कतारविरुद्ध नेपालको उत्कृष्ट बलिङ, समूह विजेता बन्दै सेमिफाइनलमा

एसीसी प्रिमियर कपमा नेपालले बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कतारलाई पराजित गरेको छ। नेपाल अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने छ।

तस्वीर : क्यान

काठमाडौँ– शुरूआती ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपालले बलिङमा उत्कृष्ट पुनरागमन गर्दै एसीसी प्रिमियर कपमा कतारलाई पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा नेपालले समूह ‘ए’को अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गरेको हो। यो जितसँगै नेपाल अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने छ।

नेपालले ४ खेलमा ३ जित र १ मा अंक बाँड्दै ७ अंक जोडेको छ। नेपाल समूह ‘ए’ मा अपराजित रहने एक मात्रै टोली हो। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने ओडीआई मान्यता प्राप्त टोली ओमानलाई ८४ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा मजबुत बनाएको थियो। यो खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ओडीआई मान्यता प्रदान गरेको थियो।

तेस्रो खेलमा भने वर्षा बाधक बन्दा नेपालले साउदी अरबसँग अंक बाँड्नु पर्‍यो। यद्यपि, नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भयो। यस समूहबाट ओमान समूह उपविजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ। ओमानले ४ खेलमा ३ जित र १ हारको नतिजा निकालेको थियो। ओमानको ६ अंक रहेको छ।

नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको कतार नेपाली बलरसामू कमजोर देखियो। कतारले २५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्रै बनाउन सक्यो। कतारका ओपनर कमरान खान तेस्रो ओभरको दोस्रो बलमै दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए। उनले १० बलमा १ छक्कासहित ८ रन बनाए। उनी आउट भएपछि क्रिजमा आएका इमाल लियाङ्गे ६, इक्रममुल्लाह खान ५ र कप्तान मोहम्मद रिजलान ४ रनमा पेभिलियन फर्किए। यता, मोहम्मद तानवीर भने डकआउट भए।

खुर्रम शहजाद १५, अमिर फारूक १४ रनमा आउट भए।

नेपालको कसिलो बलिङ
ब्याटिङमा ४१ रनको अविजित इनिङ्स खेलेका लेग स्पिनर सन्दीप लामिछानेले बलिङमा पनि उत्तिकै योगदान दिए। ९.१ ओभर बलिङ गरेका उनले ३ मेडनसहित १४ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए।

यता, तीव्र गतिका बलर सोमपाल कामीले ७ ओभरमा १ मेडनसहित २४ रन खर्चिएर ३ विकेट लिए। ५ ओभरमा २७ रन खर्चिएका स्पिनर ललितनारायण राजवंशीको नाममा २ विकेट रह्यो।

नेपालले ५ बलरको प्रयोग गरेको थियो। तीव्र गतिका बलर गुलशन झा र स्पिनर दीपेन्द्रसिंह ऐरीमात्रै विकेटविहीन रहे। गुलशनले ३ ओभरमा १७ रन खर्चिए। यता, १ ओभर बलिङ गरेका दीपेन्द्रले ७ रन खर्चिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका थिए। पहिला ब्याटिङमा उत्रिएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनायो।

जारी प्रतियोगितामा पहिला ब्याटिङमा उत्रिएर नेपालले बनाएको यो नै सर्वाधिक कम स्कोर हो। यसअघि ओमानविरुद्ध पहिला ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाउँदै ३१० रन बनाएको थियो।

नेपालका तल्लोक्रमका सन्दीप लामिछानेले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए। उनले ५८ बलमा ६ चौका प्रहार गरे। उनले अन्तिम विकेटको लागि ललितनारायण राजवंशीसँग ४६ रनको साझेदारी गरे।

ललित १७ बलमा १ रन बनाएर एलबीडब्ल्यू आउट भए। यता, कप्तान रोहितकुमार पौडेलले २७, आशिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले ११/११ रन बनाए।

नेपालले पावर प्लेमा २ विकेट गुमाएर ४६ रन मात्रै बनाएको थियो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमै २ रनमा आउट भए। त्यसपछि क्रिजमा आएका भीम सार्की पनि क्रिजमा टिक्न सकेनन्। उनी चौथो ओभरको तेस्रो बलमा क्याच आउट हुँदै ६ रनमा पेभिलियन फर्किए।

३.३ ओभरमा २-९ को स्थितिमा रहेको नेपालको इनिङ्स आसिफ शेख र कप्तान रोहितकुमार पौडेलले उकास्ने प्रयास गरेका थिए। तर, ४८ रनको साझेदारी गरेपछि आसिफ १३औँ ओभरको चौथौँ बलमा १९ रनमा क्याच आउट भए। उनले २७ बलमा २ चौका प्रहार गरे।

१६औँ ओभरको तेस्रो बलमा रोहित पनि आउट भए। उनले ३६ बलमा २ चौकासहित २७ रन बनाए। कुशल मल्ल ३, सोमपाल कामी ११ र आरिफ शेख ११ रनको व्यक्तिगत स्कोरमा पेभिलियन फर्किए।

२६औँ ओभरको चौथो बलमा आरिफले जीवनदान पाएका थिए। कट गर्दै प्वाइन्टतिर हावामा पठाएको बललाई ओमानका कमरान खानले क्याच ड्रप गरे। तर, अर्को २७औँ ओभरको दोस्रो बलमा उनी खुर्रराम शाहजादबाट क्याच आउट भए।

त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी १२, गुलशन झा ७ रनमा आउट भए। नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले टोलीमा एक परिवर्तन गरेका थिए। उनले तीव्र गतिका बलर करण केसीको स्थानमा अलराउन्ड गुलशनलाई मौका दिएका थिए।

नेपालले दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा करणले १५ बलमा २ चौका र १ छक्कासहित अविजित रहँदै २९ रन बनाएका थिए। यस्तै, बलिङ तर्फ भने उनले ८.३ ओभरमा ६२ रन खर्चिएर ३ विकेट लिएका थिए।

कतारका अमिर फारूकले सर्वाधिक ४ विकेट लिए। उनले ९.३ ओभर बलिङ गर्दै ४२ रन खर्चिए। यता, ओवैस अहमदले ३ विकेट लिए। गायन मुनवीरा र इक्रममुल्लाह खानको नाममा १/१ विकेट रह्यो।

कतार जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ। कतार पहिलो खेलमा ओमानसँग ४० रनले पराजित भएको थियो। दोस्रो खेलमा साउदीसँग ७ र तेस्रो खेलमा मलेसियासँग ३ विकेटले पराजित हुँदै कतार एक खेल अगावै प्रतियोगिताबाट बाहिरिइसकेको थियो।