एसीसी प्रिमियर कप : कुवे‍तविरुद्ध करण केसीले लिए ५ विकेट, वर्षले रोकियो खेल

कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३६ रन जोड्न सकेको छ। नेपालका लागि करण केसीले पाँच र सोमपाल कामीले एक विकेट लिए।

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत शनिबार जारी सेमिफाइनलमा करण केसीले कुवेतविरुद्ध पाँच विकेट लिएका छन्।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३६ रन जोड्न सकेको छ। कुवेतका लागि सोमपाल कामीले एक विकेट लिएका छन्।

करणले पहिलो ओभरमा कुवेतका एड्नान इद्रिस, तेस्रो ओभरमा मिट भवसर, पाँचौँ ओभरमा रविजा सन्दरुवान, सातौँ ओभरमा सिराज खान र नवौँ ओभरमा मोहम्मद अस्लमलाई आटन गरे। दोस्रो ओभरमा सोमपालले परविन्दर कुमारलाई आउट गरेका थिए।

नेपाल र कुवेतबीचको खेल अहिले वर्षका कारण रोकिएको छ। यसअघि पनि वर्षका कारण खेल प्रभावित भएको थियो। ५० ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोटाएर शुरू भएको थियो।

कुवेतले नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याइरहेको छ। टस हारेर पहिला ब्याटिङको निम्ता पाएको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन नै बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान दिए। उनले ९५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ९४ रन बनाएका हुन्। कुशल मल्लले ५७ रनको अर्धशतकीय इनिङ खेले। ४४ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे।

त्यस्तै, कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए। आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३/३ र सयद मोनिव र यासिन पटेलले समान १/१ विकेट लिए।