एसीसी प्रिमियर कप : नेपालले फाइनल प्रवेशका लागि कुवेतसँग खेल्ने

एसीसी प्रिमियर कपअन्तर्गत समूह 'बी'को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै फाइनल प्रवेशका लागि नेपालसँगको भेट पक्का गरेको छ।

काठमाडौँ– नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि कुवेतसँग खेल्ने भएको छ। मूलपानी क्रिकेट मैदानमा बिहीबार सम्पन्न समूह 'बी'को अन्तिम खेलमा हङकङलाई ३० रनले पराजित गर्दै कुवेतले नेपालसँगको भेट पक्का गरेको हो।

समूह चरणको अन्तिम खेलमा हङकङ र कुवेत दुवैलाई जित अपरिहार्य थियो। हङकङ ३ खेलबाट ५ अंक बनाउँदै समूहको शीर्ष दुईमा थियो। यता, समान खेलबाट ४ अंक जोड्दै कुवेत अंक तालिकाको तेस्रो स्थानमा थियो।

६ अंकसहित शीर्ष स्थानमा रहेको यूएईले भने अन्तिम खेलमा बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। दुई समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने प्रावधान हुँदा अन्तिम खेलमा कुवेतले बाजी मार्‍यो।

यो सँगै समूह चरणका खेलहरू सकिएका छन्। कुवेतले शनिबार सेमिफाइनलमा समूह 'ए'को विजेता नेपालसँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेलमा समूह 'ए'को उपविजेता ओमान र समूह 'बी'को विजेता यूएईबीच प्रतिस्पर्धा हुनेछ। फाइनल पुगेर उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउने छन्। विजेता टोली भारत र पाकिस्तान रहेको समूहमा पर्ने छन्।

समूह 'ए' मा आयोजक नेपालले ४ खेलमा ३ जित र एक खेलमा अंक बाँड्दै ७ अंक जोड्यो। ओमान समान खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो। ओमान नेपालसँग ८४ रनले पराजित भएको थियो।

समूह 'बी'मा युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो। कुवेत समान खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो। समान ६ अंक भए पनि युएई नेटरनरेटमा अघि रहँदै शीर्षस्थानमा रह्यो।

यूएईको नेटरननेट २.४६८ रहेको छ। कुवेतको ०.२२३ नेटरननेट रहेको छ।