विपश्यना बीचैमा छाडेर स्वदेश फर्किए आमिर खान

विपश्यनाका लागि गत आइतबार नेपाल आएका खान शुक्रबार बिहान भारत फर्किएका छन्।

काठमाडौँ– बलिउडका प्रख्यात अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचैमा छाडेर स्वदेश फर्किएका छन्।

विपश्यनाका लागि गत आइतबार नेपाल आएका उनी शुक्रबार बिहान १०:५० बजे इन्डिगो एअरलाइन्सबाट भारत फर्किएका हुन्। बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा उनी सहभागी भएका थिए।

विपश्यना ध्यान केन्द्रमा कार्यरत एक सहयोगीले दिएको जानकारीअनुसार, घनिष्ठ मित्रको निधन भएकाले आमिर फर्केका हुन्।आमिरका घनिष्ठ मित्र वरिष्ठ करपोरेट कानून व्यवसायी राजीव लुथ्रको ६७ वर्षको उमेरमा दिल्ली मेदान्त अस्पतालमा बिहीबार निधन भएको थियो।

यो ध्यान विधि १० दिनको हुन्छ। उनको ध्यान जेठ ४ गते सकिने तय थियो। धर्मश्रृंगका विपश्यना सञ्चालक रूपज्योति खानलाई लिन विमानस्थलमा पुगेका थिए। उनी पुनः नेपाल आएर विपश्यनाको पूरा कोर्स गर्न चाहेको ध्यान केन्द्रका सहभागीहरूलाई दिल्लीतर्फ लाग्नुअघि बताएका थिए।

बूढानीलकण्ठस्थित धर्मश्रृंगमा आमिर खान। तस्वीर: अजित श्रेष्ठको फेसबुकबाट।

बलिउडमा फरक पहिचान बनाएका ‘परफेक्सनिस्ट’ आमिरले सामाजिक विसंगति, अन्याय र असमानताविरुद्ध टेलिभिजन ‘टक सो’समेत निर्माण गरेका छन्। उनले निर्माण गरेका ‘सत्ये मेव जयते’लगायत कार्यक्रम चर्चित छन्।

पछिल्लो समय उनले अंग्रेजी फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक ‘लाल सिंह चड्‌ढा’मा अभिनय गरेका थिए। अगस्ट ११ मा रिलिज भएको चलचित्र फ्लप  भएको थियो। १३० करोड कमाएको उक्त फिल्म निर्माणमा १८० करोड खर्च भएको बताइएको छ।