लगायो। त्यसैले १२–० को फराकिलो जित निस्कियो। यो उसले देखाएको साहस थियो। हुन त नेगी आफूलाई पारा तेक्वान्दोको भाग्यमानी प्रशिक्षक ठान्छन्। नठानुन् पनि किन! उनले प्रशिक्षणबाट उस्तै गर्विलो इतिहास बनाएका छन्। पारामा हालसम्म नेपाललाई आधा दर्जनभन्दा बढी पदक दिलाउने प्रशिक्षको सूचीमा उनको नाम अग्रस्थानमै छ।
पारा तेक्वान्दोले प्राप्त गरेको यो हालसम्मकै सबैभन्दा ठूलो सफलता हो। यसअघिका प्रशिक्षक कल्यान कुमार र राजेन्द्र खड्कीलगायतले यस्तो सफलता हासिल गर्नै सकेका थिएनन्। पारा तेक्वान्दोमा पाँच वर्ष बिताएकी सिर्जनाले सहभागिता जनाएको पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये तीनमा पदक ल्याउँदा प्रशिक्षक नेगीको भूमिका अह्म नै मान्नुपर्छ।
उनको प्रशिक्षणमा सिर्जनाले विश्व ग्राण्ड फिक्समा स्वर्ण जितेसँगै वरीयतामा ७ स्थान सुधार गरिन्। त्यही वरियताको आधारमा सिर्जना एशियाडमा स्वतः छनोट भएकी हुन्। ९ महिनादेखि एशियाडकै लागि भनेर सिर्जना सातदोबाटोस्थित तेक्वान्दो संघको हलमा प्रशिक्षण गरिरहेकी छन्। यसपटक पनि नेगीलाई सिर्जनाबाट स्वर्णकै आस छ।
“पहिलादेखि नै सिर्जनामा आत्मविश्वास राम्रो थियो। दुःख पाएकी खेलाडी हुन्। उनमा इख छ र संघर्ष गरेर आएको भएर उसमा आफ्नो लागि केही गर्नुपर्छ भन्ने दृढता छ। आत्मविश्वास बलियो छ र खेल्दै गएपछि अचानक एग्रेसिभ हुने गुण पनि उनीमा छ। नेगी भन्छन् “त्यसैले यसपटक उनीबाट मलाई स्वर्णको आस छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
