तोसिमाको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश दिएको छ।

काठमाडौं– डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश दिएको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर- ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी कार्की मेडिकल काउन्सिलको सदस्यको हैसियतमा लाभ लिरहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो।

आयोगको उक्त निर्णयलाई चुनौती दिँदै कार्कीले सोमबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश चुडालको इजलासले कार्कीको उम्मेदवारी खारेज नगर्न आयोगलाई अन्तरिम आदेश दिएको हो। 

आफ्नो पद लाभको हो/होइन र सुझाव दिन भन्दै आयोगमा पठाएको पत्रको जवाफ नदिएको तर उम्मेदवारी दर्ता भएको लामो समयपछि मात्रै आयोगले उम्मेदवारी खारेज गर्नु अन्यायपूर्ण भन्दै कार्की सर्वोच्चमा गएकी थिइन्।