कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुरका किसानले रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती थालेका छन्। लगानी र जनशक्ति कम लाग्ने भएकाले खाद्यान्न छाडेर रुखबिरुवा लगाउन थलेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन्। श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने उनी सुदूरपश्चिमकै पहिलो व्यक्तिमध्ये एक हुन्।

दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त अहिले श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय छन्। “कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखेँ,” २०७२ सालदेखि नेपाल चन्दन प्रालि फार्म सञ्चालनमा ल्याएका उनी भन्छन्, “रक्तचन्दन खेतीबारे यहाँका किसानलाई जानकारीसमेत गराइरहेको छु।” काठमाडौँमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गरेका थिए।

सन् २०१६ मा भारतमा गएर तालिम लिए। हाल डेढ बिघा जग्गामा श्रीखण्ड, रक्तचन्दन र अगरउडको खेती गरेका छन्। “वार्षिक १८ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबार हुन्छ”, पन्तले भने “व्यवसाय बढाउन वन कार्यालयदेखि प्रदेश सरकारसम्म धाए पनि कतैबाट सहयोग प्राप्त भएन। आफ्नै लगानीबाट गरिरहेको छ।”

श्रीखण्डको भित्री काठ तीन हजार ५०० देखि चार हजारसम्ममा बिक्री हुने गरेको छ। मुनाफाको ५० प्रतिशत दिने गरी जमिन भाडामा लिएको उनले सुनाए। महेन्द्रनगरकै उल्टाखाममा अर्का एक किसानले पनि आठ कठ्ठामा यो व्यवसाय थालेका छन्। कृषिमा आधारित व्यवसाय गरेर आत्मसन्तुष्टि मिलेको उनी बताउँछन्। कानुनी रूपमा स्वीकृति लिएर व्यवसाय गर्न कुनै समस्या छैन। पन्तले आफ्नो फार्ममा एक जनालाई रोजगार दिएका छन्। बिरुवा उत्पादन भए पनि बजार अभाव छ। छ वर्षअघि रोपेका ४०० रक्तचन्दन र श्रीखण्डका बिरुवा हाल हुर्किरहेका छन्। 

रक्तचन्दन र श्रीखण्डको प्रयोग बढीजसो धार्मिक कार्यमा गरिन्छ। रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने पन्तले बताए। एक बिरुवाको तौल तीन क्विन्टलदेखि पाँच क्विन्टलसम्म हुन्छ। विभिन्न किसिमका आयुर्वेदिक औषधि उत्पादनमा यसको प्रयोग हुने गरेको छ। श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन गर्न सकिने उनको भनाइ छ। 

लगानी र जनशक्ति कम लाग्ने भएकाले किसानहरूले खाद्यान्न छाडेर रुखबिरुवा लगाउन थलेको कृषि ज्ञान केन्द्रले जनाएको छ।