उम्मेदवारको बन्दसूची तयार पार्न दलहरूलाई सकस

आगामी मंसिर ४ का लागि घोषणा भएको संघीय र प्रदेशसभा निर्वाचनका लागि आइतबार निर्वाचन प्रक्रिया शुरु हुँदा पनि दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेका छैनन्।

काठमाडौं– आगामी मंसिर ४ का लागि घोषणा भएको संघीय निर्वाचनका लागि आइतबारदेखि निर्वाचन प्रक्रिया शुरू भएको छ। बन्दसूची बुझाउन दलहरूलाई आयोगले असोज २ र ३ गतेको समय निर्धारण गरेको छ। 



बन्दसूची अन्तर्गत राजनीतिक दलहरूले आयोगमा प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जना सदस्यको नामावली पेस गर्नुपर्ने छ। तोकिएको संख्याको न्यूनतम १० प्रतिशत नाम पेस गर्नुपर्ने हुन्छ। 



आयोगले समानुपातिकको बन्दसूचीमा ५० प्रतिशत महिला सिफारिस गर्नुपर्ने छ। बन्दसूची सोमबारभित्र बुझाइसक्नुपर्ने भनेको आयोगले प्रत्यक्ष निर्वाचनका लागि भने असोज २३ गतेदेखि प्रक्रिया सुरू गरिने जनाएको छ। 



सूची बनाउन दलहरूलाई सकस 

समानुपातिकतर्फको निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाउने समय आइसक्दा पनि दलहरूले उम्मेदवार टुंगो लगाउन सकेका छैनन्। उम्मेदवारका आकांक्षी धेरै हुँदा दलहरूलाई निर्णय गर्न कठिन भएको हो। ठूला राजनीतिक दलहरूले केही दिनदेखि घनिभूत छलफल गरिरहेका छन्। आइतबार पनि दलहरू छलफलमै व्यस्त भएका छन्। बन्दसूची सोमबार मात्रै बुझाउने उनीहरूको तयारी छ।  



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारको बन्दसूची तयार पार्न शनिबारदेखि नै सचिवालयमा छलफल गरिरहेको छ। एमालेका निर्वाचन विभाग उपप्रमुख निरज आचार्यले सचिवालयको बैठकले बन्दसूचीको टुंगो लगाउने बताए। 



‘आकाक्षीं पनि धेरै हुनुहुन्छ, टुंगो लगाउन बाँकी छ। सचिवालयको बैठक बसिरहेको छ,’ उनले भने, ‘उम्मेदवार सूची बनाउने विधि झन्झटिलो छ। बैठकले निर्णय गरेपछि सोमबार मात्रै हामी आयोगमा बन्द सूची बुझाउछौँ।’ एमालेको पछिल्लो केन्द्रिय कमिटी बैठकले समानुपातिकतर्फ यसअघिका उम्मेदवारलाई नदोहो¥याउने निर्णय गरेको थियो। 



सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र पनि आकांक्षी धेरै देखिएका छन्। कांग्रेसले समानुपातिक सूचीलाई अन्तिम रूप दिन आठ सहमहामन्त्रीहरूको कार्यदल बनाएको छ। आइतबार पनि कांग्रेस कार्यदलको बैठक थियो। कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले सोमबार मात्रै बन्द सूची बुझाउने बताए। 



‘कार्यदलले काम गरिरहेको छ। हामीले समानुपातिक उम्मेदवार नदोहो¥याउने भनेका छौं। त्यसैअनुसार अन्तिम तयारी भइरहेको छ,’ उनले भने। आइतबार संसदीय समितिको बैठकमा समानुपातिक सूचीमा राख्ने नामबारे छलफल भए पनि टुंगो लागेको छैन।  



यस्तै सत्ताघटक नेकपा माओवादी केन्द्रलाई पनि समानुपातिक तर्फको उम्मेदवारको टुंगो लगाउन सकस देखिएको छ। पार्टी सचिव गणेश साहले बन्दसूचीको टुंगो लगाउन महासचिव देव गुरुङको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन भएको जानकारी दिए। कार्यदलमा उपमहासचिवद्धय वर्षमान पुनः र गिरीराजमणि पोखरेल छन्। ‘आकाक्षीं धेरै भएकाले सकस भइरहेको छ। टुंगो लागेको छैन। भोलि मात्र टुंगिन्छ,’ साहले भने। 



प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा ५६७ जना र प्रदेश सभातर्फ ९४९ जनाको नाम सिफारिस भएर आएको जनाइएको छ। आइतबार बसेको पदाधिकारी बैठकमा आकांक्षी धेरै भएकै कारण माओवादीले निर्णय गर्न सकेन। बैठकले प्रदेशलाई पुनर्विचार गरेर पठाउन निर्देशन दिएको छ। आइतबार अबेरसम्म पुनः नामावली आएपछि सोमबार बिहान बस्ने पदाधिकारी बैठकले टुंगो लगाएर आयोगमा बुझाउने तयारी गरिएको छ।



सत्ताघटक अर्को दल नेकपा एकीकृत समाजवादीमा पनि समानुपातिकतर्फको बन्दसूची तयार पार्ने विषयमा गृहकार्य भइरहेको छ। तर, टुंगो लागिसकेको छैन। उपमहासचिव एवम् पार्टी प्रवक्ता जग्गनाथ खतिवडाले सोमबार बिहानसम्म टुंगो लगाएर बुझाउने तयारी गरिएको बताए। 



‘भोलिसम्म समय छ। मिलाउन नै गाह्रो हुन्छ,’ उनले भने, ‘सबै क्लष्टर मिलाएर बुझाउनुपर्ने भएकाले केही सकस भएको हो। सोमबार बुझाउँछौं,’ उनले भने। एकीकृत समाजवादीले समानुपातिकतर्फ नयाँ अनुहार, पार्टीमा लामो समयदेखि क्रियाशील र यसअघि समानुपातिक सांसद नभएकालाई प्राथमिकता दिने जनाएको छ। 



सत्ताघटक अर्को दल जसपाको पनि शनिबारदेखि नै नियमित बैठक बसिरहेको छ। तर, उम्मेदवारको टुंगो भने लगाउन सकेको छैन। जसपा कार्यकारिणी समितिका सदस्य प्रकाश अधिकारीले सोमबार सूची बुझाउने बताए। ‘भोलि जसरी पनि बुझाउनै पर्छ त्यसका लागि हामीले गृहकार्य गरिरहेका छौं,’ उनले भने।



उता लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने समानुपातिकतर्फको बन्दसूचीको लगभग टुंगो लगाएको छ। कार्यकारिणी सदस्य केशव झाले सूची तयार भइसकेको र केही क्लष्टर मिलाउन बाँकी भएको जानकारी दिए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सोमबार मात्रै बन्दसूची बुझाउने भएको छ। प्रवक्ता मोहन श्रेष्ठले जिल्लाबाट सिफारिस भएर आएका नाममा छलफल भइरहेको र अन्तिम रूप दिएर सोमबार मात्रै बुझाउने बताए।



निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्रामशर्मा पौडेलले आइतबार दुईवटा दलले प्रतिनिधिसभातर्फ र एक–एक वटा दलले तीनवटा प्रदेशमा समानुपातिकतर्फको बन्दसूची बुझाएको जानकारी दिए।