आरजु राणाले भनिन् : केही बिराएकी छैन, डराउँदिनँ

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले गलत काम नगरेकाले आफू नडराउने बताइन्।

काठमाडौँ– नेपाली कांग्रेसकी सांसद आरजु देउवा राणाले सदनमा आफ्ना बारेमा विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै असन्तुष्टि जनाएकी छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद राणाले गलत काम नगरेकाले आफू नडराउने बताइन्। पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणलाई जोडेर उनीबारे टीकाटिप्पणी भइरहेको छ। त्यसप्रति असन्तुष्टि जनाउँदै उनले भनिन्, "मैले केही बिराएकी छैन, म डराउँदिनँ।"

उनले आफूहरूको सम्पत्ति विवरण सरकारसँग सुरक्षित रहेको उल्लेख गरिन्। "हामीले सम्पत्ति विवरण बुझाउँछौँ। मेरो श्रीमान् पाँच/छ पटक प्रधानमन्त्री भइसक्नु भएको छ। मेरो लगायत हामी सबैको सम्पत्ति नेपाल सरकारसँग सुरक्षित छ," उनले भनिन्।

उनले सबै सांसदहरूको सम्पत्ति विवरण वेबसाइटमा राख्नुपर्ने बताइन्। "सबै सांसदको सम्पत्ति विवरण प्रकाशित होस्। र वेबसाइटमा राखियोस्। कसको सम्पत्ति कति छ जनताले देखुन्। कसको कति थियो, कहिलेदेखि बढ्यो, कसको घट्यो, के स्रोत हो, सबै देखोस्," उनले भनिन्।