संसदीय दलको बैठकमा देउवाले भने– उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन

कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको बताएका छन्।

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्। 

सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औँल्याएको पार्टीका सांसद रामहरि खतिवडाले बताए।

“पार्टी सभापतिज्यूले अहिले देशको विषम परिस्थिति छ। यसलाई अब कसरी लैजाने ? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो,” उनले भने।

उनका अनुसार पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदसँग चासो राखेका थिए। अहिले देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्नेतर्फ सांसदहरूलाई सचेत गराएका थिए।

बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बीपी कोइरालापछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए। सांसदहरूले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने, पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताए।

सांसद खतिवडाले सांसदहरूले आगामी बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा थारैमा एउटा नागरिकले देख्ने योजना, स्थानीय तहको कार्यालयमा जाने बाटोहरू कालोपत्र गर्ने र व्यवस्थित शहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताए। 

मंगलबार पुनः बैठक बसेर थप विषयमा छलफल गर्ने उनको भनाइ छ। “आज धेरै मान्य सदस्यहरूले बोल्नुभएको छ र सबैले बोल्ने क्रम नसकिएकाले भोलि १० बजे पनि हामी बैठक बसेर छलफल हुनेछ,” उनले भने।