टस हारेर ब्याटिङ गर्दै नेपाल, कतारलाई शुरूआती सफलता

नेपालले दोस्रो ओभरको दोस्रो बलमा नै विकेट गुमाएको छ। कुशल भुर्तेल ८ बलमा २ रन बनाएर बाहिरिए। अहिले आसिफ सेख र भीम सार्की ब्याटिङमा छन्।

काठमाडौँ- आयोजक नेपालले एसीसी प्रिमियर कपअन्तर्गत समूह 'ए' को आफ्नो अन्तिम खेलमा पहिला ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारका कप्तान मोहम्मद रिजवानले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्। 

नेपालले दोस्रो ओभरको दोस्रो बलमा नै विकेट गुमाएको छ। कुशल भुर्तेल ८ बलमा २ रन बनाएर बाहिरिए। अहिले आसिफ सेख र भीम सार्की ब्याटिङमा छन्।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले टोलीमा एक परिवर्तन गरेका छन्। उनले तीव्र गतिका  बलर करण केसीको स्थानमा अलराउन्ड गुलशन झालाई मौका दिएका छन्।

नेपालले दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा करणले १५ बलमा २ चौका र १ छक्कासहित अविजित रहँदै २९ रन बनाएका थिए। यस्तै, बलिङ तर्फ भने उनले ८.३ ओभरमा ६२ रन खर्चिएर ३ विकेट लिएका थिए। देसाईले टोलीमा अन्य भने परिवर्तन गरेका छैनन्। नेपाल एक खेल अगावै सेमिफाइनल पुगिसकेको छ।

बिहीबारको खेलमा कतारलाई पराजित गरे नेपाल अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने छ। नेपालले ३ खेलमा २ जित र १ मा अंक बाँड्दै ५ अंक जोडेको छ। नेपाल अंक तालिकामा दोस्रो स्थानमा रहेको छ। नेपालले पहिलो खेलमा मलेसयालाई ६ विकेछले पराजित गरेको थियो। दोस्रो खेलमा भने ओमानलाई ८४ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा मजबुद बनाएको थियो।

तेस्रो खेलमा भने वर्षा बाधक बन्दा नेपालले साउदी अरबसँग अंक बाड्नु परेको थियो। यता, कतार भने तीनै खेलमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।

कतार पहिलो खेलमा ओमानसँग ४० रनले पराजित भएको थियो। दोस्रो खेलमा साउदीसँग ७ र तेस्रो खेलमा मलेसियासँग ३ विकेटले पराजित हुँदै कतार एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो। यस समूहबाट ओमान सेमिफाइनलमा पुगिसकेको छ। ओमानले ४ खेलमा ३ जित र १ हारको नतिजा निकालेको थियो। ओमानको ६ अंक रहेको छ। ओमान अंक तालिकामा शीर्ष स्थानमा छ।

नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी