बझाङको खप्तडछान्ना गाउँपालिका–७ खानडाँडास्थित साँघुरो घरमा भिट्टुको परिवार बसेको छ। उनले अशिक्षा र गरिबीका कारण उनले आफ्ना छोराछोरीलाई पढाउन सकेका छैनन्। बिहानबेलुका छाक टार्न मुस्किल छ।
बझाङ– बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा। अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, भिट्टु खड्काको सात सदस्यीय परिवार। नजिकै छ, डेढ दर्जनबढी बस्तुभाउ अटाउने गोठ। झुपडीसँगै टाँसिएको तबेला।
आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा। यो दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको। भिट्टुको परिवार यहाँ बसेको एक दशक भयो।
चिरापाणि (परिवारलाई चिनिने टोल)मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको हो। बस्तीभन्दा टाढा भए पनि खन्दै स–सानो बारी (जमिन) जोडेको उनले सुनाए। बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका उनलाई शुरूमा भने परिवार पाल्न त्यति समस्या भएन। बालबालिका हुर्कँदै जाँदा समस्याका पहाड आँखै अगाडि आए।
लामो समयपछि जोगिएका सन्तानको पालनपोषण गर्न भिट्टु दम्पतीको शक्ति हराउँदै गयो। बालबालिका शिक्षाबाट वञ्चित भए। हिलो, धुलो, कुपोषणको समस्याबाट गुज्रँदै किशोरावस्थामा पुगे।
२६ वर्षमा १२ सन्तानलाई जन्म
भिट्टुकी श्रीमती बेलु खड्का ४० वर्ष पुगिन्। केदारस्यूँ गाउँपालिकाको रजाडा माइतीघर भएकी बेलु र भिट्टुले २०५४ मा बिहे गरेका हुन्। बिहे गरेको २६ वर्षमा बेलुले १२ सन्तानलाई जन्म दिएकी छन्।
पहिलो सन्तान बिहे गरेको दोस्रो वर्षमा जन्मियो । तीन महिना नपुग्दै सन्तान गुमाउनु परेपछि निकै तनावमा भए खड्का दम्पती। अर्को वर्ष दोस्रो सन्तान जन्मियो। दोस्रो पनि तीन/चार महिनाको बीचमा गुमाए।
तेस्रो, चौथो हुँदै सातौँसम्म लगातार सन्तान गुमाएपछि गाउँ नै छाड्ने निधो गरे। “गाउँलेले अब तिम्रो जिन्दगी सकियो। निःसन्तान हुने भयौ भनेपछि गाउँमा बस्ने मनै भएन,” भिट्टु सम्झन्छन्, “गाउँ नफर्किने गरी जाने मन थियो, तर जाने ठाउँ नै भएन। न त जाने खर्च नै। चरम पीडालाई च्यापेर त्यतै टाँस्सियौँ।”
भिट्टु जीवनबाट निराश हुँदै मदिरातर्फ सल्किए। त्यो बीचमा आठौँ सन्तानका रूपमा छोरीको जन्म भयो। छोरी जन्मेको एक सातामै गडरायका वैद्य ९जडीबुडी डाक्टर० को सल्लाहमा गए। वैद्यको औषधिले पहिलो सन्तान जोगायो। पहिलोसहित लगातार दुई छोरी जन्मिएपछि फेरि गाउँलेले छोरा जन्मिएन भनेर कुरा काट्न थाले। गाउँले होच्याइरहेका बेला छोरा जन्मियो। भिट्टुले छोरा जन्मिएको खुशीमा ऋण काढेर एक हप्तासम्म छैठी (जन्मको उत्सव) खेलाए।
सन्तान हुर्कदै गएपछि घरमा बस्न निकै साँघुरो भयो। त्यसपछि खानडाँडामा गोठ बनाएर बसे। कान्छो छोरा हर्कको जन्म पनि खानडाँडामै भयो।
१२ वर्षमा छोरीलाई विद्यालय भर्ना
आर्थिक अवस्था कमजोर र विद्यालय टाढा भएकै कारण खड्काले छोराछोरीलाई किशोरावस्था प्रवेशपछि मात्र विद्यालय पठाए। जेठी छोरीले नपढे पनि माइली छोरीसहित पछिका सन्तानलाई अहिले विद्यालयमा भर्नासम्म गरेका छन्।
रिरा खड्का भिट्टुकी माइली छोरी हुन्। उनी १४ वर्षकी भइन्। अहिले ३ कक्षामा पढ्छिन्। कान्छी छोरी १२ वर्षीय जौकला र ११ वर्षीय छोरा दीपक एक कक्षामा भर्ना भएका छन्। नौ वर्षीय हर्कलाई भने सानो उमेर भन्दै विद्यालय पठाएका छैनन्।
