सुमना श्रेष्ठको पोसाकलाई अमर्यादित भन्ने हो भने त्यस्ता मान्छेहरूका लागि धर्तीको सबैभन्दा सुन्दर समाज आजको अफगानिस्तान हो।
वैशाख २५ गतेको प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफ्नो माथिल्लो वस्त्र (कमिज र गन्जी) उतार्दै आक्रोश पोखे। सभामुखले आफूलाई बोल्न नदिएकोमा त्यसरी रोष प्रकट गरेको उनले बताए। मुक्केबाज दारपातको खाइलाग्दो ज्यान देखेर देश धन्य भयो। मिडिया र सञ्जालहरूमा 'नेताहरू सबै नांगा नै भएकाले अमरेश नांगिनुको खासै अर्थ नभएको' भन्दै उनीबारे टीकाटिप्पणी र हाँसिजाक भए। एकदुई दिनमै अमरेश–चर्चा सेलायो। कुण्ठाग्रस्त हाम्रो 'हेटेरो प्याट्रिआर्की'का लागि अमरेशको अर्धनग्न शरीरको प्रभाव र असर लामोसम्म रहने कुरा भएन।
त्यसको केही दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ अरू बेलाझैँ तयारीका साथ संसद्मा पेश भइन्, आफ्ना कुरा राखिन्। संसद्मा तयारीका साथ बोल्ने र त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने मामलामा श्रेष्ठ अघि छिन्। तर, त्यस दिन श्रेष्ठले संसद् बैठकमा टिसर्टमाथि कोट लगाएको विषयलाई लिएर केही 'संस्कारी'हरूले आलोचना गर्न थाले।
स्मरणीय छ, नेपाललाई 'धार्मिक राष्ट्र' घोषणा गर्नुपर्छ भन्ने अभियानमा लागेका कांग्रेस नेता शशांक कोइराला संसद्मा जिन्स पाइन्ट र टिसर्टमाथि कोट लगाएर जाने गर्छन्। खास कुनै 'धर्म'को वकालत गर्नेहरू 'पदेन संस्कारी' कहलाउँछन् क्यार! संस्कारीहरूले 'अशोभनीय' ठहर्याएको भौतिक वस्तु सुमनाको टिसर्ट हो।
नग्नता: महिला कज्याउने भाष्य
नग्नता भन्नेबित्तिकै तपाईंको दिमागमा कस्तो चित्र आउँछ? चलचित्रमा महिलालाई नंग्याइएको या नग्न पुरुषको? नग्नता भन्नेबित्तिकै आम रूपमा महिलाको मात्र विम्ब आउने कुरा आफैँमा विचित्र र विभेदयुक्त छ। आम रूपमा सम्भ्रान्त लक्षित 'न्युडिटी कला प्रदर्शनी'हरूमा पनि महिलाकै स्तन र 'कर्भ' प्रदर्शित हुन्छन्।
नग्नताको महिलाद्वेषी भाष्य हामी त्यस्तो समाजमा बसेर बनाइरहेका छौँ, जहाँ सयौँ-हजारौँ वर्षयता सार्वजनिक मन्दिरहरूमा यौन संसर्गका चित्र कोरिएका छन्, लिंगको पूजा हुने गर्छ। हिन्दु र जैन परम्परामा नांगा जोगी र मुनिहरूको श्रद्धा र पूजन हुने गर्छ। भारतमा खजुराहो भन्ने प्रसिद्ध तीर्थस्थल छ, यौनजन्य कलाकृतिकै लागि त्यो चर्चित छ। हाम्रा कृष्णजी तलाउमा नुहाइरहेका गोपिनीका वस्त्र लुकाउँछन् र तिनको हुर्मत लिन्छन्। भारतको गुहाटी नजिकको कामाख्या मन्दिरमा योनीको पूजा गर्ने अभ्यास छ। दक्षिण एशियामा चलेका धेरै मिथकमा प्रशस्त बलात्कारका सन्दर्भ छन्।
