नक्कली भुटानी शरणार्थी प्रकरण : गृहमन्त्रीलाई नागरिक अगुवाको खबरदारी

नागरिक अगुवा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्रीलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्‍याउन, भ्रष्टलाई नजोगाउन खबरदारी गरेका छन्।

काठमाडौँ– नागरिक अगुवा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे चासो राख्दै गृहमन्त्रीलाई भेटेका छन्। मंगलबार पाण्डे र पहाडीले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर जारी अनुसन्धानको वस्तुस्थितिबारे चासो राखेका हुन्।

मानवअधिकारकर्मी पहाडीले आफूले गृहमन्त्री श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणबारे तीनवटा विषयमा चासो व्यक्त गरेको बताए। यो प्रकरणलाई निष्कर्षमा पुर्‍याउँदा जनताको साथ र समर्थन रहने, मूल दोषीमाथि कारबाहीको सुनिश्चित हुनुपर्ने र भ्रष्टलाई जोगाउन नहुने कुरा राखेको उनले बताए।

"अब व्यवस्था बचाउने कि भ्रष्ट जोगाउने तपाईंको हातमा छ, दोषीले के कस्तो सजाय पाउँछन् भनेर जनता हेरिरहेका छन् भन्दै खबरदारी गरियो,” उनले भने। उनले यो प्रकरणलाई निष्कर्षमा पुर्‍याएर इतिहास बनाउने अवसर सदुपयोग गरे जनताको साथ र समर्थन सधैँ रहने मन्त्रीलाई सुझाएको उल्लेख गरे।

नागरिक अगुवा पाण्डेले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर शुरू गरेको छानबिनलाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेको उल्लेख गरेका छन्। उनले गृहमन्त्रीले सकारात्मक जवाफ दिएको उल्लेख गरेका छन्।

“मन्त्रीजी जे शुरू गर्नु भएको छ, त्यसलाई निष्कर्षमा पुर्‍याउनुहोस्, असंख्य नागरिकहरूको सहयोग र समर्थन पाउनुहुने छ। केही तलमाथि भयो भने मुलुकभर नागरिक उठिसके तिनीहरूले छोड्दैनन् भन्ने खबरदारी गरियो। उहाँबाट सकारात्मक जवाफ, बाँकी हेर्दै जाने हो,” उनले लेखेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणको जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल'का तत्कालीन सल्लाहकार इन्द्रजित राईसहित १४ जना पक्राउ परेका छन्।

पूर्वमन्त्री र सचिव नै मुछिएपछि यो प्रकरणमा भइरहेको छानबिनबारे चासो बढ्दै गएको छ भने सरकारलाई खबरदारी गर्न बृहत् नागरिक आन्दोलनसमेत शुरू भएको छ।