गरिबीका कारण सन्तानलाई विद्यालय पठाउन नसकेको बताउँछन्। “सबैका छोराछोरी पढ्न जान्छन्। आफ्ना छोराछोरीलाई पनि विद्यालय पठाउन मन लाग्छ। तर, लुगाकपडा त के, कापी कलमसमेत किन्नलाई पैसा हुँदैन,” उनले भक्कानिँदै भने। आफ्नो छोरीसँगका बालबालिका एसइई दिने तयारीमा पुगेको उनले बताए। “हामीलाई त मान्छेले मात्रै होइन, भगवानले पनि ठगे,” उनले भने, “गाउँलेले फालेको कपडा नयाँ भन्दै ल्याएर शरीर ढाक्ने गरेका छौँ।”
घर जलेर पीडामाथि पीडा
खानडाँडामै तीन वर्षअघि खड्काको घर जलेर नष्ट भयो। “डाँडामा भएको घर। निभाउनका लागि माटो मात्रै विकल्प थियो। पानीको हाहाकार। पिउनसमेत एक किलोमिटर टाढाबाट बोकेर ल्याउनुपर्थ्यो। छिमेकीले साना–साना भाँडामा पानी लिएर आउँदासम्म खरानी भइसकेको थियो,” खड्काले भने।
गोठमा तीन बाख्रा थिए। घरसँगै बाख्रा पनि पूर्ण रूपमा जलेर नष्ट भए। घरमा बाकस नहुँदा महत्त्वपूर्ण सरसामान पनि जोगाउन नसकेको बेलुले बताइन्। “बाकस थिएन। ज्याला गरेर जम्मा पारेको १२ हजार रुपैयाँ पनि छानोको भित्तामा राखेका थियौँ,” उनले भनिन्, “भरखर किनेका चार/पाँच वटा ब्लांकेट, सबै जनाका एक/एक जोर नयाँ लुगा, दुई बोरा चामल र गहुँ छुनै नपाएर नष्ट भए।” त्यस यता अहिलेसम्म कसैका लागि पनि कपडा किन्न नसकेको उनले सुनाइन्।
१० हजार खर्च, राहत सात हजार
घरमा आगलागी भएपछि राहतका लागि खप्तडछान्ना गाउँपालिकामा धेरै पटक धाए, भिट्टुले। उनको घरबाट पालिका पुग्न २०० रुपैयाँ गाडीभाडा लाग्छ। राहतका लागि दसौँ पटक पालिका पुगे। त्यो बीचमा भिट्टुको आठ हजार रुपैयाँ खर्च भइसकेको थियो।
पालिकामा बोलाएको बेलामा पुगिदिन भिट्टुले एक शिक्षकलाई आग्रह गरे। “धेरैपछि सात हजार रुपैयाँ राहत पाएँ। त्यसबाट दुई हजार शिक्षकलाई नै दौडधुप गरेको भनेर दिएँ। बाँकी पाँच हजार राहत घरमा पुग्यो,” उनले भने।
सरकारी राहत खर्चभन्दा कम पाउनु र ढिलाइ हुनुमा उहाँका आफन्तलाई नै दोषी ठान्छन्, भिट्टु। “त्यसले मदिरा खानलाई राहत माग्न आएको भन्ने नराम्रो खबर चिनजानेकैले सुनाएछन्। पालिकामा आफ्नो चिनजानको पनि कोही नहुँदा खर्चभन्दा कम राहत पाएँ,” उनले भने।
राहतको नाममा एउटा संस्थाले गरेको सहयोगको गुन भने कहिल्यै नबिर्सने उनी बताउँछन्। ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडीसी) संस्थाले घर जलेको केही समयपछि लुगाकपडा, भाँडाकुँडा, खाद्यान्नलगायत केही राहत दिएको, सीप सिक्न मद्दत गरेको हुँदा सानो घर बनाएर बसेको उनले बताए।
गाउँलेलाई खुशी पार्न चौपायाको रेखदेख
खानडाँडामा उनले जमिन खनेर बारी बनाएका छन्। त्यहाँ उब्जनी हुने अन्नले भने एक महिनालाई खान पुग्दैन। “डाँडामा पानी छैन, मल पनि हुँदैन। अनि के उत्पादन हुन्थ्यो र? काम लाग्न सक्छ भनेर गरा (समथर बारी) बनाएको हुँ,” उनले भने। अहिले भिट्टुको गोठमा डेढ दर्जन गाई गोरु छन्।
“गाउँलेले गाईले दूध नदिने भएपछि हेर्ने मान्छे छैन भन्दै यहाँ लिएर आउँछन्,” भिट्टु भन्छन्, “खुला ठाउँ भन्दै फिर्ता नगर्नु, आफैँ पाल्नु, खानु भनेर यता ल्याएर छोड्छन्।” आफ्ना छोराछोरी गाउँलेले छोडेका बस्तुभाउ चराउने गरेको उनले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
