गोसाईकुण्डमा दशहरा मेला शुरू, ५ हजार तिर्थयात्रीले दर्शन गर्ने अनुमान

गोसाईकुण्डमा दशहरा पर्वमा १० र जनैपूर्णिमामा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन विशेष मेला लाग्ने गरेको छ।

फाइल: तस्वीर

रसुवा– पवित्र तीर्थस्थल गोसाईकुण्डमा शनिबार १० दिने मेला शुरू भएको छ। गंगादशहरा पर्वअन्तर्गत आरम्भ भएको विशेष मेला भर्न आएका भक्तजनले बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा गरिरहेका छन्।

पहिलो दिन शनिबार भक्तजनले दिनभर नै कुण्डमा स्नान तथा विशेष पूजा गर्ने गर्छन्। समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुगेको धार्मिक मान्यता छ।

निलाद्री पर्वतअर्थात् गोसाईकुण्ड तीर्थ समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा छ। कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहेको स्थानीय पुरोहित टंकप्रसाद ढकालले बताए। कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जीवनमा एक पटक गोसाईकुण्ड पुग्नुपर्ने मान्यता छ।

उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गंगा पूजन गरी गोसाईकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुंगा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाईकुण्ड जानुपर्ने, कुण्डमा स्थान गरेर फर्किदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा पुण्य मिल्ने मान्यता रहेको ढकालले बताए।

शनिबार ५०० जनाले गोसाईकुण्डमा स्नान गर्ने र भक्तजन आउनेक्रम जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मिलन सापकोटाले जानकारी दिए। यहाँ दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वमा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन विशेष मेला लाग्ने परम्परा छ। यस वर्षको गंगादशहरा पर्वमा पाँच हजार भक्तजन गोसाईकुण्ड पुग्ने प्रक्षेपण गरिएको निकुञ्जले जनाएको छ।

यात्रुको चापलाई मध्यनजर राख्दै चन्दनबारी र लौरीविनायकमा बस्ने प्रबन्ध मिलाइएको होटेल व्यवसायी संघ रसुवाका अध्यक्ष रामशरण गजुरेलले बताए। हिमाली क्षेत्रमा उकालो चढ्दै जानुपर्ने भएका कारण काठमाडौँबाट एक दिन धुन्चे, भोलिपल्ट चोलाङपाटी वा लौरीविनायक बसेर तेस्रो दिन कुण्ड पुगेर स्नान गर्न सकिने उनको भनाइ छ।

बाँस र निगालोको मात्र लठ्ठी  प्रयोग गर्न र पोहोरलाई सुरक्षित स्थानमा फ्याँकेर संरक्षणमा सहयोग गरिदिन निकुञ्जले अनुरोध गरेको छ।