सरकारको आय र खर्चबीचको खाडल बढ्दै, राजस्व पनि घट्यो

चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा लक्ष्यको ५३ प्रतिशत अर्थात् ७ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।

काठमाडौँ– सरकारको आम्दानी र खर्चको खाडल बढ्दै गएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले राजस्व, अनुदान र अन्य स्रोत गरी सात खर्ब ९७ अर्ब रुपैयाँ आम्दानी गरेको छ।

तर, यो अवधिमा सरकारको खर्च १० खर्ब ४७ अर्ब रुपैयाँ छ। खर्च र आयबीचको खाडल २ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा लक्ष्यको ५३ प्रतिशत अर्थात् ७ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।

गत आर्थिक वर्षको वैशाखसम्म सरकारले ८ खर्ब ६५ अर्ब ६९ करोड राजस्व संकलन गरेको थियो। कर्मचारीको तलब भत्ता, प्रशासकीय खर्चलगायतमा जाने चालु प्रकृतिको खर्च ७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ।

सरकारले बजेटमार्फत ५५ अर्ब ४५ करोड अनुदान लिने लक्ष्य लिएको वैशाखसम्म ४ अर्ब ८० करोड रुपैयाँ मात्रै भित्रिएको छ। विकास निर्माणतर्फ गरिने पुँजीगत खर्च ३३ प्रतिशत मात्र भएको छ। पुँजीगततर्फ ३ खर्ब ८० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

आन्तरिक राजस्व पनि घट्यो
वैशाखमा आन्तरिक राजस्व संकलनमा पनि गिरावट आएको छ। आन्तरिक राजस्व विभागका अनुसार वैशाख महिनासम्म ३ खर्ब ७१ अर्ब ५९ करोड राजस्व संकलन भएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ खर्ब ७२ करोड कम हो। गत आर्थिक वर्षको वैशाखसम्म एक खर्ब ७३ अर्ब आयकर संकलन भएकोमा गत वैशाखसम्म एक खर्ब ५९ अर्बमा सीमित भएको छ।