बेलायतका राजा चार्ल्स तृतीयले लन्डनको चर्चित चर्च वेस्टमिन्स्टर आबीमा आयोजित विशेष समारोहमा राजमुकुट पहिरिएका छन्।
बेलायतका राजा चार्ल्स तृतीयले राजमुकुट पहिरिएका छन्। राजा चार्ल्सले लन्डनको चर्चित चर्च वेस्टमिन्स्टर आबीमा आयोजित विशेष समारोहमा राजमुकुट पहिरिएका हुन्। उक्त समारोहमा रानी क्यामिला (क्विन कन्सोर्ट)लाई पनि मुकुट पहिर्याइएको थियो।
सन् १९५३ मा स्वर्गीय रानी एलिजाबेथ द्वितीयाको राज्याभिषेकमा पहिरिएको मुकुट ७० वर्षपछि शनिबार उनका जेठा छोरा ७४ वर्षीय चार्ल्स तृतीयले पहिरिएका हुन्। दुई किलो २३ ग्रामको तौलको सुन, हीरा र बहुमूल्य रत्न र धातु जडित मुकुट आर्कबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सलाई पहिराइदिएका थिए। सन् १९४८ नोभेम्बर १४ मा बेलायतको बकिङ्घम राजदरबारमा जन्मेका राजा चार्ल्स २० वर्षको हुँदा उनलाई ‘प्रिन्स अफ वेल्स’ घोषित गरिएको थियो।
राज्याभिषेक समारोह सकिएलगत्तै राजा र रानी क्यामिला बकिङ्घम दरबारतर्फ लागेका छन्। हजारौँ मानिसहरूले प्रत्यक्ष अवलोकन गरेको र भव्य समारोहको विभिन्न मिडियाले प्रत्यक्ष प्रसारण गरिरहेका छन्। अघिपछि घोडाका लाबलस्करसहित राजारानी बोकेको सुनौलो रथ दरबारतर्फ लगिँदै छ।
समारोहलाई सुरक्षित बनाउन राजपरिवारको समारोहमा पहिलो पटक फेसियल रिकग्निसनको प्रयोग गरिएको अल जजिराले जनाएको छ। आपराधिक गतिविधि रोक्न यस्तो सुरक्षा अपनाइएको बताइएको छ। समारोहमा उपस्थितिका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित सयौँ राष्ट्रप्रमुखहरूको उपस्थिति रहेको बताइएको छ।
राज्याभिषेक समारोहको सुरक्षाका लागि बकिङ्घम राजदरबारमा बेलायती राजपरिवारका सदस्यसहित कमनवेल्थका चार हजार सेनाले मार्च गरेका थिए। जुन बेलायती इतिहासमा ७० वर्षयता मार्चमा प्रयोग भएको सबैभन्दा ठूलो सैनिक संख्या भएको एपी न्युजले जनाएको छ। यस्तै, समारोहको सुरक्षाको प्रत्याभूतिका लागि भन्दै २९ हजार सैनिकहरू परिचालन गरिएको अज जजिराले जनाएको छ।

आफ्नो शासनको अधिकार सुनिश्चित गर्न करिब एक हजार वर्ष अघिदेखि नै बेलायती राजाहरूले आफ्नो राज्याभिषेक भव्य रूपमा गर्दै आएका छन्। बेलायती राजाको कुनै पनि कार्यकारी र राजनीतिक अधिकार नभए पनि उनी संयुक्त अधिराज्यको राज्य प्रमुख र राष्ट्रिय प्रतीकका रूपमा रहने छन्।
राज्याभिषेक हुनुअघि बीबीसीका राजदरबार पूर्वसंवाददाता माइकल कोलले भनेका थिए, “अन डिमान्ड मनोरन्जनले भरिएको आजको दुनियाँमा पनि मानिसहरूले एकछिन रोकिएर राज्याभिषेकलाई घुर्नेछन्। किनकि यो विश्वमा कतै हुनेभन्दा निकै फरक र विशेष भव्य समारोह र धार्मिक तथा परम्परागत अनुष्ठान हो।”
यता, दोहोरो अंकको मन्दीमा प्रवेश गरेको बेलायतमा मानिसहरू आर्थिक संकटसँग जुधिरहेका छन्। यस्तो अवस्थामा भव्य राज्याभिषेक समारोह गरिएको भन्दै उनीहरूले असन्तुष्टि समेत जनाएका छन्। मानिसहरूले गणतन्त्रलाई चुनौती दिँदै राजाभिषेक गरिएको भन्दै राजतन्त्रविरोधी प्रदर्शनसमेत गरेका छन्। राज्याभिषेक समारोह बाहिर दुई/तीन सय व्यक्तिले 'नट माइ किङ' लेखिएका ब्यानर बोकेको समेत देखिएको अलजजिराले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
