धरमराएको पाकिस्तानी अर्थतन्त्रलाई प्राकृतिक विपद्ले थप कमजोर बनाइदिएको छ।
जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा र आकस्मिक बाढीले आक्रान्त पाकिस्तानमा झण्डै १५ सय जनाले ज्यान गुमाइसकेका छन् भने ३ करोड ३० लाख मानिस प्रभावित भएका छन्। भारी वर्षा र भीषण बाढीका कारण घर, सडक, रेलसेवा, बालीनाली र जनजीवनमा नै क्षति पुगेको छ। पाकिस्तानको बाढीका कारण त्यहाँको अस्थिर अर्थतन्त्रमा थप दबाब परेको छ।
वर्षौंयताकै भयावह बाढीका कारण प्रभावित लाखौँ सर्वसाधारणलाई सहयोगका लागि तत्काल राहत र वैदेशिक सहायताको खाँचो छ। धरमराएको पाकिस्तानी अर्थतन्त्रलाई प्राकृतिक विपद्ले थप कमजोर बनाइदिएको संयुक्त राष्ट्रसंघ र बेलायतका लागि पाकिस्तानी राजदूत मलीहा लोधीको भनाइ छ।
पछिल्लो समय कमजोर बन्दै गएको पाकिस्तानी अर्थतन्त्र तलबसंकट, बढ्दो ऋण र मुद्रास्फीतिलाई सन्तुलनमा ल्याउन संघर्षरत छ। यस्तोमा पाकिस्तानले तत्कालै ऋण नपाए यहाँको आर्थिक जोखिम थप चुलिने राजदूत लोधीको चेतावनी छ।
पाकिस्तानी अर्थतन्त्रमा एक चौथाइ हिस्सा ओगटेको कृषि क्षेत्रमा ४० अर्बको भार थपिएको सरकारी अधिकारीहरूको भनाइ छ । ग्रामीण परिवारहरूको मुख्य आयस्रोत गाईपालन रहेकोमा ८ लाख गाई बाढीले बगाइदिएको छ। बाढीले बालीनालीमा क्षति नपुर्याएका किसानले समेत गाईवस्तुलाई आहारा पुर्याउनलाई हम्मेहम्मे परेको खबर बाहिरिएको छ।
पाकिस्तानभर बाढीका कारण ७० प्रतिशत चामल, मकै र प्याज नष्ट भएको जलवायुमन्त्री शेर्री रहमानको भनाइ छ। पाकिस्तान विश्वमै चौथो ठूलो चामल निर्यातकर्ता मुलुकसमेत हो। जसको ठूलो बजार अफ्रिका र चीनमा छ।
पाकिस्तानका अधिकांश घरमा गहुँको उपभोग भए पनि खेतीयोग्य जमिन डुबानमा पर्दा गहुँ बाली भित्राउन संकट छ। खाद्यान्न संकट र महँगीले सर्वसाधारणमा पीडा थपिएको छ। कोरोना महामारीका कारण विश्वभर नै खाद्यान्नको भाउ बढेको छ भने विश्वकै प्रमुख खाद्यान्न आपूर्तिकर्ता युक्रेनमा रुसी आक्रमणका कारण संकट थप बढेको छ। कपास उत्पादक मुलुकसमेत रहेको पाकिस्तानका कपडा उद्योगले अहिले कपास अभावको सामना गरिरहेका छन्।
यता, बाढीका बावजूद ऋण भुक्तानीमा नचुक्ने पाकिस्तानी अर्थमन्त्री मिफ्ताह स्माइलको भनाइ छ। विश्व बैंक, एसियाली संरचना बैंक र एसियाली विकास बैंकबाट ४ अर्ब डलरभन्दा बढी सहयोग आएको भन्दै अर्थमन्त्री स्माइलले बाह्य वित्तीय स्रोतहरू सुरक्षित रहेको बताए। साथै, यस वर्ष कतार, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरबबाट ५ अर्बको लगानी हुने उनले बताए।
तर, सरकारले खाद्यान्न र कच्चा पदार्थको खरिद गर्न आवश्यक भए पनि त्यहाँको विदैशिक मुद्रा सञ्चिती संकटअगावै कम हुँदै गएको छ। बाढीको विपद् पहिले २४ प्रतिशत मुद्रास्फीति रहेको पाकिस्तानमा अहिले केही वस्तुको मूल्य ५ सय प्रतिशतसम्म बढेको छ। सहायता निकायले हाल डुबानमा परेका क्षेत्रमा जनस्वास्थ्य र संरचना निर्माणमा सहयोग गर्ने बताएका छन्।
यता, मौसम विभागका अधिकारीहरूले थप केही दिन वर्षा जारी रहने र बाढी आउँदा थप हजारौँ मानिसहरू विस्थापित हुने जोखिम बढेको भन्दै सतर्क रहन आग्रह गरेका छन्। बाढीका कारण पाकिस्तानमा ३० अर्ब डलरभन्दा बढीको क्षति भएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानमा बृहत् आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरेका छन्।
बाढीका कारण ३४ लाख बालबालिकालाई तत्काल जीवनरक्षक सहयोगको आवश्यकता परेको युनिसेफले बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
