सिरिया १२ वर्षपछि अरब लिगमा सामेल

अरब लिगका विदेशमन्त्रीहरूको बैठकले सिरियालाई संगठनबाट निलम्बन गरेको १२ वर्षपछि सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। सिरियालाई संकटबाट निकाल्न यस्तो कदम चालिएको बताइएको छ।

कायरोमा आइतबार भएको अरब लिगको असाधारण बैठकमा अरबका विदेशमन्त्रीहरूले १२ वर्षको निलम्बनपछि सिरियाको सदस्यता पुन: स्थापित गर्ने निर्णय गरेका छन्।

मन्त्रीस्तरीय अरब लिग परिषद्को बैठकले २०२३ मे ७ सम्म अरब लिग काउन्सिल र यसका सबै संगठन र निकायको बैठकमा सिरिया सरकारका प्रतिनिधिमण्डलको सहभागिता पुनः शुरू गर्ने निर्णय गरेको छ।

अरब विदेशमन्त्रीहरूले ‘सिरियालाई संकटबाट बाहिर निकाल्ने’ प्रयासलाई तीव्र पार्नुपर्ने आवश्यकतामा पनि सहमति जनाएका छन्। उनीहरुले सिरियाको सार्वभौमिकता, क्षेत्रीय एकता, स्थिरता र क्षेत्रीय अखण्डतालाई एएल बडापत्र र यसका सिद्धान्तका आधारमा संरक्षण गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

जोर्डन, साउदी अरब, इराक, लेबनान, इजिप्ट र अरब लिगका महासचिव सम्मिलित एक समिति गठन गर्न पनि सबै देशका विदेशमन्त्रीहरू सहमत भएका छन्। समितिले ‘सिरियाली संकटको विस्तृत समाधानमा पुग्न सिरियाली सरकारसँग प्रत्यक्ष संवाद जारी राख्नेछ।

जोर्डन, साउदी अरब, इराक, इजिप्ट र सिरियाका विदेशमन्त्रीहरूबीच गत साता जोर्डनको राजधानी अम्मानमा भएको बैठकमा सिरियाको सदस्यता पुनः स्थापित गर्ने विषय केन्द्रित थिय । अम्मानमा भएको वार्ता जोर्डनको नेतृत्वमा सिरियासँग अरबको सम्बन्ध सामान्यीकरणका लागि गरिएको पहलको एक हिस्सा थियो।

सन् २०११ मा निलम्बित गरिएको सिरियाको अरब लिग सदस्यता अम्मान वार्ताले स्थापित गर्ने बाटो खोलेको थियो। सिरियाको अवस्थाबारे छलफल गर्न गत अप्रिलको मध्यतिर जोर्डन, इजिप्ट र इराकका साथै गल्फ को–अपरेशन काउन्सिलका राष्ट्रहरूले साउदी अरबको जेद्दामा यस्तै मन्त्रीस्तरीय बैठक आयोजना गरेका थिए। 

बैठकको केही दिनपछि साउदी विदेशमन्त्री राजकुमार फैजल बिन फरहान अल साउदले दमास्कसको भ्रमण गरेका थिए। भ्रमणमा उनल सम्बन्ध सुधारको सन्देश दिएका थिए।