डेंगीको जोखिम कायमै, सर्तक रहन विज्ञको आग्रह

चाँडै सुरु भएको मनसुन र ढिलासम्म चलिरहेको मनसुनी प्रभावले कात्तिकसम्म डेंगी संक्रमणको सम्भावना रहेको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन्।

काठमाडौं– ३८ वर्षीय रूद्र रेशमी एक हप्तापछि आफ्नो सामान्य दैनिकीमा फर्किएका छन्। गत एक हप्ता उनी डेंगी संक्रमणबाट सिकिस्त भए। संक्रमण भएको पाँच दिन उनीले घरेलु उपचार नै गरे तर, त्यति गर्दा पनि स्वास्थमा सुधार नभएपछि भने उनी चाबहिलस्थित  हेप्लिङ ह्यान्ड अस्पतालमा उपचार गराए। रिपोर्टमा डेंगी प्रमाणित भएसँगै उनलाई औषधि दिइयो। औषधिसँगै फलफूल र पौष्टिक आहारा सेवन गरेर करिब पाँच दिनपछि उनको स्वास्थ्यमा सुधार आयो।



निको भए आइतबार हाँडीगाउँमा रहेको आफ्नो फलफूल पसल खोल्न आएकाले उनले डेंगी संक्रमणको अनुभव सुनाउँदै भने, "डेंगीले शरीर फतक्क गलाउने रहेछ। एक सय ३ डिग्रीभन्दा कम ज्वरोको नाप नहुँदो रहेछ ।"



उनले औषधि उपचारसँगै नरिवलको रस, ड्रयागन फ्रुट, किवी लगायतका फलफूल सेवन गरेको सुनाए । "मेरो आफ्नै फलफूल पसल थियो र खाएँ," जसले मलाई चाँडै निको हुन मद्दत गर्‍यो," उनी भन्छन्, "अचाक्ली बढेको महँगीमा हामीजस्ता आममानिसले उपचारदेखि पौष्टिक आहार कसरी जुटाउने?,"



काठमाडौं र ललितपुरमा उच्च संक्रमण

स्वाथ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबार (असोज २ गते) सम्ममा १४ हजार ६३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। ललितपुर महानगरमा सबैभन्दा धेरै संक्रमित छन्। यहाँ चार हजार ६ सय चार डेंगी संक्रमित छन्। काठमाडौंमा चार हजार चार सय ५४ र भक्तपुरमा सात सय १३ संक्रमित छन्। यसबाहेक, मकवानपुर, दाङ, रूपन्देही, चितवन, गुल्मी, दार्चुला, काभ्रेपलाञ्चोक गरी १० जिल्ला डेँगीको उच्च जोखिम रहेका जिल्ला हुन्। 



इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार अझै पनि उच्च जोखिमको महिना असोज र कात्तिक बाँकी नै छ। चाँडै सुरु भएको प्रि-मनसुन र ढिलासम्म चलिरहेको मनसुनी प्रभावले कात्तिकसम्म डेंगीको संक्रमणको सम्भावना रहेको उनको अनुमान छ। उनले आममानिसलाई उच्च सर्तकता अपाउन अपिल गरे। हाल टेकु अस्पतालमा १५ हजारभन्दा बढी संक्रमितको उपचार भएको र १६ जनाको मृत्यु भइसकेको उनले जनाए। 



के गर्दै छन्, उपत्यका पालिकाहरू ?

सबैभन्दा बढी संक्रमण संख्या देखिएको ललितपुर महानगरपालिकामा सुरुवाती चरणदेखि नै डेंगी रोकथाम र अभिमुखीकरणको कार्य सञ्चालन गरिरहेको प्रवक्ता राजु महर्जन बताउँछन्। 

विशेषतः पोखरी क्षेत्र, कौसी क्षेत्र भएका घर, टोलमा पनि चुना छर्किनेलगायतका कार्य भइरहेको उनले बताए। 



उनका अनुसार, महानगरभित्रका ठूला अस्पतालमा दैनिक एक सय ५० जनाको हाराहारीमा संक्रमति चेकजाँचका लागि आउने गर्छन्। जसमध्ये १० देखि १५ प्रतिशत संख्या देशभरबाट ललितपुर महानगरमा आएर बसोबास गर्नेहरू ती अस्पतालमा उपचार गर्न आउने भएका कारण ललितपुरमा संक्रमण संख्या उच्च देखिएको उनको भनाइ छ। ललितपुरलाई उच्च जोखिमको क्षेत्रका रूपमा अफ्वाह नफैलाउन उनले आग्रह गरे। यद्यपि, ललितपुर महानगर डेंगी संक्रमण नियन्त्रणको विषयमा सचेत रहेको उनको भनाइ छ।



यसबाहेक अन्य पालिकामा जस्तै टोलटोलमा स्टाफ नर्स तथा स्वयंसेविका परिचालन भइरहेको उनले जानकारी दिए। 



काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धरका अनुसार डेंगीको संक्रमण कम गर्न काठमाडौंका प्रत्येक वडामा चुना छर्किने कार्य भइरहेको छ। महानगरपालिकाले आफ्नो ११८० नम्बरको हटलाइन सेवामार्फत डेँगीसम्बन्धी परामर्श तथा अत्यावश्यक भएमा निःशुल्क एम्बुलेन्सको सेवा दिएको छ। महानगरअन्तर्गत सामुदायिक तथा निजी अस्तपालका लागि समन्वय भइरहेको पनि उनले उकालोलाई जानकारी दिए।



वडापिच्छे घरदैलौमा स्टाफ नर्स, स्वास्थ्य स्वयंसेविका खटाउने तथा टोलटोलमा रहेका क्लबमार्फत जनचेतना अभिवृद्धिको काम चुस्त रूपमा अघि बढाइरहेको उनी बताउँछन्।  



भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रवक्ता कृष्ण गिरी स्वास्थ्य स्वयंसेविका तैनाथ गरिएको बताउँछन्। वडामा चुना, फिनेलले छर्केर लामखुट्टे मार्ने काम भइरहेको छ।



प्रक्ता गिरिका अनुसार भक्तपुर नगरपालिकाले फोहोरमैलो संकलनलाई तीव्रता दिएको छ। दैनिक तीनपटक फोहोर उठाइरहेको छ। फोहोर संकलनका क्रममा पनि माइकिङ गरेर जनचेतनामूलक जानकारी दिइरहेको उनको भनाइ छ। नगरपालिकाले संक्रमित नगरवासीलाई आफ्नै अस्पतालमा न्यून शुल्कमा उपचार गरिरहेको छ।