हिरासतमा बसेको १३ दिनपछि बालकृष्ण खाँणलाई भेट्न पुगिन् मञ्जु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको १३ दिनपछि बालकृष्ण खाणलाई उनकी पत्नी मञ्जुले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा भेट गरेकी छन्।

फाइल तस्वीर

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको १३ दिनपछि बालकृष्ण खाणलाई उनकी पत्नी मञ्जु खाँणले भेट गरेकी छन्। प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने दिन नै उनी भेट गर्न पुगेकी हुन्।

सोमबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा पुगेर मञ्जुले श्रीमानसँग भेट गरेको प्रहरी स्रोतले जनाएको छ। पूर्वगृहमन्त्री खाँणलाई प्रहरीले नक्कली शरणार्थी प्रकरणमा वैशाख २७ गते निवासबाट पक्राउ गरेको थियो। 

श्रीमान् पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन भएकी थिइन्। तर सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन जेठ ४ गते उनी संसद् बैठकमा उपस्थित भएकी थिइन्।

यस प्रकरणमा मञ्जुको नाम पनि मुछिएको थियो। तर, प्रमाण नपुगेको भन्दै अनुसन्धानको दायरामा ल्याइएको छैन। 

प्रहरीले यो प्रकरणको अनुसन्धान सकेर आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको थियो। तर, अन्तिम समयमा तयारी नपुगेको भन्दै प्रहरीले सोमबार मात्र बुझाउने जानकारी दिएको थियो।