जल तथा मौसम विभागले भन्यो- नेपालमा ‘मोखा’ चक्रवातको असर छैन

हाल पश्चिमी वायु र स्थानीय वायुको असरले मौसम सामान्य प्रभावित भए पनि बंगालको खाडीमा विकसित भएको  मोखा नामको चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहेको जनाइएको छ।

म्यान्मारमा देखिएको टोर्नाडो। तस्वीर: साउथ चाइना मर्निङ पोस्ट

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले नेपालमा 'मोखा' चक्रवातको असर नरहेको जनाएको छ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव छ। काठमाडौँ उपत्यका लगायत देशका केही स्थानमा आइतबार साँझ केहीबेर बताससँग झरी परेको थियो। त्यसैले, बंगालको खाडीमा विकसित भएको  मोखा नामको अति शक्तिशाली चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार उक्त चक्रवात बंगलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेको छ। चक्रवातका कारण म्यानमारमा आठ जनाको मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। बंगलादेशमा हजारौँ घर भत्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
    
नेपालमा हाल कोशी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा छ। दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही  स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।