घाटु नृत्यमा वाद्य र साज शृंगारभन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ। कारुणिक र हृदयविदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुँदा गाउने कलाकार र दर्शकसमेत रोएको पाइन्छ।
दमौली– बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएपछि घाटु नाच लोप हुँदै गएको छ। केही युवाहरू भने उक्त लोपोन्मुख नाचको संरक्षणमा लागेका छन्।
आँबुखैरेनी गाउँपालिका–५ स्थित भोटेश्वारामा १५ वर्षपछि पुनः घाटु नाच प्रदर्शन गरिएको छ। स्थानीय रञ्जित गुरुङ र सूर्यमानसिंह गुरुङले यसको अगुवाइ गरेका छन्। बुद्ध जयन्तीको अवसर पारेर घाटु नाच पुनः शुरू गरिएको सूर्यमानसिंहले बताए।
“घाटु नाच लोप हुने अवस्थामा पुगेको छ। गुरुङ समुदायमा प्रख्यात रहेको यो नाच संरक्षण गर्न हामी लागिपरेका छौँ,” उनले भने, “घाटु नाचको संरक्षण गर्दै भावी पुस्तालाई यसबारेमा जानकारी प्रदान गर्ने लक्ष्य हो।” रञ्जितले घाटु नाचबारे आवश्यक अगुवा कलाकारसँग जानकारी लिएका थिए। “लामो समयदेखि यो नाच निरन्तरता हुन सकेन, घाटु नाच नचाउने गुरुबा नभएका कारण पनि यसलाई निरन्तरता दिन सकेनौँ,” उनले भने, “अब निरन्तर लाग्छौँ।”
भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङका अनुसार पहिले हरेक टोलमा घाटु नचाइन्थ्यो। अहिले त संरक्षणका लागि मात्रै भनेर घाटु नचाउने गरेको पाइएको उनको भनाइ छ। गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट शुरू भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ। यो नाच सति र बाह्रमासे गरी दुई प्रकारको हुन्छ। गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य ठाउँअनुसार फरकफरक पाइए पनि कथा भने एउटै हुन्छ।
घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयवस्तुअनुसार आवश्यक संख्यामा छानिन्छ। उनीहरूलाई घाटु नाच्नुअघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याको आँखा बन्द हुने गर्दछ। यसलाई देवी चढेको मानिन्छ। कन्याको आँखा बन्द नभएसम्म देवीको नाम जप्नुपर्छ। देवीले पत्याएपछि घाटु शुरू गरिन्छ। घाटु नाचको शुरूआत मंगल चरणबाट गरिन्छ।
इष्टदेवीहरूको साथमा आमा, धर्ती र आकाशलाई साक्षी राखिन्छ। घाटु नृत्यमा वाद्य र साज शृंगारभन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ। कारुणिक र हृदय विदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुँदा गाउने कलाकार र दर्शकसमेत धुरुधुरु रोएको पाइन्छ। सतिघाटुमा गुरुबाले गीतबाटै मंगलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, शृंगार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने र जगाउने काम गर्छन्।
१७औँ शताब्दीदेखि घाटु नृत्यको प्रारम्भ भएको मानिन्छ। यस नृत्यमा रजस्वला नभएका कन्यालाई स्थानीय वेशभूषामा सजाइ मध्ययुगीन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ।
सदियौँदेखि पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुनु र पुरानो पुस्ता सकिँदै जाँदा लोप हुँदै गएकाले यसलाई जोगाउने प्रयास गरिएको रञ्जितको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
