मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

मलेसियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए। नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिए।

काठमाडौँ– एसीसी प्रिमियर लिगअन्तर्गत समूह 'ए'को पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३५ रन बनाएको हो।

मलेसियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए। उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

दोस्रो विकेटका लागि उनले विरन्दिप सिंहसँग ११६ रनको विशाल साझेदारी गरे। उनी ३३औँ ओभरको दोस्रो बलमा सन्दीप लामिछानेको बलमा विकेटकिपर आशिफ शेखबाट क्याच आउट भए।

३८औँ ओभरको पहिलो बलमा विरन्दिप पनि ललितनरायण राजवंशीले फ्याँकेको बलमा लामो सर्ट खेल्ने धुनमा सोमपाल कामीबाट क्याच आउट भए।

आउट हुनुअघि उनले ९४ बलमा २ चौकासहित ४६ रन बनाए। ओपनर मोहम्मद अमिर १७, विजय उन्नी १२, सायद अजिज १३ र खिजार ह्यात २२ रनमा आउट भए।

४६.३ ओभरमा २०९–७ को स्थितिमा आएका स्याजरूल इद्रुसले १३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २१ रन बनाए।

९ ओभरमा बलिङ गरेका तीव्र गतिका बलर सोमपाल कामीले ४० रन दिँदै ३ विकेट लिए। उनले ४६औँ ओभरमा लगातार दुई विकेट लिएका थिए। सोमपालले ४६औँ ओभरको तेस्रो बलमा खिजारलाई भीम सार्कीबाट क्याच आउट गराए। लगत्तै उनले फिट्री शामलाई बोल्ड गरे। तर, पाँचौ बलमा स्याजरूल इद्रुसले चौका प्रहार गर्दा सोमपाल ह्याट्रिक विकेट लिन चुकेका थिए। त्यसअघि उनले ४१औँ ओभरको चौथो बलमा अजिजको विकेट लिएका थिए।

यता, लेग स्पिनर सन्दीप लामिछानेले पनि ३ विकेट लिए। उनले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चिए। स्पिनर ललितले १० ओभरमा ३४ रन खर्चिएर २ विकेट लिए। अर्का तीव्र गतिका बलर गुलशन झाको नाममा १ विकेट रह्यो।