उनीहरू माइतीघरबाट राज्यसँग कैयौँ प्रश्न गर्दै रुकुम हत्याकाण्ड सम्झेर फर्किए। राज्यबाट न्याय खोज्ने आफूहरूको साझा संघर्ष जारी रहेको जनाउ उनीहरूले सँगै उभिएर दिए।
काठमाडौं– काठमाडौँको माइतीघर मण्डल बुधबार दिउँसो आन्दोलनको हाटबजार जस्तै बनेको थियो। कवि विनोदविक्रम केसी चर्को घाममा दुई हातले एउटा पोष्टर बोकेर उभिएका थिए। कविता सुनाउन छाडेर उनले पोष्टर किन बोकिरहेका होलान्? जवाफमा केसीले बोकिरहेको पोष्टर देखाए जसमा लेखिएको थियो, “बाजा मेरै, गीत मेरै, आरन मेरै, औजार मेरै, श्रम मेरै हो भने संसार पनि मेरै हो।”
त्यहाँ उनीजस्ता दजैनौँ थिए, जसले माइतीघरमा उभिएर राज्यसँग कैयौँ प्रश्न गर्दै रुकुम हत्याकाण्ड सम्झेर फर्किए। राज्यबाट न्याय खोज्ने आफूहरूको साझा संघर्ष जारी रहेको जनाउ उनीहरूले सँगै उभिएर दिए।
रुकुम हत्याकाण्डको तीन वर्ष पुगेको दिन, काठमाडौँमा भइरहने आन्दोलनको केन्द्र बनेको माइतीघरमा उक्त कार्यक्रम भएको हो। प्रतिरोध जनअधिकार आन्दोलन, पुष्पलाल ज्ञानशाला र सुसेला संगीत समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा ‘जात व्यवस्था मुर्दावाद, रुकुम घटनाका पीडितलाई न्याय दे, हामी पनि मान्छे हौँ’ लगायतका नारा बनाएर रुकुम हत्याकाण्डमा परेका ६ युवाको सम्झना गरिएको थियो।
तीन वर्षअघि, २०७७ जेठ १० गते रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहित ६ युवाको हत्या भएको थियो। त्यसैको सम्झना गर्न जात व्यवस्था विरोधी जनमत बनाउन लागिपरेकाहरू माइतीघरमा जम्मा भएका थिए।
त्यस अवसरमा लेखक तथा अभियन्ता खगेन्द्र संग्रौलाले रुकुम घटनालाई हिन्दु जात व्यवस्थामा लागेको सबैभन्दा ठूलो कलंकको संज्ञा दिए। उनले भने, “रुकुम घटना यस्तो कलंक हो, जसलाई कुनै पनि साबुनले धोएर धुन सकिने छैन। त्यो यस्तो दुर्गन्धित कलंक हो जसलाई कुनै पनि अत्तरले पखाल्न सक्ने छैन।” यो मानिसले नभई कलंकले गर्ने काम भएको उनले बताए।
अघिल्लो वर्ष जाजरकोटको भेरी नदीमै पुगेर ‘भेरी प्रतिरोध मार्च’मा सहभागी भएका संग्रौला नेपाली समाजको चरित्रबारे भन्छन्, “त्यो समाज असभ्य हो जहाँ प्रेमका नाममा मान्छे मारिन्छ। नवराज मात्र होइन, नेपालको इतिहासमा प्रेमको मामलामा धेरै युवायुवती मारिएका छन्, नवराजभन्दा यता पनि मारिएका छन्। हामी यति घोर असभ्य समाजमा बसेका छौँ जहाँ व्यक्ति व्यक्तिबीचको छुवाछुत मान्छेको ज्यान लिने गरी जीवित छ।”
अझै पनि न्यायको आवाजलाई दमन गर्न सत्तामा भएका, आफूलाई क्रान्तिकारी भन्ने अभिनय गरिरहेकाहरूले चेस्टा गरेको संग्रौलाको टिप्पणी छ, “जसले ती युवाको हत्या गरे तिनीहरू अत्यन्त निन्दनीय छन्। हत्याका प्रमाण र न्यायको आवाजलाई दबाउन चेष्टा गरिरहेकाहरू सत्तामा होऊन् या सत्ता बाहिर, तिनीहरूको जति निन्दा गरे पनि कम हुन्छ।”
माइतीघरको कार्यक्रममा स्वतन्त्र अध्ययन समूहका सदस्य राम नेपालीले रुकुम पश्चिम नरसंहार योजनाबद्ध रूपमा भएको बताए। उनले भने, “त्यहाँका जनप्रतिनिधि, युवतीका आफन्त लगायतको योजनामा उक्त घटना घट्यो। सामूहिक नरसंहार भयो। त्यो नरसंहारको न्याय निरूपण गर्ने कार्य अझै अपुरो छ।”
ती ६ युवाको हत्या गर्ने, घटनाका दोषीलाई संरक्षण गर्ने, उनीहरूलाई कानूनी दायरामा ल्याउन ढिला गर्ने, गम्भीर अपराधलाई सामान्यकरण गर्ने र पीडकलाई छुटकारा दिने सबै काम राज्यले गरेको नेपालीको आरोप छ। “अपराध गर्नेलाई छुटकारा दिने राज्य सत्ताबाट अझै पनि अनेक प्रपञ्च भइरहेको छ,” उनले भने।

यस्तै, अभियन्ता ललित रावलले नवराजहरूको न्यायका लागि आफूहरू लडिरहेका बताए। रुकुम हत्याकाण्डका पीडितले अहिले पनि न्याय नपाएको र त्यसका लागि आफूहरू संघर्षको मैदानमै भएको उनको भनाइ छ। कार्यक्रममा कवि देव व्रत, सुस्मिता केसीलगायतले कवितामार्फत् रुकुम हत्याकाण्डलाई सम्झेका थिए। सुसेला संगीत समूहले गीतमार्फत् रुकुम घटनालाई याद गरेको थियो।
रुकुम हत्याकाण्डकै मुद्दामा विभिन्न ठाउँमा कार्यक्रम भइरहँदा छरिएका सबै आवाजहरूलाई एकमुष्ट गर्न आवश्यक रहेको लेखक संग्रौलाको बुझाइ छ। उनी भन्छन्, “जातीय कलंकको मुद्दा मासेर नेपाली समाजलाई समानता र सभ्यताका आधारमा उभ्याउन छरिएर हुँदैन, एकत्रित हुनु आवश्यक छ।”
नेपाली समाजलाई सभ्य बनाउने बाटोमा आफूहरू लागिरहेको उनले बताए। जात प्रथा, लिंग भेद र क्षेत्र भेदमा रुमलिएका कारण नेपाली समाज असभ्य भइरहेको बताउँदै संग्रौलाले भने, “विभेदका सबै पर्दा र पर्खालहरू भत्काएर समाजमा समानताको जग उभ्याउने जिम्मेवारी हामी सबैको काँधमा छ। त्यो प्रक्रियामा निरन्तर प्रयत्नशील छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
