पढ्दापढ्दै वैदेशिक रोजगारीमा दक्षिण कोरिया गएर घर आएका राजु स्वदेशमै रोजगारी सिर्जना गर्छु भनेर लागे। अहिले हावाहुरीले विनाश बनाएको कागतीको बगैँचा देखेर उनको मन बिथोलिएको छ।
काठमाडौँ– राजु रेग्मी जेठ सकिनासाथ असार महिनामा २५ लाख जति कमाउने आशा गर्दै थिए। बारीमा रहरलाग्दो गरी फलेका सुनकागती हेर्दै उनले यो आकलन गरेका हुन्।
२६ रोपनी जमिनमा फलेका कागती तेस्रो वर्षमा आइपुग्दा यति राम्रो गरी फलेका थिए कि उनलाई आफ्नो परिश्रम र मिहिनेत साकार भयो भन्ने लागेको थियो।
कागतीको बोट हुर्किएपछि पहिलो पटक फल दिँदा ३ लाख, दोस्रो वर्ष ७ लाख कमाएका उनलाई यो वर्ष बारीमा फलेको कागती देख्दा २५ लाखभन्दा बढी नै कमाइ हुन्छ भन्ने निश्चितजस्तै थियो।
झन्डै ८ महिना लामो खडेरीपछि गत शनिबार ६ गते साँझ ५ बजे ठूलो हावाहुरी आयो। “एकै दिनको घटनाले तहसनहस भयो,” निराश र चिन्तित ३६ वर्षीय राजु रेग्मीले उकालोसँग भने, “हावाहुरीले मेरा सबै सपना चकनाचुर बनाइदियो, सबै बोट क्षतविक्षत बनाइ दिएको छ। मैले गरेको लगानी उठ्नेमा म पक्का थिएँ।”
उनी यतिसम्म निराश भएका छन् कि कुराकानीमा उनले भने “म त अब पलायन हुने अवस्थामा पुगेँ। फेरि झोलातुम्बी कसेर विदेश नै जानुपर्ला जस्तो भयो।”
उनले २०७३ साल असारदेखि कागतीखेती शुरू गरेका थिए। यति बेला उनको फार्ममा १ हजार सुनकागतीका बोट छन्।

आइतबार बिहानै कृषि ज्ञान केन्द्रका प्रमुखसमक्ष जानकारी दिन पुगेका थिए राजु रेग्मी, हावाहुरीले पुर्याएको क्षतिपूर्तिबापत सरकारले केही दिन्छ कि भनेर।
सोमबार कागतीबारीमा पुगेका प्रमुख कुलप्रसाद तिवारीले उकालोलाई भने “३५ प्रतिशतभन्दा बढी झन्डै ४ सयको हाराहारीमा कागतीका बोटमा ढलेका तथा भाँच्चिएका छन्, त्योबाहेक हुरीले बोटमा लागेका ८५ प्रतिशत फल भुईँभरि झारेको छ।
“स्वदेशमा उद्यम गर्छु, रोजगारी सिर्जना गर्छु भन्नु मूर्खताजस्तै भएको छ, हावाहुरीले पुर्याएको क्षति सहन नसकिने खालको छ,” प्रमुख तिवारीले आफ्नो फेसबुक स्ट्याटमा उल्लेख गरेका छन्।
उनी जिल्लाकै अगुवा किसान थिए। सुव्यवस्थित र मल्चिङ प्रविधियुक्त उनले लगाएको सुनकागतीको बिरुवा हेरचाहमा कुनै कमी हुन दिएका थिएनन्। उनको कामलाई जिल्लामा उदाहरणका रूपमा लिइन्थ्यो।
तनहुँ दमौली बजारबाट छाब्दीबराही जाने ३ किलोमिटर मोटर बाटोबाट ओर्लेर तीन किलोमिटर जति टाढा व्यास नगरपालिका १३ आशापानी भन्ने ठाउँमा उनको कागती फार्म रहेको छ।

