२५६७औँ बुद्ध जयन्ती मनाइँदै, लुम्बिनीमा विशेष कार्यक्रम

बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक बुद्ध जयन्ती मनाउने गर्दछन्।

बुद्धजयन्तीको पूर्वसन्ध्यामा लुम्बिनीस्थित मायाँदेवी मन्दिर परिसरमा प्रार्थना गर्दै बौद्ध भिक्षुहरू। तस्वीर : रासस

काठमाडौँ– शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती (बुद्ध जयन्ती) आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो।

बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन्। बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ।

सरकारले बेलुका घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउनसमेत आह्वान गरेको छ। इसा पूर्व ५६३ अर्थात् २५६७ वर्षअघि रुपन्देहीस्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट सिद्धार्थ गौतमको जन्म भएको थियो।

बुद्ध जयन्तीका अवसरमा आज लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएको छ। लुम्बिनीस्थित मायादेवी मन्दिर झकिझकाउ बनाइएको छ।

बजारक्षेत्र सरसफाइ गरिएको छ। लुम्बिनीमा दिउँसाे आयोजित कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।