राष्ट्रपति पौडेललाई एम्सले आइतबार डिस्चार्ज गर्न सक्छ : दूतावास

एम्समा उपचाररत राष्ट्रपति पौडेललाई अस्पतालले आइतबार डिस्चार्ज गर्न सक्ने सम्भावना रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

राष्ट्रपति पौडेलको उपचार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा जारी छ। स्वास्थ्यमा राम्रो सुधार देखिएकाले उनीलाई अस्पतालले आइतबार डिस्चार्ज गर्न सक्ने सम्भावना रहेको चिकित्सकलाई उद्धृत गर्दै दूतावासले जनाएको छ।

“राष्ट्रपतिज्यूको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकाले भोलि (आइतबार)सम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्,” दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पेटमा समस्या देखिएर राष्ट्रपति पौडेल गत वैशाख ५ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। पेटको समस्यामा सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार वैशाख ६ गते राष्ट्रपति पौडेललाई नयाँ दिल्ली लगिएको थियो। त्यसयता नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उनको उपचार जारी छ।