१५ वर्षको उमेरमा आन्दोलनमा होमिएका कायस्थ २०६२ चैत २७ गते सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका थिए।
काठमाडाैँ– जनआन्दोलन (२०६२/६३) का घाइते मुकेश कायस्थको निधन भएको छ।
काभ्रेपलान्चोकको बनेपा नगरपालिका–८ घर भएका उनको गएराति उपचारका क्रममा निधन भएको हो। जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए।
केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिर मेमोरियल अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उपचारका क्रममा निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हीरा शर्माले जानकारी दिए।
त्यसबेला कक्षा ८ मा अध्ययनरत उनी २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा बायाँ कन्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए। त्यस दिनदेखि अचेत भए। कायस्थको बायाँ हातसमेत राम्रोसँग चल्दैनथ्यो। गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो।
ओछ्यानमा थला परेका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्यो। उनी ओछ्यानबाट कहिल्यै उठ्न सकेनन्। परिवार र स्वास्थ्यकर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका थिए। तर, २०७५ असारदेखि थप बिरामी परे।
स्वास्थ्योपचार लगायतका लागि कायस्थको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको छ। सरकारले उनको उपचार खर्च, १५ हजार रुपैयाँ मासिक भत्ता, एक सुसारेका लागि छ हजार २०० रुपैयाँ भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो। २०७८ सालमा सरकारले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरेको थियो।
उनी परिवारको एक्लो छोरा हुन्। उनका बुबा कृष्णमानले केही महिनाअघि भनेका थिए, “परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुने गरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, यतिका वर्षसम्म ओछ्यानमै छ, आफैँ मनन गर्नुस्।” कायस्थ एक वर्षदेखि बोल्न सकेका थिएनन्।
“चपाएर खाना खान नसक्ने भएकाले झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आएका थियौँ,” बुबा कृष्णमानले भने, “बिरामी परेयता मुकेशको दायाँ हात र दुवै गोडा थोरै मात्र चल्थे।” जनआन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ।
सरकारले कायस्थ परिवारको बैंकको सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो। पछिल्लो समय मेडिसिटी अस्पतालका चिकित्सक डा गोपाल रमणले कायस्थको स्वास्थ्य निगरानी गरिरहेका थिए। रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो।
२०६२/६३ को जनआन्दोलनका क्रममा काभ्रेपलान्चोक चार युवाले ज्यान गुमाएका थिए, भने ४० जना घाइते भएका थिए। नालाका भीमसेन दाहालले पोखरामा, पनौतीका सगुन ताम्राकारले काठमाडौँको कलंकीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा तथा गगर्चेका सुनिलकुमार लामाले काठमाडौँको जोरपाटीमा ज्यान गुमाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
रासस
