सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणामा जोडिएका पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाँणसहित ३० जनाविरुद्ध चार वटा कसुरमा मुद्दा दर्ता गरेको छ।
काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार काठमाडौँ जिल्ला अदालतमा ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
उनीहरूविरुद्ध चार वटा कसुरमा मुद्दा चलाइएको जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले जानकारी दिएका छन्। उनीहरूविरुद्ध सरकारी कागजात कीर्ते, ठगी, राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको छ। साथै, एकीकृत कसुरमा पनि मुद्दा हालिएको छ। चार वटै कसुर प्रमाणित भए एकीकृत कसुरमा समेत कारबाही चल्छ।
सरकारी वकिलको कार्यालयले टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई, टेकनाथ रिजाल, टेकनारायण पाण्डे र शमसेर मियाँविरुद्ध भ्रष्टाचार र सम्पत्ति सुद्धीकरणमा पनि थप अनुसन्धानका लागि लेखी पठाएको छ। यस मुद्दामा कुल बिगो २८ करोड ८४ लाख ७४ हजार ५०० माग दाबी गरेर मुद्दा दायर गरिएको छ।
खत्रीका अनुसार काठमाडौँ जिल्ला अदालतमा २२४ पृष्ठको अभियोगपत्र दर्ता गरिएको छ। अनुसन्धानका क्रममा नाम आएका, तर प्रमाण नभेटिएका हकमा अनुसन्धानलाई जारी राख्ने र पछि प्रमाण भेटिएको खण्डमा पक्राउ गरी मुद्दा चलाउने गरी अनुसन्धान खुला राखिएको उनले बताए।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वसभासद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायत पक्राउपछि प्रहरी हिरासतमा छन्। शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ पनि पक्राउ परेका छन्।
त्यस्तै तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन्। उनीहरू सबैविरुद्ध मुद्दा चलाइएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजिएको प्रकरणमा करिब दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रतिवेदन मंगलबार बिहान सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।
गत चैत १२ गते भुटानी शरणार्थीको नाममा परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका थिए। उनीहरूले सयौँ नेपालीलाई शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम उठाएर ठगी गरेको खुलेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले पक्राउ गरेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। प्रारम्भिक चरणमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट खुल्न आएका आरोपितमध्ये मोरङका दुलाल, ललितपुरका भण्डारी र पाँचथरका टंक गुरुङलाई पक्राउ गरिएको थियो।
त्यसको तीन दिनपछि चैत १५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ पक्राउ परेका थिए। अनुसन्धानबाट खुल्दै आएका आरोपितहरूमध्ये भागेर भारत पुगेका दाङका शर्मा पनि सोही दिन पक्राउ परे। भारतको पन्जाबमा लुकेर बसिरहेका शर्मालाई प्रहरीले चैत २९ गते नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो।
पक्राउ परेकाहरूविरूद्ध संगठित ठगीमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गर्दै जाँदा वैशाख १९ गते तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा. राई पक्राउ परे। त्यसको भोलिपल्टै उपराष्ट्रपति कार्यालयमा कार्यरत तत्कालीन गृहसचिव पाण्डे र एमाले सचिव रायमाझीका छोरा सन्दीप समातिए।
प्रहरीले बैशाख २६ गते गिरोहका सदस्यहरू रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गर्यो। पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता खाँण र गृहमन्त्रीकालमा उनको स्वकीय सचिव रहेका नरेन्द्र केसी वैशाख २७ गते बिहान पक्राउ परे। त्यसपछि रायमाझी, रिजाल, मियाँलगायत पनि पक्राउ परेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
