यमनमा रमदानको भिडमा च्यापिएर ७८ जनाको मृत्यु

रमदानको दान वितरण कार्यक्रमको भिडमा च्यापिएर उनीहरूको मृत्यु भएको हो।

यमनको राजधानी सनामा भिडमा च्यापिएर ७८ जनाको मृत्यु भएको छ। सनाको बाब–अल–यमन क्षेत्रस्थित एक विद्यालयमा रमदानको दान वितरण कार्यक्रमको भिडमा च्यापिएर उनीहरूको मृत्यु भएको हो।

च्यापिएर घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीले जनाएका छन्। रमदानका बेला दानका रूपमा प्रत्येक व्यक्तिलाई नौ डलर वितरण गर्ने कार्यक्रममा मानिसहरू भेला भएका थिए।

घटनापछि कार्यक्रमका सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको यमनको आन्तरिक मन्त्रालयलाई उद्‌धृत गर्दै  बीबीसीले जनाएको छ। स्थानीय अधिकारीसँग समन्वय नै नगरी सञ्चालन गरिएको वितरण कार्यक्रममा दुर्घटना भएको मन्त्रालयका प्रवक्ताको भनाइ छ।

मुस्लिम समुदायको पवित्र महिना रमदानको अन्तिम दिन सो घटना घटेको बीबीसीले जनाएको छ।