अनि पर्याप्त 'पोर्नहबजन्य' कन्टेन्ट उपभोग गर्ने यस मुलुकका केही नागरिक संसद्मा सांसदले टिसर्टमाथि कोट लगाएकोमा दुखी हुन्छन्।
'मेरो योनीमा किन इज्जत राख्यौ?' भनेर समता अभियन्ता कमला भासिन् बारम्बार भन्ने गर्थिन्। उनको त्यो जब्बर प्रश्न किन पनि जायज थियो भने यस समाजले महिला थुनिने कुरालाई गर्व गर्दै आयो। महिलाको स्वतन्त्रतालाई दानवीकरण गर्यो। महिलाले चर्को स्वरले बोल्न हुँदैन भनेर शास्त्र लेख्यो। तनहुँका भानुभक्त बराजुले 'वधुशिक्षा' नामको पुस्तक लेखेर महिलालाई कज्याउन खोजे। महिलाको जननेन्द्रियमा इज्जत राख्ने समाजले बलात्कार आरोपीलाई फूलमाला पहिर्याएर शहर परिक्रमा गराउँछ।
रोबर्टले विवेक प्रयोग गर्न सक्दैन भन्ने सन्देशसहितको भारतीय फिल्म छ– रोबर्ट। फिल्ममा आगलागीको दृश्य छ। भवनको स्नानघरमा एक किशोरी नुहाइरहेकै अवस्थामा आगोको चपेटामा पर्छिन्। रोबर्टले किशोरीलाई आगो लागेको ठाउँबाट उद्धार गरेर निर्वस्त्र सडकमा उतार्छ। दुनियाँको अघि सर्वांग भएका कारण आफ्नो इज्जत गुमेको ठहर गर्दै ती किशोरी तत्काल आत्महत्या गर्छिन्। फिल्मको त्यस दृश्यलाई यसरी पनि अर्थ लगाउन सकिन्छ: केटीहरूको नांगो शरीर देखिनु घोर अनर्थ हो। महिला नांगिनुभन्दा मर्नु उचित हो। मर्नु मात्रै त्यस महिला/किशोरीले गरेको 'घृणित कृत्य'को क्षतिपूर्ति हो।
केटीहरूले आफ्नो शरीर सदा छोप्नुपर्छ। 'मर्यादा'को अतुलनीय नियम हो यो।
घुम्टो र बुर्काको आविष्कार गरेर महिलालाई कज्याएको समाजले यस्ता फिल्म रच्नु अनौठो होइन। आफू मरेपछि आफ्ना श्रीमतीलाई अरूले भोग्ला भन्ने त्रासले भाले सत्ताले रचेको 'सती' हाम्रै त्यही गौरवपूर्ण परम्परा हो। र, नग्नताको भरपुर उपभोग गर्ने पुरुष सत्ताले महिलालाई कज्याउन बनाएको भाष्य हो 'नग्नता'। यो हाम्रो समाजमा मात्र सीमित छैन।
इज्जतको ठेक्का
महिला/युवतीहरू करणीमा पर्ने घटनालाई 'इज्जत लुटिएको' रूपमा व्याख्या गर्ने अभ्यास पहिले व्यापक थियो, अहिले पनि यदाकदा छ। नेपालमा पर्याप्त चल्ने हिन्दी फिल्महरूका 'डाइलग' हुने गर्थे, 'अब तुं मुख दिखाने का लायक नहीं रहीं। (तँ मुख देखाउन लायक रहिनस्)' नेपाली फिल्मले त्यसकै अनुकरण गर्थे, जहाँ जबरजस्ती करणी पीडित महिला/युवती पात्र सुकसुकाउँदै भन्ने गर्थे, 'मैले अब कसरी समाजका अघि मुख देखाउनु?'
