स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुरको सिमानामा रहेको केलादीधाम दर्शन र अवलोकन गर्न आउनेहरू बढिरहेका छन्। धामसम्म सडक सञ्चालन भएकाले पुग्न सहज छ।
पाल्पा– कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुँदैछ। स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर जोडेको यस धामको रमणीय प्राकृतिक वातावरणले पर्यटकलाई लोभ्याउन थालेको छ।
यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउने गरेका छन्। केलादीधामको दर्शन गर्न नसके नाम उच्चारण गरे मात्र पुण्य मिल्ने जनविश्वास छ। मन्दिर पुनः निर्माण, ज्येष्ठ नागरिक भवन, महन्त निवास, भान्छाघर, खानेपानी ट्यांकी निर्माणलगायतका पूर्वाधार विकास भएको छ।
पछिल्लो समय धार्मिक पर्यटक बढेको राधा दामोदर नेपाल निम्बार्क पीठ केलादीधाम संरक्षण समितिका सचिव घनश्याम खनालले बताए। “देवघाटधाम जस्तै बनाउने संकल्पसाथ भौतिक संरचना तयार पारेपछि सबैजसो उमेर समूहका मानिस आउने क्रम बढ्दो छ,” उनले भने, “पहिला काम विशेषले मात्रै आउने अचेल घुमफिर, अवलोकनलाई आउँछन्।” शनिबार र बिदाको समय यहाँ चहलपहल बढ्दो छ।
कालीनदीको धार्मिक तथा ऐतिहासिक महत्त्वसँग जोडिएको केलादीधामका बारेमा चासो राख्दै अध्ययन अवलोकनका लागि मानिसहरू आउने गरेको खनालले सुनाए। गाडी लिएर मन्दिरसम्म जान सकिन्छ। पहिला हिँडेर बाँस बस्ने चलन थियो। गौशाला, ज्येष्ठ नागरिकको बसोबासका लागि ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ।
२२ जना ज्येष्ठ नागरिक बसिरहेका छन्। २०१० मा निर्माण भएका पुराना कुटी (ज्येष्ठ नागरिक बस्ने घर) अझै रहेका छन्। ८० वर्षीया श्यामदासी सिग्देल चार दशकदेखि आश्रममा बसिरहेकी छन्। तनहुँको किहुँ निवासी उनले श्रीमान्को मृत्युपश्चात् केलादी आएर बसेको सुनाइन्। “१३ वर्ष उमेरमा विवाह बन्धनमा बाँधिएँ। त्यसको दुई वर्षमै श्रीमान्को मृत्यु भएपछि केलादीधामलाई आश्रयस्थल बनाएकी छु,” उनले भनिन्।
यहाँका ज्येष्ठ नागरिकले सरकारले दिने भत्ताबाट जीविकोपार्जन गरिरहेका छन्। यहाँ १२० वटा कुटी थिए। विभिन्न प्राचीन पूर्वीय धर्मग्रन्थमा पनि केलादीधामको महिमा र गरिमा वर्णन गरिएको छ। शालिग्राम पाइने विश्वको एकमात्र नदी कालीगण्डकीको किनारमा रहेको यो स्थानमा पुगेपछि मनको बोझ हट्ने र शान्ति प्राप्त हुने जनविश्वास छ। यहाँ निर्मित राधा दामोदरको मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।
२००६ सालमा निर्माण शुरू भई २००८ सालमा सम्पन्न भएको पुरानो सत्तल (दर्शनार्थी तथा बटुवा बास बस्ने ठाउँ) अहिले जीर्ण अवस्थामा छ। नौ कोठासहितको चारतले सत्तल नदी स्नान गर्न आउने, बाटो हिँड्ने बटुवा तथा मन्दिर दर्शन गर्न आउनेको आश्रय स्थलका रूपमा लिइन्थ्यो। २०७२ सालको विनाशकारी भूकम्पले जीर्ण बनाएकाले पुनः निर्माण गर्नुपर्ने अवस्थामा छ।
राधा दामोदरको पुरानो मन्दिर २०१३ सालमा पुनः निर्माण गरी विधिवत् पूजाआजा गर्ने कार्य शुरू गरियो। सो मन्दिर पनि जीर्ण बनेपछि २०७४ सालमा नयाँ निर्माण गरिएको छ। मन्दिरको नामबाट राधा दामोदर मावि र राधा दामोदर संस्कृत क्याम्पस चलेको छ। २०३८ सालमा स्थापित राधा दामोदर माविमा उच्च शिक्षासम्म आधुनिक तथा संस्कृत भाषामा पनि पठनपाठन हुन्छ।
२०५१ सालमा राधा दामोदर संस्कृत क्याम्पस स्थापना गरी शास्त्री तहसम्मको पठनपाठन भइरहेको छ। मन्दिरमा नै बसेर पढ्न चाहनेका लागि गुरुकुल शिक्षाको पनि व्यवस्था छ। बाटो हिँड्ने क्रममा समस्यामा परेका नागरिक, नदी स्नान गर्न आउने तथा मन्दिर दर्शन गर्न आउनेलाई आपत् परेमा संस्थाको संरक्षणमा यहीँ खाना तथा बसोबासको पनि व्यवस्था छ।
राधा दामोदर मन्दिरका नाममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरमा १८५ रोपनी जग्गा छ। केलादीधाममा दैनिक बिहान ६ देखि साँझ ६ बजेसम्म अखण्ड भजनकीर्तन हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
