गाःबहालमा रातो मच्छिन्द्रनाथको रथ हेर्नेको घुइँचो

रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ। हरेक दिन रथ तानेर पुर्‍याइएका ठाउँमा जात्रा मनाउने चलन छ।

काठमाडौँ– रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथ तानेर गाःबहाल पुर्‍याइएको छ। रथलाई पुलचोकबाट तानेर मंगलबार गाःबहाल पुर्‍याइएको हो।

आज गाःबहालमा स्थानीय जात्रा पनि मनाइँदै छ। रथ यात्रा सोमबार शुरू भएको थियो। गाःबहालमा बिहानैदेखि रातो मत्स्येन्द्रनाथको दर्शन र पूजा गर्ने दर्शनार्थीको भिड लागेको छ। रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ। पुलचोक, गाःबहाल, सुनधारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ।

मत्स्येन्द्रनाथको जात्रासँगै नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन्। जावलाखेलमा रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ। हरेक दिन रथ तानेर पुर्‍याइएका ठाउँमा जात्रा मनाइन्छ। रातो मत्स्येन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ। यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो।

मत्स्येन्द्रनाथलाई अवलोकेत्श्वर, बुंग:द्यलगायत नामले पनि पुकारिन्छ। पुलचोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिनदेखि रथयात्रा गर्ने चलन छ।