आजका दिनमा समेत नाम चलेका मिडिया र पत्रकारसमेत 'इज्जत लुटिएका' भाष्य लेखिरहेका छन्। इज्जतको ठेगाना महिलाको जननेन्द्रियलाई बनाउने गरेका छन्। अहिले पनि यौन अपराध, उत्पीडन र करणीका विषयलाई कतिपय पत्रकार 'इज्जत गएको' ठान्छन्। पितृसत्ता दीक्षित समाजले त्यसलाई मान्ने र स्विकार्ने कुरा त सामान्य भइगयो। अनि त्यस समाजका स्त्रीद्वेषी मनुवाले युवा सांसदको टिसर्टलाई लिएर किन प्रहार नगरुन्? हुनलाई यो 'मेल गेज' हो।
द्वन्द्व
समाजमा परिवर्तनशील र प्रतिगामीहरूको निरन्तर द्वन्द्व चल्छ। संसद्मा सुमनाको टिसर्टको नाप र आशय खोज्ने जमात प्रतिगामीहरूकै हो। कुनै युवतीले नेपाली झण्डाको ब्लाउज बनाएर लगाउँदा त्यस्ता प्रतिगामीहरू राष्ट्रको अपमान भएको ठान्छन्। हरिवंश र मदनकृष्णले झण्डाकै दौरा सुरुवाल लगाएर गीत गाउँदा तिनको मनभित्रको राष्ट्रियता तातो खुदोझैँ उर्लन्छ र गद्गद हुन्छन्। प्रतिगामीहरू पुरुषको छातीमा सौर्य र वीरता देख्छन्, महिलाको वक्ष हेरेर 'नग्न र अशिष्ट' लेख्छन्। 'लँगौटी'लाई महान् आविष्कार ठान्ने तिनीहरूलाई लाग्दो हो, 'झण्डाझैँ महिलाले लगाउने कपडाको पनि मानक, नाप आवश्यक छ। त्यसको नियन्त्रण र निरन्तर निगरानी आवश्यक छ।'
यसबीच, सम्पन्न भनिएका मुलुकहरू भरपुर स्वच्छन्दता अभ्यास गरिरहेछन्। त्यहाँ देउताकै फोटा चप्पल र अन्डरवेयरमा छापिन्छन्। सार्वजनिक पार्कहरूमा 'यसो गर्नु हुन्छ र उसो गर्नुहुन्न' भन्ने कडिकडाउ आदेश त्यस्ता मुलुकमा दिइँदैन। प्रिय र प्रियतमाले एक अर्काको हात समाएर हिँड्दा तेस्रोले लट्ठी लिएर खेद्दैन। हाम्रा नयाँ पुस्ताका युवायुवती त्यही जीवनशैलीप्रति भरमार आकर्षित छन्। लाखौँ खर्च गरेर त्यतै लागिरहेकै छन्।
क्रान्ति सिंगै बाँकी छ
संसद्मा जाँदा लगाइने पोसाकको विषय कार्यव्यवस्था परामर्श समितिको परामर्शले तोकेबमोजिम सभामुखले तय गर्ने हो। पोसाकको सामान्य मान्यता के हो भने, लगाउनेलाई सहज होस् र त्यसले अन्यलाई असहज नबनाओस्। यद्यपि, आजको खुला समाजमा 'के सहज? के असहज?' अर्को बहसको विषय हो। तर, सुमना श्रेष्ठको पोसाकलाई अमर्यादित भन्ने हो भने त्यस्ता मान्छेहरूका लागि धर्तीको सबैभन्दा सुन्दर समाज आजको अफगानिस्तान हो।
श्रेष्ठको पोसाकबारे भएका सस्ता टिप्पणी समाजमा गहिरोसँग जरा गाडेको मिसोजिनीको प्रकट हो। स्त्रीद्वेषले अन्ततः हाम्रो समाजमा रहेको महिला र पुरुषबीचको विभेदलाई पनि झल्काउँछ। सुमनाजी तपाईंहरू प्राय: 'डेलिभरी'को कुरा गर्नुहुन्छ। हाम्रो समाजलाई भौतिक समृद्धिसँगै समता र न्यायको डेलिभरी पनि चाहिएको छ। त्यसका लागि हामीले केही थान आन्दोलन र युद्ध पनि लडेका छौँ, जसलाई प्राय: तपाईंका पार्टीका वक्तव्य र नेताका भाषणहरूमा अनदेखा गरिन्छ। सामाजिक सञ्जालमा प्रकट भएका टिप्पणीहरूले समाजमा रूपान्तरणका धेरै मुद्दा र आन्दोलन बाँकी छन् भन्ने देखिन्छ।
सुमनाजी, डेलिभरी 'डल्लै' बाँकी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
