नेपाली कांग्रेस र गठबन्धन दल भनेका निश्चित विचार, सिद्धान्त, मूल्य, मान्यता र इतिहास बोकेका विशाल नदीजस्ता पार्टी भएको भन्दै प्रधानमन्त्री दाहालले खहरेसँग तर्सनुपर्ने आवश्यकता नरहेको बताए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लामा शुरू भएका ठूला विकास आयोजना सम्पन्न भएसँगै विकासमा क्रान्ति आउने बताएका छन्। लोकतान्त्रिक–वाम गठबन्धनले बिहीबार कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले काठमाडौँ–चितवन द्रुतमार्ग, शक्तिखोर औद्योगिक क्षेत्र, रंगशाला, विमानस्थल विस्तार, नारायणी तटबन्धजस्ता ठूला आयोजना सम्पन्न भएपछि चितवनको विकासमा क्रान्ति आउने बताएका हुन्।
उनले भने, “शक्तिखोरको औद्योगिक क्षेत्र मैले नै प्रस्तावित गरेको हुँ, म अहिले प्रधानमन्त्री भएको बेलामा यसलाई सम्पन्न गर्ने काममा पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।” औद्योगिक क्षेत्रको काम छिट्टै अघि बढ्ने बताउँदै उनले भने, “चितवन क्षेत्र नं २ मा जीतनारायण श्रेष्ठ निर्वाचित भएर गएपछि यसलाई अघि बढाइने कुरामा उहाँको भूमिकालाई पनि बढाइने छ।”
अघिल्लो बजेट भाषणमा काठमाडौँबाट चितवन एकदेखि डेढ घण्टाभित्र आउने गरी द्रुतमार्ग निर्माणका लागि प्रक्रिया अघि बढेको भन्दै प्रधानमन्त्री दाहालले भने, “त्यसलाई सम्पन्न गर्ने कुराले चितवनको सम्पूर्ण विकासमा सम्पूर्ण क्रान्ति आउने छ भन्ने मेरो विश्वास छ।”
अघिल्लो निर्वाचनमा आफू चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएपछि त्यस क्षेत्रमा विकास निर्माणमा के–के सहयोग गरेँ भन्ने कुरा सबैले देखेको भन्दै उनले अगाडि थपे, “भरतपुर महानगरपालिका अहिले कहाँबाट कहाँ पुग्यो ? तपाईंहरूले देख्नुभएको छ।”
यहाँका ठूला विकास निर्माणमा आफ्नो ध्यान पुगेको भन्दै उनले भने, “म अर्को जिल्लाको जनप्रतिनिधि भए पनि प्रधानमन्त्रीको हिसाबले विमानस्थल विस्तारको कुरा होस्, गौतमबुद्ध क्रिकेट रंगशालाको कुरा होस्, चाहे शक्तिखोर औद्योगिक क्षेत्रलाई अघि बढाउने कुरा होस्, चाहे नारायणी र राप्तीमा तटबन्ध निर्माण अगाडि बढाउने कुरा सबैमा मेरो ध्यान पुगेको छ।”
सुकुमबासी समस्या समाधान हुने प्रक्रिया शुरू भइसकेको भन्दै उनले भने, “यसलाई गति दिइन्छ र पूर्णतामा पुर्याइन्छ।” चितवनमा कृषिमा आधुनिकीकरण गर्न पर्याप्त आधार रहेको भन्दै प्रधानमन्त्री दाहालले त्यसमा पनि आफ्नो ध्यान गएको बताए।
पछिल्लो समय देखिएका नयाँ दलहरूप्रति इंगित गर्दै उनले भने, “खहरे बढो उर्लेर आउँछ, सुक्छ र केही दिनपछि कमिला हिँड्ने बन्छ।” पुराना राजनीतिक दलहरूलाई संकेत गर्दै र ती दलहरूलाई नारायणी नदीसँग तुलना गर्दै भने, “नारायणी त्यस्तो हुँदैन, आफ्नो गतिमा बगिरहन्छ र महासागरमा पुग्छ।”
नेपाली कांग्रेस र गठबन्धन दल भनेका निश्चित विचार, सिद्धान्त, मूल्य, मान्यता र इतिहास बोकेका विशाल नदीजस्ता पार्टी भएको भन्दै उनले खहरेसँग तर्सनुपर्ने आवश्यकता नरहेको बताए। उनले भने, “हामी आँधी, बतास, हुरीजस्ता थुप्रै सहेर त्यसका विरुद्ध सतिसालझैँ उभिएर इतिहास बनाएका पार्टी हौँ, हामी कुनै आँधी हुरीसँग डराउनुपर्ने आवश्यकता छैन।”
लोकतन्त्र, गणतन्त्र, संविधानका निम्ति एउटा मौलिक पहिचान जिल्ला चितवन भएको भन्दै उनले यो जिल्लाको अलग्गै पहिचान भएको बताए। उनले भने, “हामीले कुनै पनि हालतमा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न दिनु हुँदैन।”
आफू यस जिल्लामा पाँच वर्ष सांसद हुँदा यस क्षेत्रको उम्मेदवार जीतनारायण श्रेष्ठलाई नजिकबाट चिनेको भन्दै उनले उपनिर्वाचन हुने भएपछि पहिलो दिनदेखि नै यस क्षेत्रको उम्मेदवार श्रेष्ठ नै उपयुक्त हुन्छ भन्ने आफ्नो धारणा रहेको बताए। श्रेष्ठको गतिशीलता र आफ्नो कुरा प्रस्टसँग राख्न सक्ने क्षमता रहेको भन्दै यस्ता व्यक्तिले राष्ट्र र समाजका लागि केही गर्न सक्ने बताए।
सभामा ठट्टा गर्दै उनले यही गठबन्धनबाट निर्वाचित भएर अर्को गठबन्धनबाट प्रधानमन्त्री भएपछि आफू र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैलाई रातमा निद्रा नलागेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
