राष्ट्रियसभा अध्यक्षसहितको ८ सदस्यीय टोली रुस प्रस्थान

रुस भ्रमणका क्रममा त्यहाँका दुवै सदनका प्रमुख, सरकारी उच्च अधिकारीसहित नौ जना विशिष्ट व्यक्तित्वसँग भेट हुने अध्यक्ष तिमिल्सिनाले बताएका छन्।

काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेका छन्।

अध्यक्ष तिमिल्सिनासहित राष्ट्रियसभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको आठ सदस्यीय टोली रुस प्रस्थान गरेको हो। भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट र दुई देशका सांसद्‌बीच सम्झौता हुने अध्यक्ष तिमिल्सिनाले बताए।

“दुई देशको संसदीय गतिविधिबारे जानकारी गराउने, भ्रमणको आदान–प्रदान गर्ने, संसद्‌लाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरू हुनेछ,” उनले भने, “दुवै सदनका प्रमुख, त्यहाँका सरकारी उच्च अधिकारी र व्यावसायिक व्यक्तित्व र प्रदेश प्रमुखसहित नौ जना विशिष्ट व्यक्तित्वसँग हाम्रो भेट हुनेछ।”

राष्ट्रियसभा सदस्य गौतमले दुई देशका सांसद्‌बीच सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा भ्रमण हुन लागेको बताए। टोली वैशाख १२ गते नेपाल फर्कने कार्यतालिका छ।