थाइल्याण्ड निर्वाचनमा सेना समर्थक पार्टी पाँचौँ स्थानमा, स्थापनाको नौ वर्षमा एमएफपी सबैभन्दा ठूलो दल

थाइल्याण्डमा पछिल्लोपटक सन् २०१४ मा सैन्य 'कू' हुँदा स्थापना भएको प्रगतिशील मुफ फरवार्ड पार्टी निर्वाचनमा सबैभन्दा ठूलो दल भएको छ। 'कू'बाट सत्तामा पुगेका चान–ओ–चाको दल भने पाँचौँ स्थानमा खुम्चिएको छ।

एमएफपी नेता पिता लिम्जारोएन्‍राट। तस्वीर: सीएनएन

थाइल्याण्डमा भएको निर्वाचनमा सत्ता चलाइरहेको सेना समर्थित पार्टी पराजित भएको छ। प्रधानमन्त्री प्रयुत चान–ओ–चाको युनाइटेड थाई नेशन पार्टी पाँचौँ स्थानमा खुम्चिँदा प्रगतिशील मुफ फरवार्ड पार्टी (एमएफपी) सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ।

अब त्यहाँ फेउ थाई पार्टी र एमएफपीले गठबन्धन बनाउने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। एमएफपीले लोकप्रिय मतमा एक करोड ३५ लाख, फेउ थाईले एक करोड तीन लाख मत पाइसकेका छन्। अहिले ९९ प्रतिशत मतगणना सकिएको अल जजिराले जनाएको छ।

एमएफपीको स्थापना सन् २०१४ मा भएको थियो। यो पार्टीलाई ४३ वर्षीय पिता लिम्जारोएन्‍राटले नेतृत्व गरेका छन् र उनी प्रधानमन्त्री पदका उम्मेदवार पनि हुन्। फेउ थाईको स्थापना थाई रक थाईको नयाँ दलका रूपमा भएको थियो। अर्बपती व्यापारी थाक्सिन सिनावात्राले सन् १९९८ मा यसको स्थापना गरेका थिए। 

तर, २००६ मा सैन्य सरकारले प्रतिबन्ध लगाएपछि यो पार्टीलाई अहिले उनकी बहिनी थाक्सिन सिनावात्राले पिपल्स पावर पार्टी बनाएकी थिइन्। यो दलमाथि पनि प्रतिबन्ध लागेपछि सन् २००७ मा फेउ थाई पार्टी स्थापना भएको हो। यसबीचमा यो दलले धेरै उतारचढाव बेहोरेको छ। यसको नेतृत्वमा थाक्सिन सिनावात्राकी छोरी तथा यिङलककी भतिजी पेटोङ्टार्न सिनावात्रा छिन्। उनी प्रधानमन्त्री पदकी दाबेदार पनि हुन्।

संसदीय सिटतर्फ अहिलेसम्म एमएफीले प्रत्यक्ष र समानुपातिक गरी १४७ र फेउ थाईले १३८ सिट जित्ने देखिएको छ। तेस्रो स्थानमा भुम्जइतइ दल छ। उसले ७० सिट जित्ने प्रक्षेपण गरिएको छ। यो दलले थाईल्याण्डमा गाजालाई वैधता दिन आवाज उठाइरहेको छ।

चौँथो स्थानमा पालाङ प्रचारथले ४० स्थान जित्ने बताइएको छ। यो प्रधानमन्त्री चान–ओ–चाको पूर्व दल हो। चान–ओ–चाको दल युनाइटेड थाई नेशन भने ३६ सिट जित्दै पाँचौँ स्थानमा छ।

त्यहाँको संसद्‍मा ५०० सांसद निर्वाचित र २५० मनोनित हुन्छन्। जसमध्ये ४०० जना प्रत्यक्ष र १०० जना समानुपातिक प्रणालीबाट चुनिन्छन्। २५० जनालाई सैनिक निकटस्थ जुन्टाले छान्छ। उनीहरूले पनि प्रधानमन्त्री निर्वाचनमा भाग लिन पाउँछन्। त्यसैले प्रधानमन्त्री छनौट प्रक्रिया जटिल बन्ने भएको छ।

यता फेउ थाईले भने एमएफपीसँग मिलेर गठबन्धनको सरकार बनाउने दाबी गरेको छ। फेउ थाई नेता पेटोङ्टार्न सिनावात्राले एमएफपीलाई चुनावी सफलताका लागि बधाई दिँदै सबैभन्दा बढी मत प्राप्त गर्ने पार्टीले अर्को सरकारको नेतृत्व गर्न पाउने बताएकी छन्।