सबै जातजातिले मनाउने पर्व राष्ट्रिय पर्व हुन् : प्रधानमन्त्री

इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने प्रधानमन्त्री दाहालको विश्वास छ। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै जातजातिले मनाउने पर्वहरू राष्ट्रिय पर्व रहेको बताएका छन्।

शनिबार इस्लाम धर्मावलम्बीको पर्व इद (इदुलफित्र)का अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्त्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको बताए।

“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छन्,” उनले सन्देशमा भनेका छन्, “मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका छन्।”

इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने उनको विश्वास छ। वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ संकल्पित रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

उनले नेपाली जनताको लामो त्याग र बलिदानबाट निर्मित नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरण सहित सबै जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई समान संवैधानिक अधिकार प्रदान गरेको उल्लेख गरेका छन्।