प्रशिक्षक मोन्टी देसाईले समर्थकको साथ खेलाडीहरूका लागि ‘सुपर मोटिभेसन’ मान्छन्। यसपटक घरेलु मैदानले नेपाली टोलीलाई फाइदा पुग्ने प्रशिक्षक देसाई बताउँछन्।
काठमाडौँ– नेपाली टोलीलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निकै फाप्छ। यही मैदानमा विश्व क्रिकेट लिग डिभिजन–५ को फाइनलमा अमेरिकालाई पराजित गरेर नेपालले पहिलोपल्ट आईसीसीको प्रतियोगिता जित्यो। गत महिना आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गतका आठ खेलमध्ये सबैमा जित हात पारेर एकदिवसीय मान्यता जोगायो।
नेपाली टोली अहिले यही मैदानमा एशिया कपको भर्याङको रूपमा रहेको एसीसी प्रिमियर कप खेल्दै छ। १० टोलीको सहभागिता रहने प्रतियोगिताको उपाधि जित्ने टोली आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एशिया कपमा छनोट हुने छ। उक्त प्रतियोगितामा छनोट हुने एक टोलीले टेस्ट राष्ट्र भारत र पाकिस्तानको सामना गर्ने अवसर प्राप्त गर्ने छ।
एशिया कपमा समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कपको विजेता हुनेछन्। समूह ‘बी’मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्। त्यसैले नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल यसलाई ठूलो अवसर मान्छन्।
“हामीले अहिलेसम्म भारत, पाकिस्तान, श्रीलंकाजस्ता ठूलो टेस्ट नेसनसँग खेलेका छैनौँ। तर, हामीसँग एकदमै राम्रो अवसर छ। त्यसका लागि एशिया कपमा छनोट हुने मुख्य प्रतियोगिता यो हो। घरेलु मैदानमा एड्भान्टेज पनि हुन्छ,” उनी भन्छन्।

नेपालले एशिया कपको बाटो १५ वर्षअगाडि नै खनिसकेको थियो। मलेसियाको राजधानी क्वालाम्बपुरमा भएको छनोट प्रतियोगिता (एसीसी एलिट ट्रफी) मा हङकङ, सिंगापुर, कुवेत र कतारलाई पराजित गर्दै नेपाल समूह ‘बी’ को विजेता भयो। तर, सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित हुन पुग्यो। अन्ततः यूएई विजेता हुँदै एशिया कपमा पुग्यो।
त्यसको दुई वर्षपछि नेपाल सोही प्रतियोगिताको फाइनलमा अफगानिस्तानसँग ९५ रनले पराजित हुँदै उपविजेतामा सीमित भयो। दुर्भाग्य, त्यही वर्ष एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले सन् २००४ देखि लागू गर्दै आएको पुरानो प्रावधान हटाएर एशिया कपमा चार टोलीको मात्रै सहभागिता हुने नियम लागू गर्यो।
सन् २०१२ मा भने नेपालले उपाधि यूएईसँग संयुक्त रूपले बाँड्यो। २४२ रनको लक्ष्य पाएको नेपाल लगभग जितनजिक पुगिसकेको थियो। यूएईका शदीप नदिजा सिल्भाको अन्तिम ओभरको पाँचौँ बलमा शक्ति गौचनले २ रन लिँदै २४१ रन भेटाइसकेका थिए। तर, अन्तिम बलमा एक रन खाँचो रहँदा अहमद रजाले रन आउट बनाउँदै उपाधि बाँड्न बाध्य बनाए। त्यस वर्ष पनि एसीसीले अघिल्ला चार टोलीलाई नै निरन्तरता दिने निर्णय गर्यो। नेपाल पुनः एकपटक एशिया कप खेल्नबाट वञ्चित भयो। त्यसयता नेपालको लक्ष्य एशिया कप छनोट हुँदै आएको छ।
यसपटक नेपाल रहेको समूह ‘ए’मा मलेसिया, साउदी अरब, कतार र ओमान रहेका छन्। समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन्। हरेक समूहबाट शीर्ष स्थानमा पुग्ने दुई टोली सेमिफाइनल खेल्ने छन्।

सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ। फाइनलको विजेता टोली एशिया कपमा छनोट हुने एसीसीले जनाएको छ। यस्तै, शीर्ष तीनमा रहने टोली एशिया इमर्जिङ कपका लागि छनोट हुनेछ। उक्त प्रतियोगिता जुलाईमा हुने छ।
कप्तान रोहित पछिल्लो समय नेपाली टोली उच्च लयमा रहेको स्मरण गराउँदै त्यसलाई निरन्तरता राखेर एशिया कपमा पुग्ने आफ्नो लक्ष्य रहेको सुनाउँछन्। “हामीले पछिल्लो समय एक टिमको रूपमा जुन हिसाबले क्रिकेट खेलिरहेका छौँ, त्यसलाई यो प्रतियोगितामा पनि कायम राख्नुपर्छ," रोहितले भने, "मलाई लाग्छ त्यो स्तरलाई कायम राखेर खेल्यौँ भने हामी एशिया कप पुग्न सक्छौँ।”
नेपाल यसपटक भारतीय नागरिक मोन्टी देसाईको प्रशिक्षणमा मैदान उत्रिने छ। लिग–२ का अन्तिम तीन सिरिजअघि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका देसाईले १२ खेलमध्ये ११ खेलमा नेपाललाई जित दिलाएका थिए। उनकै प्रशिक्षणमा नेपालले अभ्यास खेलमा पनि लिग–२ को उपविजेतासमेत रहेको ओमानलाई हराएर अपराजित यात्रालाई जारी राखेको छ। त्यसैले पनि टोलीको आत्मविश्वास यसपटक उच्च रहेको रोहित बताउँछन्।
“प्रतियोगिताका लागि १५ दिन अगाडिदेखि नै तयारी शुरू गरेका थियौँ। मुख्यतः हामीले व्यक्तिगत रूपमा आफ्नो कमजोरी सुधार्ने ध्यान दिएका छौँ। यसपटक एशिया कप खेल्छौँ,” उनी भन्छन्।
घरेलु मैदानमा ‘एड्भान्टेज’ उठाउँछौँ : प्रशिक्षक देसाई
घरेलु मैदानमा भएका लिग–२ का दुई अन्तिम सिरिजका खेलहरूमा नेपाल टोलीलाई समर्थन गर्न दर्शकहरूको ओइरो लागेको थियो। अझ यूएईविरुद्धको अन्तिम खेलमा त टिकट काटेका दर्शकसमेत मैदान पस्न पाएनन्। बिहान ६ बजेदेखि नै जम्मा भएका दर्शकहरूले खेलाडी मैदान नउत्रिँदा नै चर्को स्वरमा नेपालको समर्थन गरिरहेका थिए। उक्त खेल वर्षले प्रभावित भएपछि नेपाललाई डीएल मेथडको आधारमा ९ रनले विजयी गराइएको थियो।

देसाईले समर्थकको साथ खेलाडीहरूका लागि ‘सुपर मोटिभेसन’ मान्छन्। आफैँलाई पनि एक समर्थक रूपमा लिने उनले यसपटक घरेलु मैदानले नेपाली टोलीलाई फाइदा पुग्ने बताए। “सबैभन्दा राम्रो कुरा हामी घरमै खेलिरहेका छौँ। वातावरणसँग राम्रो घुलमिल छ। हाम्रा लागि समर्थकहरू छन्,” उनी भन्छन्। तर, उनले सहभागिता जनाउने ९ वटै टोलीसँग प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा राखेका छन्। यद्यपि, आफूसँग अनुभवी खेलाडी रहेको बताउँदै उनी नेपालले जित निकाल्नेमा विश्वस्त छन्।
“प्रतियोगितामा आएका १० वटै टिम एशिया कप खेल्ने लक्ष्यसाथ आएका छन्। त्यसैले केही प्रतिस्पर्धात्मक हुन्छ भन्ने लागेको छ। तर, मेरो टिमबाट मलाई धेरै आशा छ,” उनी भन्छन्।
नेपालले पहिलो खेल मंगलबार मलेसियासँग खेल्दै प्रतियोगिताको शुरूआत गर्ने छ। उक्त खेल कीर्तिपुरमा हुने छ। दोस्रो खेल वैशाख ८ गते ओमानसँग कीर्तिपुरमै खेल्ने छ। ११ गते साउदीसँग नेपालले तेस्रो खेल खेल्ने छ। उक्त खेल मूलपानीमा हुने छ। नेपालले समूह चरणको अन्तिम खेल कतारसँग खेल्ने छ। उक्त खेल १४ गते कीर्तिपुरमा हुने छ।
कूल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते कीर्तिपुरमा हुनेछ।
तस्वीरहरू क्यान
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