हुन त, उनले फार्मलाई बीमा पनि गरेका छन्। कागतीका बोटमा पुगेको क्षतिबारे डुम्रेस्थित बीमा कम्पनीमा निवेदन पनि दिएका छन्। तैपनि उक्त निकायबाट स्पष्ट जवाफ पाउन नसक्दा उनी अन्योलमा छन्।
उनले उकालोलाई भने, “प्रुडेन्सल नामक कम्पनीमा बीमा गराएको थिएँ, उनीहरूलाई जानकारी गराउँदा भरखरै यो कम्पनी अर्को कम्पनीसँग मर्ज भएको छ। प्रष्ट धारण बनी नसकेको हुँदा फिल्डमा आउन नसक्ने भने।”
बीमा कम्पनीको यस्ता कुराले उनी झन् निराश बनेका छन्। कम्पनीले तस्वीरचाहिँ खिचेर राख्नु भनेको छ।
उनका अनुसार कागतीका ढलेका, लडेका, भाँचिएका सबै तह नलगाई त्यतिकै छाड्नु हुँदैन भुईँमा झरेका सबै फल तुरुन्तै उठाउनु पर्ने हुन्छ, नत्र कुहिएर बिरुवालाई हानि पुर्याउन सक्छ। “एक पटक आएर हेरिदिए, अहिले नै झरेको भाँचिएको भन्ने प्रमाण हुन्थ्यो। फेरि पछि के भन्ने हुन्” उनले चिन्ता व्यक्त गरे।
उनी कम्पनीले दिएको जवाफ सुन्दा क्षतिपूर्ति पाउँछु भन्नेमा विश्वस्त हुन सकेका छैनन्।
किसान रेग्मीले हुरीले पुर्याएको क्षति निरीक्षण गर्न आइपुगेका कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले आफूलाई ‘पलायन हुनुहुँदैन, अगुवा किसान हुनुहुन्छ, जिल्लाकै उदाहरणका रूपमा हुनुहुन्छ’, भनेर आश्वासन दिएको तर क्षतिपूर्तिका बारे केही नभनेको बताए।

प्रमुख तिवारीले उकालोलाई भने “हामी क्षतिपूर्ति दिँदैनौँ, त्यस्तो दिने सरकारी प्रावधान नै छैन।” तर उनले किसान र कृषि क्षेत्रलाई बचाउने हो भने क्षतिपूर्ति दिनुपर्ने व्यवस्था हुनुपर्ने, नत्र किसान ठूलो मर्कामा पर्ने बताउँछन्। उनले बीमा कम्पनी, कृषिसम्बन्धी निकायहरू, मन्त्रालय, निर्देशनालय, संघीय र प्रदेश सरकारले क्षतिपूर्तिको व्यवस्था गर्न अनुरोध गर्छु भने।
सुनकागतीले बाह्रैमास फल दिन्छ। उनले ‘हाइडेन्टीसिटी’ अर्थात् थोरै जमिनबाट धेरै उत्पादन लिन सकिने प्रविधि अपनाएर कागतीको बगैँचा बनाएका थिए।
उनको बगैँचामा तीन लटका फल्ने गरी कागती तयार भइरहेको थियो। असारमा बिक्री हुने गरी ६० प्रतिशत जति कागती तयार हुँदै थियो भने बाँकी केही साना दाना थिए र एकथरी बोटमा फूल खेल्दै थियो। उनले भने, “तीनै तहका कागतीको बोट हुरीले क्षतविक्षत पारेको छ।”
यसअघि नजिकैको शहर दमौली र पोखरामा उनको कागती बिक्री भएको थियो। तर यसपटक उनले कागती काठमाडौँ लैजाने तयारी गरिरहेका थिए।
स्याङ्जा पुतली बजार ठूला डिहीमा ०४४ सालमा जन्मेका उनी स्याङ्जामा १२ कक्षा पढेर पोखरा पृथ्वी नारायण क्याम्पस पढ्न आएका थिए। पढ्दै गर्दा २०६८ वैशाखमा वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका थिए।
कोरियाबाट ९ वर्षमा घर फर्केका उनी भिसाको म्याद भए तापनि स्वदेशमै बसेर रोजगारी सिर्जना गर्छु भनी कागती खेती शुरू गरेका थिए।

त्यसअघि उनकी पत्नीले कागती नै लगाएकी थिइन्। तर थोरै मात्र। २०७७ साल फागुनमा घर आएका उनी विदेश नगई आधुनिक र व्यवस्थित तरिकाले कागतीको खेती शुरू गरेका थिए। जमिन र प्रविधिबाहेक ३५ लाख रुपैयाँ लगानी गरेको उनी बताउँछन्।
उनका पिता उमाकान्त रेग्मी जागिरे छँदा तनहुँ बस्ने क्रममा केही जग्गा किनेर राखेका रहेछन्। त्यही जमिनमा कोरियाबाट कमाएर ल्याएको पैसाले जग्गा थपेका थिए।
“बुबा शिक्षा कार्यालयमा काम गर्नुहुन्थ्यो, २०४८ सालमा यहाँ जग्गा किन्नु भएको रहेछ। २०७३ सालमा स्याङ्जाबाट हामी तनहुँ आएका हौँ,” उनले भने, “पिताकै प्रेरणाले मैले कागती खेती गरेको हुँ।”
उनका पिता जागिरे छँदा कृषिमा निकै लगाव राख्थे। जागिरसँगै स्याङ्जामा सुन्तलाको बगैँचा बनाएका थिए। जागिरबाट अवकाश प्राप्त उनका पिता चार वर्षदेखि तनहुँमै कागतीबारीमा रमाइरहेको राजु रेग्मीले बताए।
“कागती खेतीबारे धेरै ज्ञान थिएन” उनी भन्छन् “ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी र सुन्तला फलफूल विज्ञ हरि सुवेदीको प्राविधिक सल्लाहमै कागतीको यति ठूलो बगैँचा बनाएको हुँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
