तनहुँ–१ को नयाँ रुझान : जसले मतदाताको मनस्थिति बदल्यो

मंसिर ४ को निर्वाचनका विजेता कांग्रेस र उपविजेता एमालेको ‘धरातल’ पाँच महिनामै गर्ल्यामगुर्लुम पार्ने अवस्था तनहुँ–१ मा के कारणले निम्तियो?

पोखरा– प्रतिनिधिसभा सदस्यका लागि आइतबार तनहुँ–१ मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले झन्डै दोब्बर मतान्तरसहित अग्रता लिइरहेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनाललाई फराकिलो अन्तरले पछाडि पारेका छन्।

आइतबार भएको मतदानमा यहाँ ६३ हजार ७५७ मत खसेको थियो। अहिलेसम्म ४२ वडामध्ये २० वडाको मतगणना सकिँदा कांग्रेसका भट्टराई दोस्रो र एमालेका खनाल तेस्रो स्थानमा छन्।

मंसिर ४ को निर्वाचनमा यहाँबाट कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनको समर्थन थियो। निकटतम प्रतिद्वन्द्वी बनेका नेकपा एमालेका एकबहादुर रानाले उनलाई कडा टक्कर दिएका थिए।

तर, पाँच महिनामै यहाँको चुनावी गणित उलटफेर हुने देखिएको छ। त्यसबेलाको विजेता कांग्रेस र उपविजेता एमाले दुवैको अवस्था आश्चर्यजनक रूपमा खस्किएको छ। तनहुँ–१ मा अहिलेसम्म आधाभन्दा धेरै मतगणना भइसकेको छ। शुरुदेखि अहिलेसम्मको मतान्तरको ‘ट्रेन्ड’ हेर्दा रास्वपाका वाग्ले जिततर्फ उन्मुख भइसकेको एमाले र कांग्रेसकै नेताहरू बताउँछन्।

के कुराले फेरियो रुझान?
तनहुँको पछिल्लो चुनावी राजनीतिलाई नजिकबाट नियालेका नागरिक समाज कास्कीका अगुवा विष्णुहरि अधिकारी मतपरिणाम हेर्दा पुराना दललाई जनताले सबक सिकाइरहेको भान भएको बताउँछन्। निराशाबीच गुज्रिरहेका जनताले विकल्प खोजी गरेको देखिएको उल्लेख गर्दै उनले भने, “पार्टीहरूले राम्रा र सम्भावनायुक्त उम्मेदवार दिएनन् भने जनताले आफै विकल्प दिन्छन् भन्ने देखियो। पार्टीहरूमा युवा, पढेलेखेका, आसलाग्दा र राम्रा मान्छे छन् तर, तिनलाई अवसर नदिँदा जनताले त्यसको विकल्प खोजे। पुरानो दलको नेतृत्वलाई सबक सिकाए।”

अर्का नागरिक अगुवा रामबहादुर पौडेलको ठम्याइ छ– पुराना दलले चुनाव जिते पनि जनताको लागि केही नगरेको निर्क्योल मतपरिणामबाट प्रकट भएको छ। “जनता वाक्क दिक्क भएका छन्, पुराना पार्टीसँग न नयाँ कार्यक्रम छन्, न परिवर्तनको आभास दिन सकेका छन्। उनीहरू सामन्ती संस्कार बोकेर हिँडिरहँदा मानिसहरू आजित भए,” उनले भने, “देश दलदलमा फस्दै गयो। पुराना दल र नेताहरू दलदलमा फसेपछि नयाँ दललाई भोट दिनुपर्ने बाध्यता आइलाग्यो।”

उनले पुराना दलहरूले धोकाको पराकाष्ठा नाघेकाले जनताले उन्मुक्ति खोजेको रूपमा यो मतपरिणामलाई लिनुपर्ने बताए। 

नसोचेको परिणाम
तनहुँका कांग्रेस नेताहरूका अनुसार यो नसोचेको परिणाम हो। नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल भन्छन्, “ठ्याक्कै यही भनेर भन्न त सकिन्न, समीक्षा हुनै बाँकी छ। तर अहिलेको परिवेश, माहौल सबै रास्वपाको पक्षमा देखियो,” उनले भने, “हाम्रो मत छँदैछ, माओवादीको थप मत आउँदा जितिहाल्छौँ भन्ने सोचेका थियौँ। तर, अर्कै भयो।”

नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले पनि यसलाई अप्रत्याशित परिणाम भएको बताए। “यो अप्रत्याशित परिणाम हो, अहिले हामी यसभन्दा बढी भन्न सक्दैनौँ,” उनले भने, “यसलाई राम्रैसँग मूल्यांकन गर्नुपर्ने हुन्छ। हामीले अपेक्षा गरेअनुसारको परिणाम आएन।”

यस्तो परिणाम आउला भनेर सोच्दा पनि नसोचिएको उनले बताए। 

‘योग्य व्यक्तिको खोजी’
तनहुँमा एमालेले उठाएका उम्मेदवार खनाल तनहुँको राजनीतिमा नजोडिएका व्यक्ति थिए। उनी खासमा राजनीतिमा पनि नजोडिएका व्यक्ति हुन्। प्रहरी सेवाबाट निवृत्त खनाल मंसिर ४ को निर्वाचनअघि मात्र एमालेमा जोडिएका र काठमाडौँ–६ मा उम्मेदवार बनेर पराजित भएका थिए।

तर, कांग्रेस उम्मेदवार भट्टराई तनहुँको राजनीतिमा भिजेका व्यक्ति मानिन्छन्। कांग्रेसभित्र उनी जत्तिको योग्य उम्मेदवार नरहेको चर्चा हुने गर्थ्यो। यी सबैका अगाडि रास्वपाका उम्मेदवार वाग्ले त राजनीतिमा झन् नयाँ थिए। विकास अर्थशास्त्री वाग्ले कांग्रेससँग नजिक रहे पनि सक्रिय राजनीतिमा थिएनन्। उपनिर्वाचनको ठिक अगाडि उनी कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका र तनहुँ–१ बाट उम्मेदवार बनेका थिए।

राजनीतिक विश्लेषक कपिलमणि दाहाल तनहुँ–१ ले योग्य व्यक्ति खोजेको रूपमा मतपरिणामलाई लिनुपर्ने बताउँछन्। गणना गर्न बाँकी मत धेरै भए पनि अहिलेसम्मको परिणामअनुसार रास्वपाका वाग्ले निर्वाचित हुने देखिएको उल्लेख गर्दै उनले भने, “अहिले मुख्य दल भन्दा पनि मुख्य दुई क्यारेक्टर हेर्नुपर्ने देखियो। दलप्रति भन्दा पनि सर्वेन्द्रजी (एमाले उम्मेदवार) त पोलिटिकल मान्छे नै होइन। तर, गोविन्द भट्टराई त पोलिटिकल मान्छे नै हो। तर पार्टी भन्दा पनि राम्रो व्यक्ति छान्नुपर्छ भन्ने रुझान देखियो।”